images
images

भारतले किन रोक्छ नेपाली अदुवा

काठमाण्डौ माघ १०, नेपालबाट अदुवाको भारी लिएर गएका ट्रकलाई भारतले सीमा नाकाबाटै फर्काइदिएको छ । भारतीय भन्सारको निकासी अनुमतिका लागि १० दिनदेखि पर्खिएर बसेका ७० वटाभन्दा बढी ट्रक अन्ततः नेपाल फर्किएका छन् ।
१६ टनसम्म अदुवा बोकेका ७० ट्रकमध्ये कुनै दुई साता र कुनै एक साताअघि मेची भन्सार कार्यालय परिसर निकासी अनुमति पर्खंदै बसेका थिए तर भारतीय भन्सारका कर्मचारीले अकस्मात् ‘माथिको आदेश’ भन्दै नेपाली अदुवा मेची नदी कटाउनै नदिएपछि लोड भएका ट्रक फर्काउन बाध्य भएको अदुवा व्यापारीहरूले बताएका छन् ।

‘पटक–पटक मन्त्रालय स्तरसम्म पहल गर्दा पनि अदुवा निकासी गराउन नसकिएको अदुवा व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, निकासी अनुमति पाइने आशमा १० दिनसम्म पर्खियौँ । धेरै गाडीको अदुवा गाडीमै कुहियो ।
दुई÷तीन वर्षयता नेपाली अदुवा निकासीमा भारतले अवरोध सिर्जना गरिरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताउनुभयो । पहिला पनि नेपालको अदुवा निकासीमा भारतले अल्झन दिने गरेको जानकारी दिँदै पौडेलले भन्नुभयो, पहिला त केही दिन अवरोध गरे पनि पछि जान दिन्थ्यो तर यस पटक १७ दिन लोड भएका गाडी भन्सार छेउमा लाइन लगाउँदा पनि जान दिएन । अहिले निकासी नभएपछि फर्काइएको अदुवा व्यापारीहरूले फेरि गोदाममा नै राखेको उहाँले बताउनुभयो । नेपालको अदुवा निकासी नहुँदा व्यापारीलाई घाटा मात्र नहुने किसानलाई समेत मार पर्ने उहाँ बताउनुहुन्छ ।

इलाम र पाँचथरसहित विभिन्न जिल्लाका व्यवसायीले भारत निकासीका लागि अदुवासहितका ट्रक १७ दिनदेखि भन्सारमा लाइन लगाएका थिए । भारतीय भन्सारका कर्मचारीले नेपाली अदुवा निकासीका लागि कुनै अनुमति नभएको भन्दै ट्रकलाई भन्सार पास अनुमति नदिएको व्यवसायी बताउँछन् । हामीले भारतमा पनि भन्सारभन्दा माथिल्ला सरोकारवाला निकायमा पहल ग¥यौँ, अदुवा व्यवसायी सङ्घका अध्यक्ष खड्काले भन्नुभयो तर हाम्रो कुनै सीप चलेन ।

स्पष्ट कारणबिनै नेपालको कृषि उपज निकासीमा भारतले अवरोध गर्नु सन् २०१७ मा भएको नेपाल–भारत वाणिज्य सन्धिविपरीत हुने व्यापारी कृष्ण पौडेलले बताउनुभयो । उहाँले यसअघि चिनियाँ अदुवा मिसावट र अन्य कारण देखाइए पनि यो पटक भारतको लखनउ कमिस्नरले नै नेपाली अदुवा निकासी हुन नदिएको अपुष्ट खबर आएको बताउनुभयो ।
नेपाल–भारत वाणिज्य सन्धिमा स्वतन्त्र पारवहन अधिकार भए पनि भारत पक्षले यसलाई लुकाइ रहेको पनि व्यापारीको आरोप छ । भन्सारमा लामो समय अदुवाको ट्रक लाइन लगाउँदा कुहिएर जाने र अन्य खर्चसमेत बढ्ने भएकाले फर्काउन बाध्य भएको पौडेलले बताउनुभयो ।

अदुवा बेच्ने बेला निकासी रोकिएपछि व्यापारी बढी चिन्तामा छन् । यो सिजनमा नेपालबाट करिब आठ सय ट्रक अदुवा निकासी भइसकेको छ भने दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा अझै निकासी हुन बाँकी रहेको सङ्घले जनाएको छ ।

gorkhapatra