२०७४ वैशाख ५ – पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमिति नजिकै मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको बसौटी ५ का बसन्त विक र मिना विक रहेका छन् । मोटरसाइकलमा सवार उनीहरु श्रीमान्, श्रीमती हुन् ।
धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ३ ख ३९५५ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको से १ प ४५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बसन्तको घटनास्थलमै र मिनाको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साउदले बताए ।
‘उनीहरु दुवैजना पूर्णागिरि दर्शन गरेर घर फर्किंदै गरेको अवस्थामा दुर्घटना भएको हो’ प्रहरी निरीक्षक साउदले भने, ‘बस पनि पूर्णागिरि जान लागेका यात्रु बोकेकै हो ।’ उनले बस प्रहरी नियन्त्रणमा भए पनि चालक सम्पर्कमा नआएको बताए ।
बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्थानीयले पनि ओभरटेक गर्दा नै दुर्घटना भएको जानकारी दिएको साउदले बताए ।