images
images

इतिहास : बुद्धका दस विपत्ति

२०७४ वैशाख २३ – बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ । ‘जहाँ अन्याय छ, त्यहाँ छायाले जस्तै अशान्तिले पछ्याउँछ,’ उनी भन्थे, ‘अन्यायमा शान्तिको खोजी त्यतिकै निरर्थक छ जति निरर्थक सिउँडीको बोटमा सुन्तला फल्ने आशा गर्नु हुन्छ ।’ आज अमेरिका र उत्तर कोरियाबीचको तनावले विश्वशान्ति खलबलिने खतरा छ । तर, २५ सय वर्षअघि जन्मेका बुद्धको शान्ति र न्याय चेत यति उँचो थियो जसलाई एक्काइसौँ शताब्दीका ‘शान्तिवादी’ हरूले अझै बुझ्न सकेका छैनन् । भारतीय विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ का अनुसार शाक्य र कोलिय राज्यबीच रोहिणी नदीको पानी प्रयोग गर्नेबारे झगडामा तत्कालीन राजकुमार सिद्धार्थले आफ्नै राज्यका किसानको पनि गल्ती औँल्याएका थिए । आफन्त, पराई वा राष्ट्रवादभन्दा उनका लागि मानवता, न्याय, सत्य र अहिंसा सर्वथा महत्त्वपूर्ण थिए ।

सतातन धर्मावलम्बीले बुद्धलाई विष्णुको नवौँ अवतार मानेका छन् । सायद बुद्धप्रति यो सद्भाव थियो । तर, उनी भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वरभक्ति, यज्ञ, प्रार्थना, जात व्यवस्था, पुरोहितवाद आदिको प्रतिकारमै ज्ञानको खोजीमा हिँडेका थिए । उनको संघमा जातिभेद थिएन । कतिसम्म भने उपाली, स्वास्ती, सुनीतजस्ता शूद्रलाई संघमा अग्राधिकारसहित उनले सम्मानित पद दिएका थिए । कुनै पनि कुरालाई उनी अन्तिम सत्य मान्दैनथे । आफ्नै दर्शनलाई पनि सत्य खोजीमा हिँड्ने डुंगा मात्र ठान्थे । ‘म मोक्षदाता होइन, मार्गदर्शक मात्र हुँ, मेरो दर्शन अन्तिम सत्य पनि होइन । यो तत्काल मेरो ब्रह्मले देखेको श्रेष्ठ मार्ग मात्र हो,’ उनी भन्थे, ‘ध्यानको अभ्यास गर्दै मनको अज्ञान हटाउन सके कुनै पनि व्यक्ति बुद्ध बन्न सक्छ । आफ्नो मालिक तिमी आफैँ हौ । पुरोहितहरूले जग्गे थापेर कहिल्यै कसैले नदेखेको ईश्वरका नाममा जीवन धान्ने अमूल्य अन्न र घिउ–तेल स्वाहा गर्नु मूर्खता हो । सम्मानित गुरु, इतिहास वा शास्त्रले भन्दैमा त्यसै नमान । तथागतकै कुरा पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैं जान । आफ्नो दियो आफैं बन ।’ खासमा, बुद्धले मनको अँध्यारो र अज्ञान हटाएर जिउँदै आनन्दित र मुक्त जीवनको स्वर्गीय आनन्द भोग्न पाउने उपाय सुझाए । त्यसैले त आइन्सटाइने बुद्ध दर्शनलाई संसारकै सबैभन्दा उँचो मानवीय दर्शन भनेका छन् । वेद, पुराणको सत्ता चलिरहेको युगमा यस्ता आदिविद्रोही र महात्माको जिन्दगीमा अनेक विपत्ति आइलाग्नु स्वाभाविक थियो । तर, उनले कुनै पनि विपत्तिसँग हार मानेनन् । कहालीलाग्दो भीरको थाप्लामा उभिएझैँ लाग्ने यी विपत्तिलाई उनले निर्भयतापूर्वक सामना गरे ।
१) देश निकाला
शान्ति र सद्भावको पक्ष लिँदा २९ वर्षको उमेरमा उनलाई देश निकाला गरिएको थियो । हरेकजसो बौद्ध साहित्यमा ‘उनले रोगी, वृद्ध र मृतक देखेपछि ज्ञानको खोजीमा मध्यरातमा घर छाडेको’ उल्लेख छ । बौद्ध साहित्यमा यसलाई महाभिनिष्क्रमण भनिन्छ । भारतीय दलित विद्वान् बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको तथ्य स्तब्ध पार्ने खालको छ । अम्बेडकरका अनुसार रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? धर्मानन्द कौसम्बीले पहिलोपल्ट यस्तो प्रश्न उठाए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर पनि सोही निष्कर्षमा पुगे । पछि कतिपय राजनीतिक इतिहासकारले पनि यसलाई पुष्टि गरे । छिमेकी राज्य कोलियसँग रोहिणी नदीको पानी प्रयोग गर्नेबारे विवाद भएपछि शाक्य संघले लडाइँको घोषणा गर्‍यो । सिद्धार्थले विरोध गरे । तत्कालीन शाक्य राज्यमा बीस वर्ष पुगेका हरेक युवक सदस्य रहने शाक्य संघ संसद्को भूमिकामा हुन्थ्यो । उनको शान्तिवार्ता प्रस्ताव बहुमतद्वारा अस्वीकृत भयो । बीस वर्ष पुगेका सबै युवाले युद्धमा भाग लिनुपर्ने भयो । सिद्धार्थले आफू युद्धमा सामेल नहुने घोषणा गरे ।

बहुमतको निर्णय नमान्दा संघले उनको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्थ्यो वा परिवारको जमिन जफत गर्न सक्थ्यो । अथवा उनलाई मृत्युदण्ड दिन वा देशनिकाला गर्न सक्थ्यो । सिद्धार्थले आग्रह गरे, ‘कृपया, मेरो गल्तीको सजाय परिवारलाई नदिनुस् । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, म खुसीसाथ स्विकार्छु ।’ त्यतिखेर भर्खर उनका छोरा राहुलको जन्म भएको थियो । मातापिता वृद्ध भइसकेका थिए । यस्तो स्थितिमा शान्ति र सद्भावका लागि उनले देश छाडे । विलासमा हुर्किएका राजकुमारका लागि यो सजिलो बाटो थिएन । तर, यो उनको सत्याग्रह थियो । पछि, उनकै चाहनाअनुसार दुई देशबीच समझदारी भई शान्ति कायम भयो । शान्ति सम्झौतापछि उनलाई घर फर्कन आग्रह गरियो । तर, उनी स्थायी शान्तिका लागि ज्ञानको खोजीमा लागे ।
२) अंगुलीमालको आतंक र चिञ्चाको नक्कली पेट
बुद्ध त्यतिखेर ५६ वर्षका थिए जब उनको सामना खतरनाक हत्यारा अंगुलीमालसँग भयो । भियतनामी बौद्ध विद्वान् तिक न्यात हन्हको किताब ‘ओल्ड पथ, ह्वाइट क्लाउड’ का अनुसार जालिनी वनबाट ऊ कोसल राज्यको श्रावस्ती प्रवेश गर्दा पूरै बस्ती मसानसरह सुनसान थियो । मानिसहरू दिउँसै ढोका बन्द गरेर बस्थे । हरेक व्यक्तिको हत्यापछि ऊ त्यसको एउटा औँला मालामा उन्थ्यो । सय जनाको हत्या गरेर तिनका औँलाको माला लाएपछि आफ्नो मायावी शक्ति बढ्ने भ्रम उसलाई थियो । एकपल्ट चालीस जनाले घेरा हाले । अद्भुत युद्धकला जानेको अंगुलीमालले छिनभरमै अधिकांशलाई मारिदियो । बाँकीले भागेर ज्यान बचाए । राजा प्रसेनजितले उसलाई पक्रन सशस्त्र सेना तैनाथ गरेका थिए ।

तीमध्ये कतिपयलाई उसले मारिसकेको थियो । यो थाहा पाउनासाथ बुद्ध निडर भएर एक्लै श्राबस्तीमा हिँड्न थाले । अंगुलीमाल हकार्दै, खुँडा ताक्दै आइपुग्यो । एउटा रूखअगाडि उभिएर शान्त स्वरमा बुद्धले भने, ‘अंगुलीमाल, म तिम्रो उद्देश्यका लागि मारिन तयार छु । तर, त्यसका लागि तिमीले मलाई यस रूखका चारवटा पात टिपेर ल्याइदिनुपर्छ ।’ पहिलोपल्ट आफूसँग निडर भएर बोल्ने मान्छे भेट्दा अंगुलीमाल हच्कियो र चारवटा पात टिपेर ल्याइदियो । बुद्धले फेरि भने, ‘अब यो पात जस्ताको तस्तै त्यही हाँगामा लगेर जोडिदेऊ ।’

उसले भन्यो, ‘तिमीले के भन्न खोजेको भिक्षु ? यो कसरी सम्भव छ ?’
‘हो, जसरी टिपिसकेका पात जोड्न सक्दैनौ, त्यसैगरी तिमीले हत्या गरेका मान्छेलाई फेरि बचाउन सक्दैनौ । जब मारिएकालाई बचाउन सकिन्न भने तिनलाई मार्ने अधिकार तिमीलाई कसले दियो ?’ अंगुलीमाल नाजवाफ भयो ।

‘मानिसहरू अज्ञान, घृणा र द्वैषका कारण क्रूर बन्छन् । क्षमा, करुणा, ज्ञान र प्रेमको मार्गमा हिँड्यौ भने तिम्रो जीवनमा पनि स्वर्गीय आनन्द आउनेछ अंगुलीमाल’, बुद्धको कुरा सुनेर उसले खुँडा बिसायो र माफी माग्दै नमन गर्‍यो । बुद्धको शरणमा गएको दुई हप्तामै अंगुलीमाल अहिंस्रक नाम धारण गरेर सौम्य र करुणामय भिक्षु भइसकेको थियो ।

त्यसअघि नै सम्बोधी प्राप्त गरेर देश देशावरमा प्रसिद्ध भइसकेका बुद्धमाथि एउटा गम्भीर आरोप लागेको थियो । चिञ्चा नामकी एक ब्राह्मण युवतीले बुद्धको देशना चलिरहेको सभामै बुद्धले आफूलाई गर्भवती बनाएको आरोप लगाइन् । सुनेर सबै जना स्तब्ध भए । बुद्धले शान्त मुस्कानसहित भने, ‘कुमारी चिञ्चा, तपाईँले बोलेको कति सत्य हो भन्ने तपाईँ र मलाई मात्र थाहा छ, कि कसो ?’ बुद्धको शान्त मुस्कान देखेर चिञ्चा हडबडाइन् । बाहिर निस्किँदा एउटा खम्बामा ठोकिएर उनको पेटमा बाँधिएको काठको गोलाकार खसेर खुट्टामा लाग्यो । घाइते औँला थिचेर उनी रुन थालिन् । उनको पेट अब एकदमै सपाट थियो ।
३) सत्यको त्रासदी
उनी नौ वर्षका राजकुमार हुँदा एक दिन बगैँचामा एउटा चरा खस्यो । त्यसलाई वाण लागेको थियो । उनले त्यसको घाउमा औषधि लगाइदिए । त्यसलाई वाण हान्ने उनकै काकाको छोरा देवदत्त घाइते चरा लिन आइपुग्यो । सिद्धार्थले दिन मानेनन् । उनीहरूबीचको विवाद दरबारसम्मै पुग्यो । दुवैले मन्त्रीगणसँग आ–आफ्ना तर्क राखे । घाइते चरामाथिको स्वामित्व व्याधाको होइन, बचाउनेको हुनुपर्ने तर्क सिद्धार्थको थियो । बहुमत बुद्धको तर्कमाथि हाँस्न थाल्यो र देवदत्तको पक्षमा ढल्कियो । राजा शुद्धोदन एक्कासि खोक्न थाले । यो एक खालको संकेत थियो । मन्त्रीहरूले एकाएक सिद्धार्थको पक्षमा निर्णय गरे । चरा उनलाई दिइयो । मन्त्रीगणले राजालाई खुसामद गर्न मात्र सिद्धार्थलाई जिताइदिएका थिए । यो थाहा पाउँदा उनको आत्मसम्मानमा ठूलो चोट लाग्यो । तर, उनले चराको मुक्तिका लागि यस्तो अपमानजनक स्थितिसँग पनि सम्झौता गरे । यस घटनाबाट उनलाई ज्ञान भयो, सत्य र ठीकका पक्षमा उभिन बहुतै ठूलो साहस चाहिन्छ जुन अधिकांश मान्छेमा हुँदैन ।
४) सुन्दरीको शव
अर्कोपल्ट श्रावस्तीको जेतवन बिहारमा प्रहरीले सुन्दरी नामकी एक युवतीको शव बरामद गर्‍यो । बेलाबेला उनी बिहारमा बुद्धको देशना सुन्न आउँथिन् । शव बुद्धकै कुटीको पछाडिपट्टि खाल्डामा गाडिएको थियो । त्यसै दिन सुन्दरीको सम्प्रदायका मान्छेले शव नगर परिक्रमा गराए । उनीहरू भनिरहेका थिए, ‘शव जेतवन बिहारमा भेटियो । वासनारहित जीवन व्यतीत गरिरहेको दाबी गर्ने बुद्धका शिष्यले नै यसलाई बलात्कार गरेर शव लुकाउने चेष्टा गरे । दया, करुणा, आनन्द र समत्व भावका उनका कुरा झूटा हुन् । लौ हेर्नुस् तिनका करामत !’ श्रावस्तीवासी यस घटनाबाट दिक्क भए । बुद्धका श्रद्धावान् शिष्यको आस्था डगमगाउन थाल्यो । भिक्षाटनका लागि हिँडेका भिक्षुलाई नगरवासी अनेक लाञ्छना लगाउँथे । यसले गर्दा कतिपय भिक्षु भिक्षाटनमा नगई भोकभोकै बस्न थाले । बुद्धले तिनीहरूलाई भने, ‘अनुचित आरोप कसैमाथि पनि, कुनै पनि बेला लाग्न सक्छ । त्यसबाट हीनताबोध र लज्जाबोध गर्नु जरुरी छैन । लज्जित त्यतिखेर हुनुपर्छ जब तपाईँ शुद्ध जीवनयापनबाट विरत हुनुहुन्छ ।’ नभन्दै एकै हप्ताभित्र हत्याराहरू पक्राउ परे । दुई हत्याराले अत्यधिक मद्यपान गर्दा यो रहस्य खोलेका थिए । बुद्धलाई बदनाम गर्न सुन्दरीको सम्प्रदायकै मान्छेले पैसा दिएर उसको हत्या गराएका थिए ।
५) सूत्राचार्य र शीलाचार्यको आत्मस्वीकृति
बुद्धको देशना (उपदेश) कण्ठस्थ पार्ने भिक्षुको समुदायलाई सूत्राचार्य भनिन्थ्यो । श्रामणेर तथा भिक्षुका लागि निर्धारित पञ्चशील र दस शीलका विशेषज्ञलाई शीलाचार्य । एकपल्ट गोशिरा बिहारमा सूत्राचार्य र शीलाचार्यबीच ठूलो विवाद भयो । एक सूत्राचार्यले कर–प्रक्षालन पात्र सफा गर्न बिर्सिए । एक शीलाचार्यले आपत्ति प्रकट गरे । सूत्राचार्य आफूले जानीबुझी यस्तो नगरेकाले दोष स्विकार्न तयार भएनन् । प्रत्येक भिक्षुले आ–आफ्ना अध्यापकको पक्ष लिन थाले । दुवै पक्ष एक अर्काको हदै निन्दा गर्न थाले ।

यसले संघमा विभाजन आउन सक्थ्यो । निष्पक्ष भिक्षु, उपासक र शुभेच्छुकको आग्रहमा बुद्धले दुवै पक्षको भेला बोलाए र विवाद अन्त्य गर्न आग्रह गरे । यस्तैमा एक भिक्षुले आवेशमा भने, ‘यो विवाद हामी आफैँ मिलाउँछौँ । तपाईँ बीचमा नआउनुस् ।’ भिक्षुको अपमानजनक व्यवहारपछि आफ्ना अनुचर तथा सहयोगी आनन्दलाई समेत नभनी बुद्ध एक्लै भ्रमणमा निस्किए । उनी एक वर्ष चार महिनापछि फर्किए । उनलाई थाहा थियो, दुवै पक्षले आफ्ना गल्ती महसुस गर्नेछन् र विवाद समाधान हुन्छ । अन्तत: दुवै पक्षले एक दिन आ–आफ्ना गल्ती स्वीकारे । दोष स्वीकार समारोहमा बुद्ध पनि उपस्थित थिए । सूत्राचार्यले सारा अहंकार बिर्सेर शीलाचार्यलाई नमन गर्दै भने, ‘मान्यवर, म स्विकार्छु, मैले एउटा शील उल्लंघन गरेको छु । मलाई सुधार्न तपाईँले भनेका कुरा ठीक थिए । म संघसमक्ष आफ्नो दोष स्विकार्छु ।’ शीलाचार्यले प्रत्युत्तरमा नमन गर्दै भने, ‘त्यो बेला ममा विनम्रता थिएन । त्यसका लागि कृपया मलाई माफ गर्नुहोला ।’ यसरी त्यो उग्र विवाद समाधान भयो ।
६) देवदत्तको धोकाबाजी
जीवनको उत्तरार्धमा देवदत्तले बुद्धलाई संघको नेतृत्वबाट गलहत्याउन खोजे । बुद्ध ७२ वर्ष भइसकेका थिए । उनीप्रति भिक्षुहरूको अगाध श्रद्धा थियो । केही नलाग्दा देवदत्तले भिक्षुहरूका लागि अर्को कडा पाँच नियमको पासो थापे । १) भिक्षु केवल वनमा रहनुपर्छ । गाउँ वा नगरमा सुत्ने अनुमति नदिइयोस् । २) भिक्षुले भिक्षाटन गर्नुपर्छ । उपासककहाँ भोजन गर्न जानु हुँदैन । ३) भिक्षुले पुराना कपडाबाट चिवर सिलाउनुपर्छ । उपासकले दिएको नयाँ कपडा स्विकार्नु हुँदैन । ४) भिक्षु रूखको फेदमा सुत्नुपर्छ । कुटी वा भवनमा सुत्नु हुँदैन । ५) भिक्षुले केवल शाकाहारी भोजन गर्नुपर्छ । बुद्ध मध्यमार्गी थिए । उनले यी नियमको कडीकडाउलाई स्विकार्न सकेनन् । त्यसपछि देवदत्तले झन्डै ५ सय भिक्षुलाई साथ लिएर अर्कै संघ खोले ।
७) हत्याको तीन दुष्प्रयास
यसपछि तीनपल्ट बुद्धको हत्या प्रयास भयो ।
एक दिन बुद्ध गृद्धकुट शिखरमा साधना गरिरहेका थिए । आँखा खोल्दा रूखपछाडिबाट एउटा मान्छे उनलाई हेरिरहेको थियो । बुद्धको पाउमा तरबार राखेर उसले नमन गर्दै भन्यो, ‘गौतम, मलाई तपाईँको हत्या गर्ने आदेश दिइएको थियो । मैले दुवै हातले दसपल्ट तरबार उठाएँ तर एकै कदम अघि बढ्न सकिनँ । अब के गरूँ ? मेरा मालिकले मलाई जीवित छाड्ने छैनन् ।’

आदेश दिनेको नाम उसले बताउन सकेन । बुद्धले उसलाई कोसलमा नयाँ जिन्दगी बिताउने व्यवस्था गरिदिए । बाटो बिराएका भिक्षुहरूलाई भेट्न जान लागेका सारीपुत्त र मौदगल्यायनले यो थाहा पाएर यात्रा स्थगित गर्न खोजे । बुद्धले भने, ‘चिन्ता नगर्नुस् । तथागत कुनै पनि खतराको सामना गर्न तयार छ । तपाईँहरू निश्चिन्त भएर जानुस् ।’

एक दिन उनी पहाडको चट्टानमा उभिएर सायंकालीन आकाशको सौन्दर्य निहारिरहेका थिए । माथिबाट अजंगको ढुंगा गुड्दै आयो । दुवैतिर चट्टानले घेरिएको साँघुरो बाटोमा दायाँबायाँ गर्नु असम्भव थियो । संयोगले ढुंगा चट्टानको बीचमा अड्कियो । तैपनि फुटेको टुक्रा खुट्टामा लाग्दा उनी रक्ताम्मे भए । माथितिर हेर्दा एक जना भागिरहेको थियो । यो देखेका भिक्षुले राति टोली बनाएर बुद्धलाई सुरक्षा दिने योजना बनाए । तर, बुद्धले आदेश दिए, ‘तथागतलाई सुरक्षाको आवश्यकता छैन । तपाईंहरू आ–आफ्ना कुटीमा गएर आराम गर्नुस् ।’

त्यसको दस दिनपछि नलगिरि नामक क्रोधित हात्ती लगाएर उनलाई मार्न खोजियो । भिक्षाटन गरिरहेका बेला हात्ती सुँढ उचाल्दै बुद्धतिर आयो । उनी शान्त भावले त्यहीँ खडा भइरहे । भिक्षु आनन्द सास रोकेर हात्ती र बुद्धका बीच उभिन आइपुगे । हन्हको पुस्तकअनुसार त्यसै बेला बुद्धले हात्तीको स्वर निकाले । उनको आवाज रानी हात्तीको जस्तै थियो । रक्षितवनमा रानी हात्तीसँग उनले मित्रता गाँसेका थिए । हात्तीको आवाज सुन्नेबित्तिकै नलगिरिले हातपाउ बिसाएर शिर निहुरायो मानौँ ऊ बुद्धलाई नमन गरिरहेको थियो । बुद्धले एक हातले त्यसको सुँढ समाते र अर्को हातले शिर थपथपाए । त्यसलाई हात्तीसाला पुर्‍याएर प्रबन्धकलाई उनले भने, ‘यो हात्ती कसको आदेशले छाडियो भन्ने म जान्न चाहन्नँ । किन्तु, यसले सयौँ व्यक्ति मार्न सक्थ्यो । भविष्यमा यस्तो हुन कहिल्यै नदिनू ।’ प्रबन्धकले माफी माग्दै बुद्धलाई प्रणाम गर्‍यो ।
 ८) अजातशत्रुको बर्बरता
देवदत्त छुट्टिएर गएपछि मगधमा अनेक बितन्डा हुन थाल्यो । उनले राजा बिम्बिसारका छोरा अजातशत्रुलाई हात लिए । चन्द्रगुप्त मौर्यका छोरा बिम्बिसार बुद्धका उपासक थिए । त्यो उनका लागि अत्यन्त खतरा साबित भयो । कुनै मध्यरात राजाको कक्षमा सन्देहास्पद स्थितिमा घुसेका राजकुमारलाई अंगरक्षकले पक्राउ गरे । तलासी लिँदा राजकुमारले लुकाएर ल्याएको खड्ग फेला पर्‍यो । राजाले सोधे, ‘राजकुमार, तिमी खड्ग लिएर किन यहाँ आयौ ?’
‘पिताजी, म तपाईँको हत्या गरेर राजा बन्न चाहन्थेँ ।’

बारम्बारको केरकारपछि अजातशत्रुले स्विकारे, यो कृत्य देवदत्तको दिमागको उपज थियो । मन्त्रीगणले राजकुमार र देवदत्तलाई मृत्युदण्ड दिन सिफारिस गरे । बुद्धका सच्चा शिष्य बिम्बिसारले यो प्रस्ताव स्विकार्न सकेनन् । उनले भने, ‘म यी दुवैलाई म क्षमा गर्न चाहन्छु । भोलि नै घोषणा गरेरै छोरालाई म यो सिंहासन त्याग्छु ।’ राजाले यो घटना गोप्य राख्न आदेश दिए । यो थाहा पाएर देवदत्तले राजकुमारलाई भेटे । त्यसको दुई दिनपछि राजकुमारले राजा र दुई मन्त्रीलाई बन्दी बनाए । राज्याभिषेक समारोहलाई बुद्ध र उनका भिक्षुले बहिष्कार गरे । जनतालाई अनेक शंका भयो । केहीपछि नै उनीहरूलाई थाहा भयो, पूर्वराजा र उनका दुई मन्त्रीलाई देवदत्तको सल्लाहअनुसार बन्दी बनाइएको छ । बिस्तारै उनीहरूले देवदत्त समर्थक भिक्षुलाई भिक्षा दिन छाडे । यो, नयाँ शासकप्रतिको अप्रत्यक्ष निन्दा थियो ।

रानीबाहेक राजासँग कसैलाई भेट गर्न दिइएन । रानी दिनहुँ राजाका लागि भोजन लिएर जान्थिन् । पछि भोजन बन्द गरियो । बिम्बिसार भन्थे, ‘मलाई छोराको यस कार्यप्रति कुनै घृणा छैन । म मर्न चाहन्छु तर देशमा गृहयुद्ध देख्न चाहन्नँ ।’ त्यसपछि रानीले भातका ससाना डल्ला कपालमा लुकाएर राजालाई खुवाउन थालिन् । पूर्वराजा अझै नमरेको देखेपछि फेरि पूर्वरानी विदेहीको तलासी लिइयो । त्यसपछि रानीले दूध, सख्खर र पिठोको लेप शरीरमा दलेर, त्यही लेप माडेर राजालाई खुवाउन थालिन् । बुद्ध बसेको गृद्धकुट पर्वततिर हेरेर बिम्बिसार ध्यान गर्छन् भन्ने थाहा पाएपछि त्यही झ्याल पनि बन्द गरियो । पछि पूर्वरानीलाई पूर्वराजासँग भेट्न पूरै मनाही गरियो । यति गर्दा पनि राजाको मृत्यु नभएको देखेपछि अजातशत्रुले बगरे बोलाएर राजाका दुवै खुट्टा काट्न लगाए । त्यसमा नुन, तातो तेल र भर्भराउँदो आगोको गोल राखियो । यसरी राजाको क्रूरतापूर्वक हत्या गरियो ।

पछि झन्डै यस्तै घटना कोसलमा पनि भयो । राजा प्रेसेनजितको निधन राजगृहको एक धर्मशालामा दीनहीन अवस्थामा भयो । प्रसेनजित एक दिन बुद्धलाई भेट्न शाक्य राज्यको मेदालुम्पा आएका थिए । राजकुमार विडुडाभ र प्रधानसेनापति कारायण पनि साथै थिए । राजाले प्रधानसेनापतिलाई राजकीय खड्ग र मुकुट रथमा राख्न पठाए । बुद्धलाई भेटेर जब राजा बाहिर निस्किँदा चार रथको ठाउँमा एउटै मात्र बाँकी थियो । प्रधानसेनापतिले राजकीय खड्ग र मुकुटसहित जबर्जस्ती सबैलाई श्राबस्ती पुर्‍याए । सेनापतिले राजकुमार विडुडाभलाई भने, ‘राजा बूढा भए । अब तपाईँ सिंहासनमा बस्नुस् ।’ राजकुमारले अस्विकार्दा सेनापतिले आफैँ सिंहासनमा बस्ने चेतावनी दिए । राजकुमार यसरी बाध्य भएर सिंहासनमा बसे । राजा प्रसेनजित मगध नरेश तथा ज्वाइँ अजातशत्रुको सहयोग लिन राजगृह पुगे । राति ढिलो पुगेकाले उनले राजमहलको ढोका ढकढकाउनु उचित ठानेनन् । उनी धर्मशालामा बसे । त्यसै रात राजालाई बेस्सरी ज्वरो आयो । त्यहीँ सारथिको काखमा उनले प्राण त्यागे । यी सबै बुद्धविरुद्ध देवदत्तले खेलेका षड्यन्त्रकारी खेलका परिणाम थिए ।
९) मौदगल्यायनको हत्या
पिता शुद्धोदनको निधन हुँदा दरबार शून्य थियो । सिंहासनमा बस्ने हक बुद्धलाई थियो । उनले सहर्ष त्यो हक ठूला बाका छोरा महानामलाई सुम्पिए । बुद्धको त परिवारै, आमा महाप्रजापति, पत्नी यशोधरा, भाइ नन्द र छोरा राहुल सद्धर्ममा लागेर भिक्षु बनेको थिए । बुद्ध ७८ वर्ष पुग्दा उनका उपासक राजा प्रसेनजित र बिम्बिसारको मृत्यु भइसकेको थियो । बुद्धका प्रथम पाँच शिष्यमध्ये एक कौडन्न अनि काश्यप बन्धु, भिक्षुणी महाप्रजापति, बुद्धका छोरा भिक्षु राहुल र भिक्षुणी यशोधरा पनि बितिसकेका थिए । प्रसेनजितको मृत्युलगत्तै वेणुवनमा विरोधी सन्न्यासीहरूले बुद्धका वरिष्ठ शिष्य मौदगल्यायनको हत्या गरे जो निर्भयता र स्पष्टवादिताका लागि विख्यात थिए । अन्य सम्प्रदायका व्यक्ति उनीसँग क्रुद्ध थिए । एक बिहान दुई भिक्षुसहित भिक्षाटनका लागि निस्कँदा बिहारको बाहिरपट्टि लुकेर बसेका केही व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरे । घटनास्थलमै उनको मृत्यु भयो ।
१०) पेट पीडा र महापरिनिर्वाण 
बौद्ध साहित्यमा बुद्धको निधनलाई महापरिनिर्वाण भनिन्छ । ८० वर्षको उमेरमा बुद्धले वैशाली, भन्डग्राम र पावामा देशना दिए । पावामा कामी समुदायका उपासक चण्डले बुद्ध र उनका ३ सय शिष्यलाई विशेष भोजन गराए । चण्ड स्वयंले बुद्धका लागि भोजन पस्किए जसमा चन्दन वृक्षको काष्ठफूलको विशेष भोजन ‘सुकर माद्दव’ समावेश थियो ।

भोजनपछि बुद्धले चण्डलाई भने, ‘यो भोजन खाल्डो खनेर पुरिदिनू । कसैलाई नखुवाउनू ।’ रातभरि बुद्धको पेटमा असह्य पीडा भयो । यही पीडाबीच पनि कुशीनगर यात्रामा मल्ल वंशका पुक्कुसलाई शिष्य स्विकारी उनले उपदेश दिए । कुकुथ नदीमा स्नानपछि आनन्दलाई भने, ‘मेरो स्वास्थ्य बिग्रिनुमा चण्डको कुनै दोष छैन । त्यो, मेरो जीवनभरिकै सर्वोत्तम दुई भोजनमध्ये एक थियो । सबैले चण्डलाई धन्यवाद दिनू ।’ त्यही पीडाले कुशीनगर नपुग्दै सालवनमा उनी मृत्युशय्यामा पुगे । मृत्युशय्यामै उनले सन्न्यासी सुभद्रको आग्रहमा प्रवचन दिए र उनलाई शिशु स्विकारे । ‘जन्मेपछि मृत्यु अनिवार्य छ । ज्ञान अर्थात् मुक्ति प्राप्त गर्ने बाटोमा सबै जना परिश्रमी भएर अघि बढ्नू’, यति भनेर शान्तिपूर्वक उनले प्राण त्यागे । उनलाई थाहा थियो, त्यसै रात उनको निधन हुनेछ । मृत्युसँग उनी अलिकति पनि भयभीत थिएनन् ।