काठमाण्डौ माघ १३, प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता शुक्रबारदेखि लागू भएकाले नेपाल सरकारलगायत सबै पक्षबाट आचारसंहिताको पूर्ण पालना हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यही माघ २४ गते हुने राष्ट्रिय सदस्यको निर्वाचन अवधिभर सरुवा, बढुवाका कार्य रोकिन्छन् र दीर्घकालीन प्रभाव पार्ने नयाँ कार्यक्रमको थालनी गर्न रोक लगाइएको बताउनुभयो । ललितपुरको गादोवरीमा आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचन मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्नुहुँदै डा.यादवले यस्तो धारणा राख्नुभएको हो ।
प्रमुख आयुक्त यादवले निर्वाचनमा मत बदर हुने अवस्था नै नआउने गरी राम्रोसँग मतदातालाई मत सङ्केत गर्न सिकाउन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रशिक्षणमा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले स्थानीय तहका एकहजार ५०६ र प्रदेशसभाका ५५० गरी दुई हजार ५६ जना मतदातालाई राम्रोसँग मत सङ्केत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि सफल बनाउने दृढता व्यक्त गर्नुभयो । प्रदेश नम्बर ३ को राष्ट्रिय सभा सदस्यको निर्वाचन ललितपुरमा हुँदैछ । एकदिने प्रशिक्षणमा प्रदेश ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता छ ।
उम्मेदवारलाई चार सवारी साधन :-
आयोगले निर्वाचन आचारसंहिता २०७२ मा (चौथो) संशोधन गरी राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजबाट आचारसंहिता लागू गरेको हो । निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारदेखि सञ्चार माध्यम, राजनीतिक दल, उम्मेदवारसम्मले पालना गर्नुपर्नेछ ।
निर्वाचनमा भाग लिने प्रत्येक उम्मेदवारले निर्वाचन प्रचार–प्रसारका लागि निर्वाचन अधिकृतको अनुमति लिई बढीमा चारवटा चारपाङ्ग्रे हलुका सवारी साधन र बढीमा चारवटा मोटरसाइकल वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्नसक्ने व्यवस्था गरिएको छ । उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चारपटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्नेछन् भने पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७ गुणा ७ इन्चसम्मको आकारमा प्रकाशन गर्न सक्नेछन् ।
सरुवा बढुवामा रोक :-
नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहमा नयाँ पद सिर्जना गर्न, पदपूर्तिका लागि विज्ञापन गर्न, रिक्त पदपूर्ति गर्न, भत्ता वृद्धि गर्न, ग्रेड, अन्य आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्नुहुँदैन तर लोकसेवा आयोग, न्यायसेवा आयोग, शिक्षासेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा पर्नेछैन ।
मन्त्रीले प्रचार गर्न नपाउने :-
नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न आचारसंहिताले बन्देज लगाएको छ । यसैगरी, नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रंोत साधनको परिचालन गर्न रोक लगाइएको छ । आचारसंहिता अनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन तर प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको परिस्थितिमा आयोग वा आयोगले तोकेको पदाधिकारीको अनुमति लिई कार्यक्रम गर्न सकिनेछ ।
उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय तहका भवन, अतिथिगृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन हुँदैन । कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने तर प्रचलित कानुन बमोजिम नियमितरूपमा हुने बढुवा तथा पदस्थापना गर्न सकिनेछ । निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तटस्थ र निष्पक्ष रही गर्नुपर्नेछ ।
gorkhapatra