२०७४ वैशाख ३ – सौतेनी आमाले छोरालाई मारेर सेफ्टी ट्यांकीमा फालेको अवस्थामा शव भेटिएको छ। जनकपुर उपमहानगरपालिका १४ मुजेलिया निवासी श्रीप्रसाद राउतका ६ बर्षीया छोरा केशर राउत शनिवार घरको शौचालयको सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेपछि विभत्स हत्याको रहस्य खुलेको हो ।
चैत्र ३१ गते बिहानैदेखि हराइरहेका केशरको शव प्रहरीले घरकै सेफ्टी ट्यांकीबाट कुहिएको अवस्थामा निकालेको हो । बालकको शरीरमा धेरै निलडाम रहेकाले हत्याअघि निर्मम कुटपिट भएको अनुमान प्रहरीको छ ।
केशर हराएको दुई दिनपछि पनि फेला नपरेपछि उनका पिता श्रीप्रसादले शनिवार दिउँसो प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाए लगत्तै पिता श्रीप्रसादसँग सोधपुछ गर्दा उनले घरमा कान्छी श्रीमती रिनादेवी मण्डल मात्र रहेको बेला छोरो हराएको खुलेको थियो ।
उनको वयानपछि प्रहरीले परिवारकै सदस्यमाथि अनुसन्धान सुरु गरेको थियो । धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार रिनासँगको सोधपुछपछि हत्याको रहस्य सार्वजनिक भएको हो ।
‘हामीले रिनालाई पनि सोधपुछ गर्यौँ, उनले खेतमा गएको बेला केशर हराएको बताइन्’ आचार्यले भने, ‘तर, श्रीमान् श्रीमतीको कुरामा फरक आएपछि शंका अझ बढेर घरमै अनुसन्धान केन्द्रीत गर्यौँ ।’
अनुसन्धानका क्रममा प्रहरीले शौचालयको ट्यांकीमाथि फोहोर कपडा भेटेको थियो । उक्त कपडा हटाएर हेर्दा ट्यांकीमाथि प्लास्टरको प्रयास भएको देखिएपछि प्रहरीले त्यसलाई फुटाएको थियो । ढक्कन फुटाएर हेर्दा शव भेटिएको आचार्यले जानकारी दिए ।
प्रहरीले ट्यांकीबाट सडको अवस्थामा बालकको शव निकालेको हो । आचार्यले भने, ‘बालकको शव घरमै भेटिएपछि सौतेनी आमा रीनादेवी मण्डल, पिता श्रीप्रसाद साहलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएका छौँ ।’
प्रहरीसँगको बयानमा आमा रीनाले आफूले नै छोराको हत्या गरेको स्वीकार गरेकी छिन्। २७ वर्षीय रिना आफूपनि दुई सन्तानकी आमा हुन् । रिनाले प्रहरीलाई दिएको वयानमा हत्या गरेको दिन केशर आफ्नोे छोरा सुतिरहेको ओछ्यानमा गएर बसेको र त्यहाँ आफ्नो छोरालाई कुटपिट गरेपछि आफूले रिसाएर पहिला एक झापड हानेको बताएकी छिन् ।
झापड हान्दा ओछ्यानबाट तल खसेका केशर रुन थालेपछि रिसले उनलाई भूइँमा बजारेर घाँटी थिचेर हत्या गरेको रिनाले स्वीकार गरेकी छिन्।
घरमा कोही नभएको बेला केशरलाई मारेपछि उनको शवलाई लुकाउन सेफ्टी ट्यांकीमा हालेको र कसैले शंका नगरोस् त्यसका लागि सेतो सिमेन्टले प्लास्टर गरेको रिनाले बताएकी छिन् ।
रीनाले हत्या स्वीकार गरेपनि प्रहरीले थप अनुसन्धानलाई निरन्तरता आरोपीहरुको पोलिग्राफ टेस्टको तयारी सुरु गरेको छ । हत्यामा संलग्नका आरोपित श्रीप्रसाद र रीनामाथि कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
मृतक केशरका बुवा अटोरिक्सा चालक श्रीप्रसादले पाँचवटा विहे गरेको पनि बताइएको छ । रिना उनको चौथो श्रीमती हुन् । केशर तीन महिनाको हुंदा उनकी आमा चंचलाले छाडेर अर्कै पुरुषसँग विहे गरेपछि श्रीप्रसादले रीनालाई भित्र्याएका थिए । केशरलाई उनका हजुरबुवा देवनारायण राउत र हजुरआमा सुुनिन्द्रा राउतले पालनपोषण गरेका थिए ।