काठमाडौं : नेपाली कांग्रेसले स्थानीय चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिँउसो पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७४ का लागि नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक गरेका हुन् । स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस अहिलेसम्म दोस्रो पार्टी बन्ने छ । यसअघि नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।
‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एक घर एक रुख, एक गाउँ एक वन, एक नगर अनेक उद्यान, एक वार्ड एक बुलेटिन कार्यक्रम लागू गर्ने पनि कांग्रेसले बताएको छ ।
केन्द्रीय सदस्य महेश आचार्य संयोजकत्वको समितिले बनाएको घोषणापत्र तीनवटा मुख्य खण्ड, १२ उपखण्ड र ४ अनुसूची गरी ३४ पृष्ठ लामो छ ।
यसमा २००७ सालको राजनीतिक परिवर्तनदेखि संविधान निर्माणमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाबारे चर्चा गरिएको छ । वैशाख ३१ को निर्वाचनलाई लोकतन्त्र तलैदेखि सबल र संस्थागत गर्ने अभूतपूर्व अवसरका रूपमा लिँदै स्थानीय सरकारको नयाँ संवैधानिक प्रयोगले लोकतन्त्रलाई नेपाली जनताको घरआँगनमा पुर्याउने उल्लेख गरिएको छ ।
२०४७ सालको संविधानबमोजिम गठित संसद र कांग्रेस नेतृत्वको सरकाले सुरु गरेको स्थानीय स्वायत्त शासन ऐन र विकेन्द्रीकरणको सिद्धान्त २०५४ सालमा एमाले सरकारको हस्तक्षेपसहितको निर्वाचनका कारण विवादित बनेको कांग्रेसको ठहर छ । एमालेको असहिष्णु र आक्रामक प्रवृत्तिकै कारण विगतमा संविधान निर्माण र अहिले संविधान संशोधन प्रक्रिया अवरुद्ध हुन पुगेको घोषणापत्रमा खुलाइएको छ ।
देशको एकता र सामाजिक सद्भाव, संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा एमालेले ठूलो क्षति पुर्याएको कांग्रेसको आरोप छ ।
एमालेप्रति आक्रामक ढंगमा प्रस्तुत भएको कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई नरम शैलीमा भए पनि आलोचना गर्न छोडेको छैन । माओवादी द्वन्द्वका कारण स्थानीय निकायको काम र परिणाम आशाअनुरुप हुन नसकेको घोषणापत्रमा उल्लेख छ ।
अस्थिर राजनीतिको लाभ खोज्ने माओवादीको ढुलमुले प्रवृत्तिले सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रिया कमजोर बनाएको कांग्रेसको आरोप छ ।
मधेसवादी दलहरु हठधर्मिताको चक्रव्युहमा फस्दै गएको कांग्रेसको ठहर छ । मधेसी जनतालाई सधैं निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक संवाद र सहमतिलाई परिणाममुखी बन्न नदिएको र यसले समाजमा घृणा थपेको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै, राप्रपालाई अहिले पनि सत्ता राजनीति र पञ्चायत मोहबाट बाहिर निस्कन नसकेको भन्दै अवसरवादी राजनीतिक दलदलमा फस्दै गएको उल्लेख गरेको छ ।
सबै दलप्रति आलोचनात्मक टिप्पणीका अतिरिक्त कांग्रेसले आफ्नो घोषणापत्रमा ‘एक परिवार एक रोजगार’, ‘युवाको लक्ष्य सीप र दक्ष’ जस्ता नीति र कार्यक्रमलाई स्थानीय सरकारका माध्यमबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।
आर्थिक क्षेत्रमा आफूले व्यापक नीतिगत सुधारको प्रारम्भ गरेको जनाउँदै यी सबै उपलब्धीलाई स्थानीय तहमा स्थापित र संस्थागत गराउन भूमिका खेल्ने घोषणापत्रमा उल्लेख छ । भौतिक पूर्वाधार विकासमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको दाबी गर्दै सामाजिक सुरक्षा कार्यक्रम व्यापक बनाउने बाचा गरिएको छ ।
नेपाललाई आगामी १२ वर्ष्भित्र मध्यम आय भएको गतिशील राष्ट्र बनाउने घोषणा पनि कांग्रेसले गरेको छ । यसका लागि कम्तीमा एक दशकसम्म ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिवर्ष पाँच लाख रोजगार सिर्जना गर्ने भनिएको छ ।
युवा उद्यम चुनौती कोष स्थापना गरी १६ देखि ४५ वर्षसम्मका लाई २५ प्रतिशत आफ्नै लगानी, २५ प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋण सहयताको व्यवस्था गर्ने घोषणा गरिएको छ । पर्यटन क्षेत्रको विकाससँगै कृषि क्षेत्रको आधुनिकीरण र उत्पादन वृद्धिका लागि ‘जल, जमिन, जंगल, जडिबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा समुदायको सहभागिता सुनिश्चित गर्ने उल्लेख छ ।
शिक्षा, स्वास्थ्य लगायत क्षेत्र सुधार गर्न लामो सूची तय गरिएको छ । सामाजिक सुरक्षाअन्तर्गत जेष्ठ नागरिकलाई आगामी वर्ष मासिक सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रत्येक गाउँमा एकीकृत जेष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने र उनीहरूको सेवासुविधा वृद्धि गर्ने भनिएको छ । संविधानअनुसार प्रदेशको संरचना बनिसके पनि कांग्रेसको घोषणापत्रको पूर्वाधार विस्तारको संकल्पमा भने हिमाल, पहाड र तराई मधेस क्षेत्रकै आधारमा विकास पूर्वाधारको विषय केन्द्रित गरिएको छ ।
[pdfviewer width=”100%” height=”849px” beta=”true/false”]http://ebuddhakhabar.com/wp-content/uploads/2017/04/Nepali-Congress-2074.pdf[/pdfviewer]