काठमाण्डौ माघ १०, सातवटै प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। प्रत्येक प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, तीन महिला र तीन खुला सहित ८ जना गरी ५६ जनाको बुधबार उम्मेदवारी दर्ता गर्ने काम धमाधम भैरहेको छ।
राजनीतिक दलहरुले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुरको जावलाखेल, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ७ को डोटीको निर्वाचन आयोगको कार्यालयमा आ-आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरिरहेका छन्।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी(राजपा) लगायत दलले उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताको लागि ७ वटै प्रदेशका निर्वाचन आयोगका कार्यालयमा पुगेका छन्।
बिहान १० देखि ४ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ। राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकेर उम्मेदवार मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्मको समय तोकेर दर्ताको काम अगाडी बढाईएको हो ।