images
images

काठमाण्डौमा पुनःस्वाइनफ्लु

२०७४ वैशाख ५ – टेकूस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा पुनः स्वाइनफ्लु (इन्फुएञ्जा ए एचवन एनवन) देखिएको छ ।  गत महिना चैत ११ गते अस्पतालमा ज्वरो आई भर्ना भएका ४० वर्षीयलाई स्वाइनफ्लु पुष्टि भएको हो ।
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गत फागुनमा एक जना बिरामीमा देखिएको स्वाइनफ्लु चैतमा भर्ना भएका अर्को बिरामीलाई पनि देखिएको जानकारी दिनुभयो ।
“चैत दोस्रो साता ज्वरो तथा छाती दुखेर अस्पताल भर्ना भएका एक जना बिरामीको परीक्षणपछि स्वाइनफ्लु भएको पुष्टि भएको हो,” डा. पुनले भन्नुभयो, “स्वाइनफ्लु सरुवा रोग भएकाले एक–अर्कालाई सर्न सक्छ, त्यसैले सतर्कता अपनाउनुपर्छ । ”
यसअघि फागुनमा ज्वरो आएर अस्पताल पुग्नुभएका ५२ वर्षीय पुरुषमा पनि स्वाइनफ्लुको भाइरस भएको पुष्टि भएको थियो ।  सरुवा रोग विशेषज्ञ डा. पुनले भारतको महाराष्ट्रमा क्यालिफोर्निया स्ट्रेन नामको स्वाइनफ्लु देखिएको भन्दै उक्त फ्लु नेपाल भित्रिए खतरा हुनसक्ने जानकारी पनि दिनुभयो ।  भारतमा सन् २०१६ अप्रिलदेखि नै भित्रिएको क्यालिफोर्निया स्ट्रेन नामक स्वाइनफ्लु धेरै कडा मानिन्छ भन्दै डा. पुनले थप्नुभयो, “नेपालमा त्यही रूपको स्वाइनफ्लु देखा परे धेरै समस्या हुनसक्छ । ” छिमेकी भारतमा क्यालिफोर्निया स्ट्रेन नामक फ्लु देखा परेकाले नेपालमा पनि सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।
“मौसमअनुसार स्वाइनफ्लुको खतरा हुन्छ,” पुनले भन्नुभयो, “भारतमा अहिले नयाँ प्रजातिको स्वाइनफ्लु फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको छ ।  स्वाइनफ्लु हावाको माध्यमबाट छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले सचेत रहनुपर्ने डा. पुनको भनाइ छ ।
वरिष्ठ फिजिसियन डा. शशी शर्माले निरन्तर खोकी लागिरहने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने, घाँटी दुख्ने वा खस्खसाउने, १०–१५ दिनसम्म कडा ज्वरो आउने, पखाला लाग्ने भएमा स्वाइनफ्लु भएको हुनसक्ने जानकारी दिनुभयो ।  डा. शर्माले स्वाइनफ्लु सरुवा रोग भएकाले सार्वजनिक ठाउँमा मास्क प्रयोग गर्ने, खोक्दा रुमालले मुख छोप्ने, साबुनपानीले हातमुख धुने तथा झोलिलो खानेकुरा खानुका साथै स्वाइनफ्लु शङ्का लागेमा तत्काल चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउनुपर्ने बताउनुभयो ।