नयाँ संशोधन विधेयक पुरानोभन्दा पछाडि फर्केको निष्कर्ष
२०७३ चैत्र ३०– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसिरहेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ । सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरिएको तमलोपा सहमहामन्त्री सुरेन्द्र झाले इकान्तिपुरलाई बताए । र, आजैको बैठकले निर्वाचन बहिष्कार गर्ने लगायत आन्दोलन समेत घोषणा गर्ने मोर्चाको तयारी छ ।
आजको बैठकमा सात घटक मधेसवादीमध्ये ६ दलका अध्यक्ष सहभागी छन् । राष्ट्रिय मधेय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने उपत्यका बाहिर छन् ।
मोर्चा बैठक सकिनेबित्तिकै संघीय गठबन्धनको बैठक बस्नेछ । बैठक संघीय समाजवादी फोरमको कार्यालय तीनकुनमा बस्नेछ । मोर्चाको बैठक भने केहीबेरमा सकिँदैछ ।