images
images

ट्याक्सी नम्बर वितरण जेठ १४ बाट

२०७४ वैशाख २३ –  भूकम्प प्रभावित परिवारलाई जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ ।  जेठ १४, १६ र १७ गते गोलाप्रथाद्धारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा अनुसार वितरण गर्न लागिएको हो ।  विभागले ट्याक्सी नम्बर उपलब्ध गराउन आवेदन खुला गरेपछि एक लाख ५१ हजार भूकम्प प्रभावित परिवारले आवेदन दिएका थिए तर आवेदनको छानबिन गरी विभागले एक लाख ४९ हजार ५५१ जनाको नामावली तयार गरेको छ ।  taxi
आवेदन दिनेको सङ्ख्या अत्यधिक भएपछि विभागले गोला प्रथाद्धारा एक हजार पाँच सय ट्याक्सी नम्बर वितरण गर्न लागेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।  सबैभन्दा बढी  सिन्धुपाल्चोकबाट २५ हजार आवेदन परेका छन् भने सबैभन्दा कम रसुवाबाट दुई हजार नौ सय आवेदन परेको विभागले जनाएको छ ।  ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथा गरिने भएको छ ।  गोलाप्रथालाई पारदर्शी बनाउन टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको यातायता कार्यालय एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, गोलाप्रथा निष्पक्ष र पारदर्शी हुन्छ, कसैको भनसुन चल्दैन, गोला निकालेको प्रत्यक्ष प्रसारणसमेत हुनेछ ।  अधिकारीका अनुसार दृष्टिविहीन व्यक्तिमार्फत चिट्ठा खुला गरिनेछ ।  साथै, भूकम्प प्रभावित जिल्लाका प्रतिनिधि, नागरिक समाजलगायतका सरोकारवालाको सहभागितामा गोलाप्रथा गरिनेछ ।  भूकम्प प्रभावित एक हजार पाँच सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैङ्कमार्फत गर्ने वा आफै पैसा लगानी गर्ने कुरामा भने स्वयं व्यक्तिहरू स्वतन्त्र रहेको विभागले जनाएको छ ।