नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम स्थानीय निर्वाचनको लागि आपसी मोर्चावन्दीमा सहमत भएका छन्। लामो समयदेखिको एकता प्रक्रिया टुङ्गो लाग्न नसकेपछि दुई दलबीच चुनावी मोर्चावन्दी हुने भएको हो।
मोर्चावन्दीपछि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी उपेन्द्र यादवको संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर चुनावी मैदानमा पुग्नेछ।
नयाँ शक्ति र संघीय समाजवादी फोरम दुबै दल आज मंगलबार नै निर्वाचन आयोगमा पुग्नेछन्। उनीहरुले फोरमको चुनाव चिन्ह मसाल लिएर चुनाव लड्ने सामुहिक पत्रमार्फत् आयोगलाई जानकारी गराउने भएका छन्।
फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले चुनावी तालमेलको लागि अन्य आधा दर्जन दलहरुसित छलफल भइरहेको बताए। उनले भने, ‘चुनावमा मोर्चा बनाएर जाने कुरा भइरहेको छ। हामीले यसका लागि औपचारिक र अनौपचारीक कुराकानीहरु सुरु गरेका छौं।’