च्याम्पियन्स लिग
२०७४ वैशाख ६ – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्धतले जर्मनीको बलियो क्लब वायर्न म्युनिखलाई समग्रमा ६–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।
अघिल्लो ५ खेलमा गोलबिहिन बनेका रोनाल्डोले म्युनिखविरुद्धको क्वाटरफाइनलमा एक्लैले ५ गोल गरेका छन्। उनले जर्मनीको एलियान्ज रंगशालामा भएको पहिलो लेगको खेलमा पनि म्याड्रिडलाई अग्रता दिलाउन २ गोल गरेका थिए। पहिलो लेगमा म्याड्रिड उनकै गोलका कारण २–१ ले विजयी भएको थियो।
बुधबार बिहान सम्पन्न दोस्रो लेगको निर्धारित ९० मिनेटको खेललाई म्युनिखले आफ्नो नियन्त्रणमा राख्यो। उसले निर्धारित समयको खेलमा २–१ गोलको अग्रता पनि बनायो। पहिलो र दोस्रो लेगको नतिजा ३–३ गोलको बराबरीमा टुँगिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।
आफ्नो प्रभावशाली मिडफिल्डर आर्टुरो भिडाललाई रेफ्रिको गलत निर्णयका कारण ८४ मिनेटमा गुमाउनु नै म्युनिखका लागि आजको खेलमा सबैभन्दा ठूलो घाटा भयो। उनको बर्हिगमनपछि घरेलु टोलीले म्युनिखमाथि दबाब बनाएको थियो।
आफ्नो घरेलु मैदानमा २–१ ले पछाडि परेर रियल म्याड्रिडको सान्टियागो बेर्नाबेउमा खेल्न आएको जर्मनी क्लबले निर्धारित ९० मिनेटसम्म सहासिक खेल प्रदर्शन गर्यो।
पहिलो खेल चोटका कारण गुमाएका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको आगमनले जर्मनी क्लबमा ठूलो हौसला बढेको प्रस्ट देखिन्थ्यो। फेरि चोटका कारण अनुपस्थित हुन सक्ने आशंका गरिएका डिफेन्डर माट हुमेल्स पनि आज मैदानमा उत्रिए।
लेवान्डोस्कीले आफ्नो नाम अनुरुप दोस्रो हाफको ९ मिनेटमा पेनाल्टीमार्फत म्युनिखलाई अग्रता दिलाएका थिए। खेलको ५४ मिनेटमा आर्जेन रोबेनलाई डिबक्सभित्र म्याड्रिडका कासिमेरोले लडाएपछि म्युनिखले पेनाल्टीको अवसर पाएको थियो।
तर, यसको २२ मिनेटपछि नै रोनाल्डो गोल फर्काउन सफल भए। उनले ७६ मिनेटमा कासिमेरोको लामो पासमा डिबक्स भित्र रहेका म्युनिख डिफेन्डर फिलिप लाहमलाई स्तब्ध पार्दे हेडिङ गोल गरे।
यसको २ मिनेटपछि म्याड्रिडका कप्तान सर्जियो रामोसको सानो गल्तीका कारण झन्डै घरेलु टोलीले ठूलो मूल्य चुकाउनु पर्यो। अन्य खेलमा विपक्षी गोल पोस्टमा हेडिङ गोल गर्दे आएका रामोसले आज आफ्नै गोल पोस्टमा ७८ मिनेटमा आत्मघाती गोल गरे। यसका कारण खेल अतिरिक्त समयमा लम्बिएको थियो।
यसअघि ८४ मिनेटमा चिलीका मिडफिल्डर भिडाललाई दूर्भाग्यपूर्ण रुपमा रेफ्रिले दोस्रो पहेँलो कार्ड देखाए। जसका कारण म्युनिख दोस्रो लेगको खेलमा पनि १० खेलाडीमा सिमित बन्न पुग्यो। पहिलो लेगमा जाभी मार्टिनेजले रातो कार्ड खाएका थिए।
अतिरिक्त समयमा म्याड्रिड दबाब बनाउन सफल भयो। तर, गोल भने फेरि विवादास्पद भयो। अतिरिक्त समयको पहिलो हाफको १२ मिनेटमा रोनाल्डोले नै गोल गरे। खेलको १ सय ४ मिनेटमा रामोसले डिबक्स भित्र उनलाई दिएको बल अफ थियो। तर, लाइन्सम्यानले झन्डा नउठाएपछि रोनाल्डोले सुरुमा छातीमा लिएर तल झारेको बललाई आफ्नो देब्रे खुट्टाले जाली चुमाएका थिए। अर्को गोल उनले १ सय ९ मिनेटमा गरे। म्युनिखका सबै खेलाडी गोल फर्काउन तल्लिन रहेको अवस्थामा मार्सेलोले दौडाउदै ल्याएर दिएको पासमा रोनाल्डोले गोल गरे। यतिबेला मार्सेलो आफै गोल हान्न सक्थे। तर, उनले अर्को छेउमा गोल गर्न तल्लिन रहेका रोनाल्डोलाई पास दिँदै ह्याट्रिकको अवसर जुराइदिए।
अतिरिक्त समयमा २ गोलले थला परेको म्युनिखविरुद्ध चौथो गोल एसेन्सियोले १ सय १२ मिनेटमा गरे। अन्त्यमा खेल ४–२ गोलमा टुँगियो। अतिरिक्त समयमा रियलले ३ गोल थप्यो।