रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण अन्तर्गत हालसम्म १६ दशमलव ६९ मिटर पाइप वीरगन्जमा आइपुगेको छ । कुल ३७ किलोमिटर पाइपलाइन विछ्याउनु पर्नेमा हालसम्म १६ किलोमिटर भन्दा बढी पाइप नेपाल आइपुगेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
पहिलो चरणमा तीन हजार तीन सय ४० मिटर, दोस्रो चरणमा ९ हजार आठ सय ५२ मिटर र तेस्रो चरणमा ती हजार पाँच सय एक मिटर पाइप वीरगन्जमा आइपुगेको गोइतले क्यापिटल नेपाललाई जानकारी दिए ।
उनका अनसार हालसम्म १६ किलोमिटर पाइप ल्याउन निगमले ८ करोड ६४ लाख खर्च गरेको छ । अहिले धमाधम पाइपलाइनका काम सुरु भइरहेको छ । पाइपलाइन विछ्याउनका लागि आवश्यक काम अघि बढेको निगमका निमित्त कार्यकारी निर्देशक शुसील भट्टराईले जानकारी दिए ।
उनका अनुसार यसअघि रक्सौल–अमलेखगन्ज पाइपलाइन ४१ किलोमिटर लम्बाई हुने भनिएकोमा करिब साढे तीन किलोमिटर लम्बाइ छोट्याएर ३७.६ किलोमिटरमा ल्याइएको थियो ।
अहिले पाइपलाइन भारतको मोतिहारीबाट रक्सौल—वीरगन्ज—अमलेखगञ्ज हुनेछ । रक्सौलदेखि मोतिहारीसम्म पाइपलाइन बिच्छ्याउने आइओसीले काम गरिरहेको छ । मोतिहारी रक्सौलबाट ३५ किलोमिटर दुरीमा छ ।
पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । नेपालमा वार्षिक करिब साढे १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात हुन्छ । पाइपबाट एकपटकमा ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ । अहिले करिब एक हजार पाँच ट्याङ्करले तेल ढुवानी गर्दै आएका छन् ।
पाइपलाइन निर्माणका लागि २ अर्ब ७५ करोड भारु (४ अर्ब ४० करोड रुपैयाँ) लाग्नेछ । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ र नेपाल सरकारकातर्फबाट १ अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने छ ।
पाइपलाइन वीरगन्ज –पथलैया सडक छेउबाट ल्याइने निगमले जनाएको छ । मुलुकमा पटक—पटक देखिने इन्धन संकटलाई समाधान गर्न पाइपलाइन निर्माण तीब्र गतिमा अघि बढेको भट्टराईले जानकारी दिए ।
पाइपलाइन बनेपछि नेपाललाई वार्षिक करिब २ अर्ब रुपैयाँ फाइदा हुनेछ । पाइपलाइन बनेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) पुगेर ट्यांकरले ढुवानी गर्दा लाग्ने लागतसहित वातावरण प्रदूषणसमेत घट्नेछ । अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दा लाग्ने मासिक १६ करोड ७७ लाख रुपैयाँ बचत हुने निगमका प्रवक्ता गोइतले जानकारी दिए ।