काठमाण्डौ माघ ६, प्रदेश प्रमुखलाई सरकारले मन्त्री सरह सुविधा दिएको जनाएको छ। शुक्रबार सपथ लिएलगत्तै गृह मन्त्रालयले उनीहरुलाई गाडि, पिएसओ लगायत सुविधा दिइसकेको छ। ‘उहाँहरुलाई मन्त्री बराबरकै सुविधा दिइएको छ,’ गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले भने,‘मन्त्री चढ्ने गाडी नै दिएका छौं, सुरक्षाको प्रबन्ध पनि मन्त्री सरह नै गरिएको छ।’ सुरक्षाका लागि सेनाबाट पिएसओ खटाइएको छ।
शुक्रबार सपथ खाएका सातै जना प्रदेश प्रमुखहरु आइतबारदेखि प्रदेशको अस्थायी राजधानीमा हाजिर हुँदैछन्। आइतबार नै प्रदेश सांसदहरुलाई उनीहरुले सपथ खुवाउने कार्यक्रम छ। १ नम्बर प्रदेशमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गकिशोर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।
आइतबार प्रदेश प्रमुखहरुलाई पदभार ग्रहण गराएपछि क्षेत्रीय प्रशासकहरु फर्कने भएका छन्। सातै प्रदेशमा सरकारले प्रमुख सचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरेको छ। आइतबार नै प्रमुख सचिव खटाउने सम्भावना रहेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए। क्षेत्रीय प्रशासकमध्ये केहीलाई भने त्यही प्रमुख सचिव बनाउने तयारी समेत छ ।