जीतपुर कपिलवस्तु माघ १४,क्रिकेटका चर्चिच नेपाली युवा बलर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रियिमर लिग आइपीएल खेल्ने भएका छन् । स्पीन बलर लामिछानेलाई दिल्ली डेयरडेभिल्सले उनको बेस प्राइस भारतीय रुपैयाँ २० लाखमा खरिद गरेको छ।
अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेर्न लायक युवा खेलाडीको सूचीमा भारतीय मिडियाहरुले राखेका थिए । आइपीएलमा बिक्री हुने उनी पहिलो नेपाली खेलाडी बनेका छन् । स्याङ्जामा जन्मिएका १७ वर्षीय लामिछानेले यस अघि अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लर्कको सिड्नीमा आधारित रहेको क्लब वेस्टर्न सबअर्बस्बाट खेल्ने मौका पाएका थिए । उनले क्लार्कको क्रिकेट एकाडेमीमा प्रशिक्षणसमेत गर्ने अवसर प्राप्त गरेका थिए ।
सन् २०१६ को अप्रिल १६ मा उनले किर्तिपुरमा भएको नामिबयाविरुद्धको खेलमा सिनियर टोलीका लागि डेब्यु गरेका थिए । त्यस यता खेलिएका ९ खेलमा उनले १२ विकेट लिएका छन् । आइपीएलको ११ औँ संस्करणका लागि छनौट भएका लामिछानेको टोलीमा भारतीय खेलाडी गौतम गम्भिर, न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, ड्यानियल क्रिस्टियन लगायत खेलाडीहरु रहेका छन् ।


जनता भ्वाइस 








