२०७४ वैशाख १० – उपभोक्ताको मागलाई मध्यनगर गर्दै विराटनगरमा विषादी प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी बिक्री गर्न सुरु गरिएको छ ।उद्योग संगठन मोरङ र क्षेत्रीय कृषि निर्देशनालयले सातामा एक दिन खरिद गर्न पाइने व्यवस्था मिलाएका हुन ।संगठन परिसरमा सातामा एक दिन बजार लगाएर विषादीविहीन सागसब्जी बिक्री गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले भन्नुभयो,’ग्रामीण क्षेत्रमा किसानले प्राङ्गारिक मल हालेर उत्पादन गरेको सागसब्जी एकै ठाउँमा बिक्री गर्ने प्रबन्ध गरिदिएका हौं ।’ उहाँले यसबाट किसानले प्राप्त गर्नुपर्ने मुनाफा सोझै लिने र उपभोक्ता पनि नठगिने व्यवस्था गर्न बजार लगाइएको बताउनु भयो ।
विषादी प्रयोग नगरी उत्पादन गर्न र प्राङ्गारिक मलको प्रयोग बढाउन नयाँ प्रयास थालिएको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीले भन्नुभयो,’हप्ताको एक दिन हरेक शनिबार प्राङ्गारिक सागसब्जी बजार सुरु गरेका छौं यसबाट उपभोक्ता र किसानसँग प्रत्यक्ष अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ ।’
शनिबार एक औपचारिक कार्यक्रमबीच बजार उद्घाटन गरियो । उद्योग संगठनमा महानिर्देशक सोम अधिकारीले यो प्रयासले सहरमा बस्ने उपभोक्तालाई स्वास्थ्यमा असर नगर्ने सागसब्जी प्राप्त गर्नसमेत सहज हुने बताउनु भयो । उहाँले भन्नुभयो,’गाउँघरमा प्राङ्गारिक सागसब्जी उत्पादन गर्ने कृषकलाई थप उत्साहित गर्नका लागि प्रयास थालनि गरेका हौं ।’