२०७४ वैशाख १०– नेपाल पुलिस क्लबले शनिबार विशाल मेमोरियल गोल्डकप फुटबलको पहिलो खेलमै वीरगन्ज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको छ । नारायणी रंगशालामा भएको उद्घाटन खेलमा पुलिसका सुमन लामाले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । अन्तिम समयसम्म वीरगन्जका खेलाडीले गोल फर्काउने प्रयास गरे पनि पुलिसको बलियो रक्षापंक्तिलाई चिर्न सकेनन् ।
डेढ दशकभन्दा बढी समयपछि व्यापारिक नगरीमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता हेर्न पाउँदा दर्शक रोमाञ्चित देखिए । घरेलु टिमले दर्शकको राम्रो साथ पाएको थियो । वीरगन्जबाट स्थानीय तीन स्थानीय खेलाडीले मात्र खेलेका थिए । आइतबार संकटा क्लब काठमाडौं र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, संकटा, हिमालयन शेर्पा, वीरगन्ज युनाइटेड, जनजागृति युवा क्लब सिमरा र भारतको राजमिल पटनासहित ८ टिम सहभागी छन् । विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । सर्वोत्कृष्ट खेलाडीले सुजुकी मोटरसाइकल प्राप्त गर्ने संयोजक रोशनकुमार कलवारले बताए । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर तथा सहप्रायोजकमा जगदम्बा सिमेन्ट र रेडबुल छन् ।