२०७४ वैशाख १० – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति घरमा सुतिरहेको अवस्थामा भीमदत्त नगरपालिका १८ भगतपुरका किशोर चुनाराले आफ्नी ३० वर्षीया श्रीमती जयश्री देवी चुनाराको हत्या गरेका हुन् । उनको घाँटी च्यापेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
कामका लागि भारतको दिल्लीमा बस्दै आएका किशोर डेढसाता अघि मात्रै घर फर्किएका थिए । घर फर्किए देखी नै ३÷४ दिनदेखी श्रीमान र श्रीमतिबीच झै-झगडा हुदै आइरहेको छिमेकीहरुले बताएका छन् । झै-झगडाले उग्ररुप लिएपछि शनिबारराति आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनले २ बजेको समयमा घाँटी थिचेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साँउदले हत्या गर्ने किशोर चुनारालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार हत्या गर्नेलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान अघि बढाइएको छ ।
मृतक जयश्री देवी चुनाराका १ छोरा र २ छोरी रहेका छन् । मृतको नाकमा रगत आएको घाँटीको भाग सुन्निएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि महाकाली अञ्चलमा राखिएको छ ।