images
images

राष्ट्रपति भण्डारीको भ्रमण बारे भारतले भन्यो- सबैलाई समेट्ने नेपाल सरकारको पहलमा सहयोग हुने छ

२०७४ वैशाख ६– राष्ट्रपति विद्यादेवी भण्डारीले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको भोलिपल्ट भारतले नेपाल सरकारले वार्ताका माध्यमले समाजका सबै तह र तप्कालाईसंगै लिएर संविधान कार्यान्वयन प्रक्रियामा अगाडि बढ्न गरिरहेको प्रयासमा आफ्नो सहयोग रहने कुरालाई भारतीय राजनीतिक नेतृत्वले पुन: जोड दिएको बताएको छ ।

महत्वपूर्ण भेटघाटको बारेमा भारतीय विदेश मन्त्रालयले बुधबार एक वक्तव्य प्रकाशित गरेरे सो कुरा बताएको हो । नेपालको राजनीतिक घटनाक्रमको बारेमा सो विज्ञप्ति भनिएको छ, ‘नेपाल सरकारले समाजका सबै तह र तप्कालाईसंगै लिएर तथा वार्ताको माध्यमले संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्न गरिरहेको प्रयासमा समर्थन रहेको कुरामा राजनीतिक नेतृत्वले पुन: जोड दिएको छ ।’

भारतीय राष्ट्रपति प्रवण मुखर्जीले पनि राष्ट्रपति भण्डारीलाई यही सन्देश दिएका थिए । भण्डारी र मुखर्जीको बीचमा भएको ‘वान टु वान’ बैठकमा भने केही विशेष कुरा भएको स्रोत भनाइ रहेको छ । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन तथा चुनावका लागि भारतको सद्भाव चाहिने बताएकी थिइन् । भण्डारीले नेपालको संविधान समावेशी रहेको लामो व्याख्या समेत गरेकी थिइन् ।

विज्ञप्तिमा मधेसवादी दलहरुको माग र स्थानीय निकायको निर्वाचनको बारेमा केही पनि उल्लेख गरिएको छैन । त्यसैले भारतीय राजनीतिक नेतृत्वले शान्ति, स्थायित्व र सबै खालको विकासका लागि गरिरहेको पहलको लागि भारयीत नेतृत्वले सद्भाव व्यक्त गरेको समेत बताएको छ ।
विज्ञप्तिमा भारतीय नेतृत्वले ‘नेवरहुड फस्ट पोलिसी’को महत्वमा पुन: जोड दिएको उल्लेख गरिएको छ । त्यसैगरी सो विज्ञप्तिमा नेपाल भारतको उच्च प्राथमिकतामा रहेको उल्लेख गरिएको छ । सो विज्ञप्तिमा दुवै पक्षले अहिले भइरहेका दुईपक्षिय परियोजनाहरुको मुल्यांकन गरेको समेत उल्लेख गरिएको छ ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणले दुईपक्षिय सम्बन्धका बहुआयामिक क्षेत्रहरुको पुनरावलोकन र सम्बन्धलाई नयाँ उचाइमा लैजान दुवै पक्षको प्रतिवद्धताको लागि अवसर प्रदान गरेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

सो प्रेस विज्ञप्तिका अनुसार दुई देशको बीचको दुई देश जोड्ने परियोजना, पाइप लाइनको विस्तार, एकिकृत जाँच परियोजना, जलस्रोतका परियोजनाहरु, विद्युत व्यापार सम्झौता तथा प्रसारण लाइनहरुको विषयमा कुराकानी भएको उल्लेख गरिएको छ । सो विज्ञप्तिका अनुसार भारतीय राष्ट्रपतिले आफूलाई गरिएको न्यानो आतिथ्यताका लागि समकक्षीलाई धन्यवाद दिएका थिए ।

दिल्लीको राजनीतिक भेटघाट सकेर भण्डारी गुजरात र उडिसाको धार्मिक यात्रामा गएकी छिन् । आज द्वारका र सोमनाथ मन्दिरको भ्रमण तथा पुजा गर्ने कार्यक्रम रहेको छ । आजै गुजरातका मुख्यमन्त्रीले राजकोटमा राष्ट्रपति भण्डारीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

त्यसपछि भण्डारीले उडिसाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ राष्ट्रपतिले भुवनेश्वरको दर्शन गर्ने तथा महिला सशक्तिकरण सम्बन्धी परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उडिसाको गभर्नरले भोली बिहीबार भण्डारीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् ।