नेयमर बिना पनि बर्नाबाउमा जित रचेको बार्सिलोनाले रियलसँग समान ७५ अंक बनायो । त्यसैले ‘हेड–टु’हेड’को आधारमा रियललाई उछिन्दै बार्सिलोना लिगको शीर्षस्थानमा उक्लियो । तर अझै उपाधि होड रियलको हातमा छ किनभने उसले एक खेल कम खेलेको छ । रियलले कुनै एक खेल हार्यो भने मात्रै उपाधि होड बार्सिलोनाको हातमा हुनेछ ।
बार्सिलोनाले ३३ खेलबाट ७५ अंक जोडेको हो भने रियलले उति नै अंक जोड्दा ३२ खेल खेलेको छ । उनीहरुलाई एट्लेटिको म्याड्रिड (६८) र सेभिया (६५) ले पछ्याइरहेका छन् । अब लिगमा रियलको ६ खेल बाँकी छ भने अरु तीन टिमले ५–५ खेल खेल्नेछन् ।
बार्सिलोना डिफेन्डिङ च्याम्पियन पनि हो । उसले २४ पल्ट ला लिगाको उपाधि जितेको छ । सर्बाधिक ३२ पल्टको च्याम्पियन भने रियल हो । तर रियल २०११–१२ यता लिग च्याम्पियन बनेको छैन । उत्कृष्ट फुटबलर अनुबन्ध गर्न जति पनि लगानी गर्ने रियलको लागि यस्तो खडेरी कमै हुने गर्छ । त्यसैले जिनेदिन जिदानले सम्हालेको टिम लिगको ट्रफि अरुलाई सुम्पन चाहदैन । एट्लेटिको २०१३–१४ मा च्याम्पियन बनेको थियो । यसवीच सँधै ट्रफि बार्सिलोनाले लग्यो ।
रियलले घरेलु मैदानमा बार्सिलानोलाई पराजित गरेको भए उसको लागि लिगको उपाधि लगभग पक्का हुने थियो । तर, मेसीले अन्तिम समयमा निर्णायक गोल गरेपछि ३–२ को जित निकाल्दै बार्सिलोनालाई उपाधि होडमा कायमै राखिदिए । त्यससँगै उनले क्याटलन क्लबको लागि ५ सयौं गोल पनि पूरा गरे । अब बार्सिलोनाले पुछारको ओसासुना, एस्पानयोल, भिलारियल, लास पाल्मास र आइबरसँग खेल्नेछ । उसले प्रतिद्वन्द्वीको भूमिमा एस्पानयोल र पाल्माससँग प्रतिस्पर्धा गर्नेछ । अरु खेल नुक्याम्पमा हुनेछ ।
बार्सिलोनाको लागि उपाधि होड ‘पर्ख र हेर’को अवस्था हो । ‘पोल पोजिसन’मा रहेको रियलले डेपोर्टिभो, भ्यालेन्सिया, ग्रानडा, सेभिया, सेल्टा भिगो र मालगासँग खेल्न बाँकी छ । डेपोर्टिभो र सेभियासँग मात्र म्याड्रिडमा खेल्ने उसलाई पछिल्ला तीन खेल भने गाह्रो हुनसक्छ । तर, रियलले पूरा शक्ति लगायो भने उसले उपाधि अरुको हातमा जान दिने छैन ।
३२ बर्षको भएपनि क्रिस्टियानो रोनाल्डो नै रियलका मुख्य खेलाडी हुन् । उनको टिम जर्मन महारथी बायर्न म्युनिकलाई हराएर युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुगेको छ । उसले युरोपेली उपाधि जोगाउने अभियानमा फाइनल प्रवेशको लागि छिमेकी एट्लटिकोसँग खेल्नेछ ।
बार्सिलोनालाई भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन च्याम्पियन युभेन्ट्सले पाखा लगाइदियो । लुइस एनरिकेको टिमले २७ मेमा कोपा डेल रेको फाइनल आल्भेससँग खेल्दैछ । रियल कोपा डेल रेको क्वाटरफाइनलमा हारेको थियो । त्यसैले उसको ध्यान ला लिगा र च्याम्पियन्स लिगमा केन्द्रित हुनेछ । बार्सिलोनासँगको अन्तिम सिजनमा एनरिकेको दाउ ला लिगा र कोपा डेल रेमा हुनेछ ।