चालकको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरुले आरोप
गम्भीर घाइतेलाई पोखरा मणिपाल अस्पताल पुर्याइयो
शनिबार दिउँसो साढे १२ बजे बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिका–४स्थित मन्दिर जाने सडकमा ना ५ ख ६०६७ नं को बस पल्टेको हो । बसले थिचिएर पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३० जना घाइते छन् ।
गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पताल पुर्याइएको प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए । तिर्थयात्रु काठमाण्डौ भक्तपुर, ललितपुरका बासिन्दा हुन् । बसमा कति जना यात्रु थिए खुल्न सकेको छैन । काठमाडौंबाट रिर्जब गरेर आएको बस भए पनि वेनीबाट केही यात्रु थपिएकोले यकिन संख्या थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।
घटनास्थल पुगेर सेनाको ट्रकबाट मृतक, घाइते र सबै यात्रुको सामान सदरमुकाम जोमसोम ल्याइएको छ । ड्राइभर बिराज केसीको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरुले आरोप लगाएका छन् । ‘टायर नगुडीकन बस ओरालोमा घिस्रिरहेको थियो, ड्राइभरलाई हामीले टायरको गन्ध आयो भन्यौं, उसले टेरेन, बस एक्कासी पल्टियो,’ घाइते ५५ वर्षीय रामभक्त खड्काले कान्तिपुरसँग भने, हामीले भनेकै बेलामा ड्राइभरले बस रोकेको भए दुर्घटना हुन्थेन ।’ बसमा रहेका सबै मन्दिर दर्शन गर्न आएका तिर्थयात्रु रहेका उनले जानकारी दिए ।
बस दुर्घटना भएको स्थानमा ठूलो भीर छ । संयोगले भीरबाट बस खस्न पाएन । सडकमै पल्टिएको बसले चेपिएर र ठोक्किर मृत्यु तथा घाइते हुन पुगेका हुन् । सामान्य घाइतेलाई जिल्ला अस्पताल जोमसोममा उपचार गरिएको छ । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमि उत्तरमा पर्छ ।
जिल्ला अस्पताल जोमसोममा उपचार गराइरहेका घाइतेहरु