२०७४ वैशाख ७– काठमाडौंबाट बर्दिवासतर्फ आउँदै गरेको बोलेरो जिप बुधबार राति सिन्धुलीको कमलामाइ नगरपालिका २ को चियाबारीमाथि बीपी राजमार्गमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
ना १ ज ५४४४ नं बोलेरो दुर्घटनामा मृत्यु हुनेहरुमा धनुषा जिल्ला बालबखरका अन्दाजी वर्ष ३० का जयकुमार यादव र अन्दाजी २५ वर्षका सरोज मण्डल रहेको प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमध्ये घनुषा सपहीका २२ वर्षीय रामवरण मण्डललाई उपचारका लागि राजधानी पठाइएको छ भने चालकसहित अन्य तीन जनालाई महोत्तरीको बर्दिवासमा रहेको जनसेवा अस्पतालमा पठाइएको छ । सामान्य घाइते चारजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो सडकबाट करिब तीनसय मीटर तल खसेको छ । स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।