images
images

मधेसवादी पाँच दलको एकता घोषणा आज

 

एकीकृत नयाँ दलको नाम ‘राष्ट्रिय जनता पार्टी’

एकीकृत पार्टीहरु : तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक

पार्टीको चिह्न र झन्डा ‘छाता’

२०७४ वैशाख ७ – मधेसी मोर्चामा आवद्ध सात मधेसवादी घटकमध्ये पाँच दलबीच एकता भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज अपराह्न राजधानीमा एकता घोषणा कार्यक्रम हुने उच्च स्रोतले बतायो ।

एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने छ । पार्टी अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरे । उनले स्थानीय चुनावको सक्रिय बहिष्कार गर्नेगरी तत्कालै आन्दोलनलाई गति दिने भन्दै अब एउटै शक्तिले राजनीतिक परिवर्तनको एजेन्डा उठाउने बताए । ‘हामी झन्डै दुई वर्षदेखि वार्ता र आन्दोलनमा सगसगै छौं, तर त्यसले ठोस परिणाम दिएन, अब यो एकीकृत पार्टीले निर्णायक आन्दोलन गरेर संविधानमा संशोधनको वातावरण बनाउने छ,’ ठाकुरले भने ।

एकता प्रक्रियामा सक्रियमध्ये एक नेता राजकिशोर यादवले बैठकपछि राति २ बजे कान्तिपुरसँग कुरा गर्दै बिहीबार अपराह्न पार्टी एकता घोषणा हुने पुष्टि गरे । आसन्न स्थानीय चुनावका लागि रातारात एकता हुन लागेको हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हामी अहिलेकै अवस्थामा चुनावमा जाँदैनौं, एकीकृत पार्टी तुरुन्तै आन्दोलनमा जान्छ, अस्ति मोर्चाको नामबाट घोषणा भएका कार्यक्रमलाई हामी निरन्तरता दिन्छौं ।’

नेपाल सद्भावना पार्टी अध्यक्ष अनीलकुमार झा बुधबार उपत्यका बाहिर भएकाले उनीसँग अरु नेताको कुराकानी हुन सकेन । बिहीबार सबेरै उनीसँग कुराकानी गरेर एकता टुंगो लगाउने, त्यसपछि एकता हुने दलको संख्या ६ पुग्ने यादवले बताए । एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन् । अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकको निर्णय छ । राजकिशोर यादवले राष्ट्रिय जनता पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ हुने बताए ।

मधेसवादी ६ दलका नेताहरुबीच बुधबार बिहानदेखि साँझसम्म चलेका शृंखलाबद्ध बैठकले तत्कालै एकीकरणसम्बन्धी दस्तावेज र विधानलाई अन्तिम रुप दिन सहमत भए पनि वरियता विवादका कारण निष्कर्षमा पुग्न सकेका थिएनन् । ठाकुरलाई सर्वमान्य नेता बनाएर केही मधेसवादी नेताबीच आफू अध्यक्ष हुने होडसमेत थियो, तर त्यसको निकास अध्यक्षमण्डल बनाएर उनीहरुले निकाले ।

एकता हुने दलमध्ये सद्भावना पार्टी २०४७ सालमा स्थापित भएको थियो । अरु घटक भने २०६४ सालमा स्थापित भएका थिए । विभाजनको १० वर्षभित्र अनेक उतारचढाव भोगेका उनीहरु एउटै पार्टी बनाउने निर्णयमा पुगेका हुन् । नेताहरुले यो एकीकरणलाई दलहरुको नभई आन्दोलनको एकीकरण भनी अथ्र्याएका छन् । एकीकरण गर्ने निर्णयमा पुगेका पार्टीहरुको संसदमा २२ सिट छ ।

रामसपा अध्यक्ष शरतसिंह भण्डारीको भैंसेपाटीस्थित निवासमा बुधबार अपराह्न महतो, भण्डारी र तमसपा अध्यक्ष महेन्द्र राय यादवबीच वरियता सल्टाउने बारे लामो बैठक चलेको थियो । भण्डारीले आन्दोलन र स्थानीय चुनावमध्ये जुन बाटोमा जानुपरे पनि जनताले एकीकृत पार्टीको उर्जा चाहिरहेको भन्दै वरिष्ठताको अल्झोमा नफस्न महतो र यादवलाई आग्रह गरेका थिए ।

तमसपा अध्यक्ष महेन्द्र राय यादवले कान्तिपुरसँग कुरा गर्दै तीन शीर्ष नेताबीच भैसेपाटीमा मधेसवादी ६ घटकको एकताबारे लामो छलफल भएको पुष्टि गरेका थिए । यता बिजुलीबजारस्थित तमलोपा मूख्यालयमा छ मधेसवादी दलबीच पार्टी एकता प्रक्रिया टुंग्याउन बुधबार दिनभर नेताहरुबीच गृहकार्य चलेको थियो ।