images
images

लोकप्रिय बन्दै रक भजन

 २०७४ वैशाख १०– संगीतमा अनेकन प्रयोग हुँदै आएका छन् । एउटा विधालाई अर्कोसँग जोड्ने चलन पनि छ । फ्युजनको यो पछिल्लो ट्रेन्डमा रक र भजन जोडिन आइपुगेका छन् । हुन त सन् १९६० र ७० कै दशकमा रागा–रक सुन्नमा आएको थियो । तथापि, विधाका रूपमा अझै स्थापित हुन सकेको छैन ।

रक र पप म्युजिकमा पूर्वीय प्रभाव ढाल्ने काम भारतमा अलि बढी भयो । सितारवादक रवि शंकर रागा–रककै ट्ेरन्ड चलेका बेला सन् १९६६ तिर पप म्युजिकका आइकन बने । अंग्रेजी रक ब्यान्ड ‘द किंक्स’ ले पनि ‘सी माई फ्रेन्डस्…’ गीतमा पूर्वीय वादन मिसाएको थियो । तर, राग र रकभन्दा पनि भजन र रक गीतको फ्युजनबारे यहाँ चर्चा हुँदै छ । त्यो पनि स्वदेशी फ्युजन । प्रसंग हो– ‘सत्याकृत, रक–भजन ब्यान्ड’ को । यो समूहप्रति चाख राख्ने जमात अहिले बढ्दो छ । यो समूहले गितार, ड्रम्स, पियानोसँगै सितार, हार्मोनियम, सारंगी, बाँसुरीजस्ता पूर्वेली–पश्चिमेली बाजा मिसाएर फ्युजन संगीत पस्किने गरेको छ । शब्द भने आध्यात्मिक भावका हुन्छन् ।

‘संगीतमार्फत समाजमा नैतिक जागरण ल्याउन खोज्दै छौं’, समूहका व्यवस्थापक विजय गौतमले भने, ‘हामीमा भएको सकारात्मक ऊर्जा बाँड्न चाहन्छौं । गुरुभक्ति, ईश्वरभक्ति र देशभक्तिको भावना फैलाउन चाहन्छौं ।’ जिन्स टिसर्टमाथि गेरु रङको फेटा बाँधेका उनी झपक्क पालेको कालो, लामो दाह्री मुसार्दै कान्तिपुरसँग गफिएका थिए । छेउमा थिए, उस्तै लुक्स र भेषभूषामा ठाँटिएका, सुर साधु । साधु ब्यान्डका लिड भोकलिस्ट हुन् । ‘सुरुमा हामीलाई जोगी–बाबा भन्थे,’ गौतम बोले, ‘अचेल हाम्रो लुक्स फेसन मान्न थालिएको छ ।’

सुर साधुसँगै प्रजित लामा, विदुर न्यौपाने र सुरज रिजाल ब्यान्डका थप भोकलिस्ट हुन् । तिनको एकमुष्ट स्वरले ब्यान्डलाई सशक्त बनाइदिएको छ । लामा र न्यौपाने क्रमश: सितार र किबोर्ड वादक पनि हुन् । बेस गितारमा लक्ष्मण बैलकोटी, तबला र पर्कसन्समा किरण गौतम, लिड गितारमा कमल र साउन्डमा सुजन छन् ।

ब्यान्डमा ९ जना मुख्य सदस्य छन् । अध्यात्ममा रुचि हुने र संगीतको ज्ञान लिएका अन्यले पनि समूहमा जोडिन पाउँछन् । यो एउटा खुला प्लेटफर्म हो, भन्छन् ब्यान्ड मेम्बरहरू । तर, लगाव हुँदैमा सत्याकृतसँग काम गर्न पाइहाल्ने भन्ने होइन । ‘हाम्रो आफ्नै नीतिनियम र तौरतरिका छन्,’ गौतमले भने, ‘योग र संगीत साधना सजिलो काम होइन । आफू र समाजमा परिवर्तन ल्याउने अठोट भएकाले जोडिन सक्छन् ।’

सुरुमा ललितपुर, नैकापमा रहेको सत्याकृत फाउन्डेसनकै सांगीतिक समितिका रूपमा स्थापना भएको थियो सत्याकृत ब्यान्ड । औपचारिक रूपमा गाउन/बजाउन थालेको एक वर्ष मात्रै भयो । भजनलाई अन्य विधासँग फ्युजन गराउनु त समूहको विशेषता भइगयो । संगीत सिकेका, पढेका र अभ्यास गरेका युवा आबद्ध हुनु सत्याकृतको अर्को ‘खासियत’ हो । भोकलिस्ट सुर साधु ललितकला क्याम्पसबाट क्लासिकल भोकल्समा स्नातकोत्तर हुन् भने बाँकीले पनि आ–आफ्नो विधामा ज्ञान लिएका छन् ।

‘ज्ञान/ध्यानमा रुचि थियो,’ गायक सुर साधुले भने, ‘रुचिलाई कलामा बदलेर त्यसमार्फत समाज सेवा गर्न प्रेरणा मिलेको छ ।’ समूहले ‘सत्य सुर…’ बोलको गीतसमेत निकालेका छन् । ‘गणेश गणनायक…’, ‘तिम्रै रङमा…’, ‘डमडम डमरुनाद…’ जस्ता गीत युटयुबमा सुन्न/हेर्न सकिन्छ ।

फेसबुकतिर ब्यान्डको बिछट्टै चर्चा छ । म्युजिक भिडियोहरू सयौंको संख्यामा सेयर हुने गरेका छन् भने लाइक्स र कमेन्ट मनग्गे आउँछन् । ‘भजन भनेको बुढेसकालमा मात्रै सुन्नुपर्ने भन्ने खालको मान्यता बस्न थाल्यो,’ गौतमले भने, ‘अनि, मायाप्रीतिको मात्रै गीतले संगीतको भण्डार भरिन थालेपछि हामीले ज्ञान, प्रकृति र परमात्मालाई जोड्न खोजेका हौं ।’ आफूहरू कुनै धर्म वा सम्प्रदायको नभई सनातन संस्कृतिको पक्षमा रहेको उनले बताए । गणेश बन्दना हुँदै देवीहरूको स्तुति, बुद्ध ज्ञान, यशु र अल्लाहको समेत कीर्तन गाउने गरेको ब्यान्डको दाबी छ ।

पहिलो एल्बम ‘सत्याकृत’ मा ११ गीत समेटेका थिए । तीमध्ये केहीको भिडियो बन्यो, कोही अडियोमै सीमित रहे । गायनबाहेक अन्य पेसमा पनि संलग्न भएका ब्यान्डको खर्च अहिलेसम्म स्वत: जुटिआएको छ । ‘कहिलेकाहीँ खाली पेट पनि हिँडियो’ गौतम भन्छन्, ‘दु:खले अझ बलियो बनायो ।’ यो ब्यान्ड यतिबेला भने दोस्रो एल्बम ‘सत्य श्री’ को रेकर्डिङलगायत काममा खटिएको छ ।