images
images

चुनावका लागि कांग्रेसको डिजिटल अभियान

काठमाडौं : संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावी अभियानमा भरपूररुपमा डिजिटल प्रविधिको प्रयोग गरिरहेको छ । स्थानीय चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले डिजिटल मिडियालाई प्रमुख सारथीका रुपमा प्रयोग गरेको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु पनि डिजिटल अभ्यासमा जोडिएको भए पनि कांग्रेसले परिस्कृतरुपमा यो अभ्यास गरिरहेको छ ।

चुनावी घोषणा पत्र सार्वजनिक गर्दा फेसबुकमार्फत लाईभ गरेको कांग्रेसले पछिल्लो समय ‘हामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस’ नारा तय गरेर सामाजिक संजालहरुमा शेयर गरिरहेको छ ।

घोषणा पत्र सार्वजनिक भएपछि त्यसमा समावेश विभिन्न योजनाहरुलाई समेटेर समाचार बनाई लगातार संचारमाध्यमहरुमा अपडेट दिइरहेको छ भने संचारमाध्यमहरुलाई आफूतर्फ आकर्षित गर्ने सामग्रीहरु उपलब्ध गराईरहेको छ ।

त्यसबाहेक भेरिफाइर्ड गरिएको फेसबुक पेज, ट्वीटर तथा युटुबमार्फत आफ्ना गतिविधिहरुर्ला सर्वसाधारणमाझ प्रवाह गरिरहेको छ ।

कांग्रेसले चुनावलाई लक्षित गर्दै प्रचार प्रसारका लागि सबै प्रकारका संचारमाध्यमलाई अनुकुलताका सामग्री उपलब्ध गराईरहेको छ ।

रमेश लेखक नेतृत्वको मुल प्रचार प्रसार समिति गठन गरेर शुभेच्छुक पत्रकारहरुलाई पनि स्थान दिएको छ । उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य गगन थापासहित लोकतान्त्रिक संचारमाध्यमहरुका पत्रकारहरुलाई सहभागी गराइएको छ ।

यसअघिका चुनावहरुमा कांग्रेसले डिजिटल प्रविधिलाई यतिधेरै स्थान दिन सकेको थिएन । पछिल्लो समय नेता गगन थापाको सक्रियतामा कांग्रेसले युवा लक्षित सामग्रीहरु उत्पादन तथा प्रचार प्रसार गर्न थालेको हो ।

कांग्रेसले डिजिटल प्रविधिलाई प्रयोग गरेकोप्रति सामाजिक संजालमा पनि यसको चर्चा र प्रशंसा हुने गरेको छ ।

नेकपा एमालेले यसअघि देखिनै यस्तो प्रविधिलाई आत्मसाथ गर्दै आएको थियो भने नेकपा माओवादी केन्द्रले पनि डिजिटल प्रविधिलाई जोड दिएको छ ।