प्रिमियर लिग
२०७४ वैशाख ४ – जोसे माउरिन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीलाई २–० ले पराजित गरेको छ। ओल्ड ट्राफोडमा आइतबार राती केही समय अगाडि सम्पन्न खेलमा म्यानचेस्टरका लागि मार्कुस रासफोर्ड र एन्डर हेरेराले निर्णायक गोल गरेका थिए।
चेल्सीको प्रशिक्षक हुँदा प्रिमियर लिगको उपाधि ३ पल्ट जिताएका माउरिन्होले आज आफ्नो पुरानो क्लबलाई पराजित गरेपछि उपाधिको होड खुला भएको छ। यसअघि चेल्सी ८ अंकले अगाडि थियो। तर, आजको पराजयले दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा ५ अंकले मात्र चेल्सी अगाडि रहन पुगेको छ ।
आफ्नो स्टार खेलाडी जाल्टन इब्राहिमोभिकलाई विश्राम दिएको यस खेलमा म्यानचेस्टरका लागि रासफोर्डले ७ मिनेटमा गोल गरेका थिए। अर्को गोल हेरेराले ४९ मिनेटमा गरे। जितसँगै म्यानचेस्टर पाँचौ स्थानमा उक्लिएको छ।
लिभरपुलले आइतबार राती नै भएको अर्को खेलमा वेष्ट ब्रुमलाई १–० ले हरायो। लिभरपुलका लागि रोबेर्टो फिर्मिनोले ४५ पछि थप गरिएको अतिरिक्त समयको १ मिनेट भित्र निर्णायक गोल गरेका थिए। उनको यो सिजन लिगको ११ औं गोल हो। जितसँगै लिभरपुल म्यानचेस्टर सिटीलाई एक स्थान तल झार्दै तेस्रो स्थानमा उक्लिएको छ। तर, उसले सिटीभन्दा १ खेल ज्यादा खेलेको छ।
लिगको शीर्ष स्थानमा रहेको चेल्सीको ३२ खेलमा ७५ अंक छ। यति नै खेल खेलेको टोटेनहामको ७१ अंक छ र चेल्सीभन्दा ४ अंकले पछाडि छ। तेस्रो स्थानमा रहेको लिभरपुल ३३ खेल खेल्दै ६६ अंकमा छ। चौथो स्थानमा रहेको सिटीको ३२ खेलमा ६४ अंक छ र पाचौ स्थानमा उक्लिएको युनाइटेडको यति नै खेलमा ६० अंक छ ।