images
images

कलैयामा प्रहरीमाथि आक्रमण गरी हतियार लुटे तस्करले

२०७४ वैशाख ११ – तस्करहरुको समुहले सोमवार प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटेको छ । भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरिएको सुर्ती, चिनी, कपडा,गुटखालगायतका सामान नियन्त्रणमा लिन जिल्लाबाट खटिएको चार जना प्रहरीमाथि आक्रमण गरिएको हो । आक्रमणमा परी प्रहरी हवल्दार शेख मसरुल, विनोद पासवान, प्रहरी जवानचन्देश्वर सिंह, प्रहरी जवान जगमोहन राउत घाइते भएका हुन् । सिंहको टाउकोमा गम्भीर चोट लागेकोले उनको अवस्था गम्भीर छ ।

चोट लागेर ढलेपछि उनले बोकेको सटगन तस्करले लुटेर लगेका हुन् । सबैको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताए । सीमावर्ती कलैया उपमहानगरपालिका १ धर्मनगरमा भएको उक्त घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक उप्रेतीसहितको थप टोली पुगेको छ ।

हतियार र तस्करको खोजी भइरहेको उनले बताए । प्रहरीले तस्करको सामान नियन्त्रणमा लिन खोज्दा तस्करहरुको सहयोगको लागि गाउँबाट थप समुह आएपछि दुईतर्फी झडपसमेत भएको थियो ।