images
images

रुकुममा कांग्रेस र माओवादीका कार्यकार्ता बिच झडप : दुई घाइते

२०७४ वैशाख २३ – रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका २ रातामाटामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच भएको विवादले झडपको रुप लिएको छ। झडपमा माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजालीले बताउनुभयो ।

कांग्रेस कार्यकर्ताको घरमा राखेको झण्डा माओवादीका कार्यकर्ताले हटाउन खोजेपछि भएको विवादका कारण झडप भएको स्थानीयले बताएका छन् । झडप शनिबार दिउँसो दुई बजेतिर भएको थियो ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल शर्माले भने चुनावी प्रचारका लागि गाउँमा पुगेको समयमा कार्यकर्तामाथि आक्रमण भएको बताउनु भएको छ ।

‘हाम्रा कार्यकर्ताले कसैको घरमा रहेको झण्डा फालेका छैनन्,’ संयोजक शर्माले भने, ‘घरदैलो कार्यक्रममा गएका बेला एक्कासी ढुंगा प्रहार गरी आफ्ना कार्यकर्तामाथि योजनावद्ध आक्रमण भयो ।’

संयोजक शर्माका अनुसार आठ जना कार्यकर्ता घाइटे भएका छन् । घाइतेमध्ये चार जनाको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । यता प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।