images
images

बिस्केट जात्रामा ११ घाईते ढुङ्गा हान्ने आठजना पक्राउ

२०७३ चैत्र ३१– भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक बिस्केट जात्रामा भैरवनाथको रथ तान्ने क्रममा ढुङ्गा हान्ने, सीसी क्यामरा फुटाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वंशगोपालका ३२ वर्षीय सुमन शिल्पकार, दूधपाटीका २४ वर्षीय सुमन सिन्तकला, तौमढीका २१ वर्षीय रमेश घुसाकी, तौमढीकै १८ वर्षीय उमङ्ग मुनकर्मी, २३ वर्षीय राजन भेले, त्रिपुरासुन्दरीका २५ वर्षीय सुरेन्द्र देशेमरु, इताछेंका ३० वर्षीय न्हुच्छेराम खर्बुजा र तौमढीका ५० वर्षीय सीताराम सुवाल छन् ।

उनीहरुलाई सीसी क्यामराको सहायताबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले बताए । पक्राउ परेकालाई सार्वजनिक मुद्दा चलाइने छ । यसअघि पक्राउ परेका पाँच जनाविरुद्ध कारबाही प्रक्रिया थालिसकेको प्रहरीले बताएको छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्ने क्रममा मध्यरातीसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका थिए ।