अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा परेका तत्कालिन राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैर कानुनी रुपमा सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले शर्मामाथि ४ करोड २९ लाख ५४ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिए । अनुसन्धानको क्रममा शर्माको ७ करोड ९३ लाख २७ हजार रुपैयाँको सम्पत्ति आर्जन गरेको देखिएको अख्तियार स्रोतले जनाएको छ । त्यसमा ३ करोड ६३ लाख ७२ हजार ९ सय रुपैयाँमात्र खर्च भएको देखिए पनि अन्य ४ करोड २९ लाख ५४ हजार रकम भ्रष्टाचार गरेर कमाएको ठहर गर्दै अकुत सम्पत्तिमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आइतबार पत्र तयार गर्न नसकेकाले सोमबार मुद्दा दायर गरेको हो । मुद्दामा शर्मा सहित परिवारका केही सदस्यलाई प्रतिवादी बनाईएको छ । शर्माले आम्दानीको मुख्य स्रोत आफूले लेखेका पुस्तकलाई बनाएका छन् । शर्माले लेखेका लोकसेवाको तयारी कक्षाका पुस्तकबाट ठूलो आम्दानीको हिस्सा देखाएका छन् । लोकसेवाको पुस्तकलाई आम्दानीको मुख्य श्रोत देखाए पनि त्यसलाई अख्तियारले अस्वभाविक पनि भनेको छ । शर्मा अख्तियारको अनुसन्धान टोलीले बोलाउँदा पनि विभिन्न बहाना बनाएर उपस्थित नहुने र आयोगमा आए पनि समय नदिई बयान दिन समेत आनकानी गरेका थिए । यसअघि कर फस्र्योट आयोगको सदस्यको हैसियतमा ३ अर्ब ३४ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेपछि शर्मा निलम्बनमा परेका थिए ।
विशेष अदाललते अनुसन्धानको लागि प्रहरी हिरासतमै राख्न आदेश दिएको भए पनि सर्वोच्चको आदेशपछि रिहा भएका थिए । शर्मा दोस्रो पटक भ्रष्टाचार मुद्दामा तानिएका छन् । अख्तियारले शर्मासहित कर फस्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध कुल १० अर्ब २ करोड रुपैयाँ बिगो दाबीसहित दायर गरेको मुद्दा विशेष अदालतमा अहिले पनि चलिरहेको छ । शर्मा सदस्य सचिव हुँदा कर फस्र्योट आयोगले केही व्यवसायीलाई पोस्ने गरी करिब २१ अर्ब रुपैयाँ कर छुट दिने निर्णय भएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
महालेखापरीक्षकको कार्यालयले पनि कर फस्र्योट आयोगको निर्णयमाथि प्रश्न उठाएपछि यो विषय सार्वजनिक रुपमा बहसमा आएको थियो । प्रारम्भिक अनुसन्धानमा कर फस्र्योट आयोगका करिब तीन दर्जन फाइल अध्ययन गरे पनि अन्य फाइलको विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।