images
images

विराटको कप्तानीमा बेङ्लोरको पहिलो जित

आइपिएल

२०७४ वैशाख ६ – वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल चम्किँएको दिन गुजरात लायन्स आइपिएलको आफ्नो पाँचौ खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरसँग २१ रनले पराजित भएको छ।

गेलले टि–२० मा १० हजार रन पुरा गरेको दिन बेङ्लोरले पहिलो ब्याटिङ गर्ने क्रममा २ विकेटको क्षतिमा २ सय १३ रनको विशाल योगफल तयार पारेको थियो, जुन दशौं आइपिएलमा अहिलेसम्म कुनै टिमले बनाएको सर्वाधिक रन पनि हो।

प्रत्युत्तरमा ब्रान्डम म्याकुलमले ७ छक्का र २ चौकाको सहयोगले ४४ बलमा ७७ रन बनाउदै गुजरातलाई बिस्फोटक सुरुवात दिएका थिए। तर, उनी आउट हुने वित्तिकै गुजरातको ब्याटिङ सिथिल बन्न पुग्यो। पुछारमा इशान जयकिशनले ४ छक्का लगाउदै १६ बलमा ३९ रन बनाएर खेललाई केही नजिक ल्याउने प्रयास गरेका थिए। तर, उनी आउट हुने वित्तिकै खेल गुजरातले सुम्पिएको थियो।

उनी र रवीन्द्र जडेजाबीच रनको तालमेल मिल्न नसक्दा जडेजा २३ रनमा रन आउट भएका थिए। यी दुईले ३ ओभरमा २८ रनको साझेदारी गरेका थिए।

यसअघि गेलले ३८ बलमा ७ छक्का र ५ चौकको सहयोगले ७७ रन बनाए। उनले कप्तान विराट कोहलीसँग मिलेर ७६ बलमा १ सय २२ रनको साझेदारी गरेका थिए। कोहलीले ५० बलमा १ छक्का र ७ चौकाको सहयोगले ६४ रन बनाए। उनले आइपिएलमा सर्वाधिक रन बनाउने गुजरातका कप्तान सुरेश रैनालाई ३० रनले पछाडि छोडेका थिए। तर पछि रैनाले दोस्रो इनिङमा ८ बलमा २ छक्का र २ चौकाको सहयोगले २३ रन बनाए। उनी कोहलीभन्दा अब ७ रनले पछाडि छन्।

बेङ्लोरका लागि केदार जाधवले अविजित रहँदै १६ बलमा अविजित ३८ रन बनाए। ट्राभिस हेडले पनि अविजित ३० रन जोडेका थिए। बेङ्लोरका बलर यजुभेन्द्र चहल सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। यो जितपछि ६ खेल खेलेको बेङ्लोर सातौ स्थानमा उक्लिएको छ भने गुजरात पुछारमा पुगेको छ। म्यान अफ दि म्याच क्रिस गेल घोषित भए। विराटको कप्तानीमा यसपालि तेस्रो खेलमा बेङ्लोरले पहिलो जित हात पारेको हो। उनको कप्तानीमा यसअघि बेङ्लोरले २ खेल हारेको थियो।