काठमाडौं, माघ १६:- नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी आज शहीद दिवश मनाइँदैछ । नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । एकतन्त्रिय जहाँनिया राणा शासनविरुद्ध संघर्ष गर्ने क्रममा १९९७ सालमा शहादत प्राप्त गरेका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ एवं दशरथ चन्दको सम्झनामा यो दिवश मनाउने गरिन्छ ।
शहीदको सम्झनामा गत १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । शहीद दिवशका अवसरमा आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी निकालिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी अहिले केहीबेरमा शहीद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिले जनाएको छ । यस्तै आजै दिउँसो नेपालका पहिलो शहीद लखन थापासहित जनआन्दोलन तथा पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा विशेष कार्यक्रम हुँदैछ । यसैबीच दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका शीर्ष नेताहरुले शहीद दिवसको शुभकामना सन्देश दिनुभएको छ । यसैबीच मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै शहीद दिवस मनाउन थालिएपनि हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन । मुलुकमा पछिल्लो पटक झै–झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र १० लाख सहयोगका लागि दबाब दिने जस्ता गतिविधीले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ । आवश्यक मापदण्डबिना हचुवाका भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदप्रति अपमान र अन्याय महसुस भएको उनीहरु बताउँछन् ।