images
images

सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले हरायो

आइपिएल

२०७४ वैशाख ७ – भुवनेश्वर कुमारको अर्को प्रभावशाली बलिङका कारण सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको छ। हैदराबादले पहिलो इनिङमा ४ विकेटको क्षतिमा बनाएको १ सय ९१ रनलाई पछ्याउने क्रममा दिल्ली ५ विकेटको क्षतिमा १ सय ७६ रनमा खुम्चियो। यो नतिजासँगै हैदराबाद ६ मध्ये ४ खेल जितेर आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली ५ मध्ये तेस्रो खेल हारेर पनि चौथो स्थानमै छ।

आज हैदराबादलाई विजय दिलाउन दशौं आइपिएलको पहिलो खेल खेलिरहेका न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन र हैदराबाद रणजी ट्रफीका तीब्र बलर मोहम्मद सिराज दुवैले उत्कृष्ट प्रदर्शन गरे। बाँकी काम भुवनेश्वर कुमारले गरे। दशौं आइपिएलको ५ खेलमा १५ विकेट लिइसकेका भुवनेश्वर पहिलो पल्ट विकेट बिहिन बने। तर, उनले एउटा पनि छक्का नखाई ४ ओभरमा २९ रन मात्र खर्चे।

दिल्लीलाई जित दिलाउन युवा ब्याट्सम्यान सञ्जु सामसन, करुण नायर र श्रेयष एैयरले कडा मेहनत गरेका थिए। तर, अनुभवको कमीका कारण उनीहरु असफल रहे। प्रारम्भिक ब्याट्सम्यान सामसनले २ छक्का र ३ चौकाको सहयोगले ३३ बलमा ४२ रन बनाए। नायरले २३ बलमा ३३ र मध्यक्रममा एैयरले २ छक्का र ५ चौकाको सहयोगले ३० बलमा ४९ रन बनाउदै खेल तान्ने प्रयास गरेका थिए।

एञ्जेलो म्याथ्युसले २५ रन बनाए पनि खासै केही गर्न सकेनन्। सिराजले दिल्लीका दुई प्रभावशाली ब्याट्सम्यान साम बिलिङ्स (१३) र सामसनको विकेट लिए।

यसअघि हैदराबादका लागि विलियम्सनले ५ छक्काको सहयोगले ५१ बलमा ८९ रन बनाका थिए। कप्तान डेभिड वार्नर आइपिएलको पछिल्लो १७ खेलपछि पहिलो पल्ट दोहोरो अंक छुन नसकेको अवस्थामा विलियम्सनले ३३ बलमा अर्धसतक पुरा गर्दै बिस्फोटक सुरुवात गरेका थिए। उनले प्रारम्भिक ब्याट्सम्यान शिखर धवनसँग मिलेर ७० बलमा सतकीय साझेदारी गरेका थिए।

धवनले पनि ५० बलमा १ छक्का र ७ चौकाको सहयोगले ७० रन बनाएका थिए। वार्नर ४ रन बनाएर आउट भएको स्थितिमा यी दुवैले टिमलाई सम्हालेका थिए। विलियम्सनले पावरप्ले हटेपछि ३७ बलमा ७७ रन हिर्काएका थिए।

युवराज सिंहको २ सय टि–२० खेल रहेको यो खेलमा उनले खासै राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ३ रन बनाएर आउट भए। मोएसेस हेनरिकेसले अविजित १२ रन बनाए। खेलको म्यान अफ दि म्याच विलियम्सन घोषित भए।