च्याम्पियन्स लिग
२०७३ चैत्र ३० – जर्मनी क्लब बोरुसिया डर्टमुन्डको गाडीमा तीनवटा बिस्फोटक पदार्थले हमला भएपछि युरोपेली फुटबल महासंघले मंगलबार राती हुने तय भएको च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया र मोनाकोबीचको खेल अर्को दिनको लागि स्थगित गरेको छ।
आफ्नै घरेलु मैदान सिङ्गल इडुना पार्कमा हुन लागेको पहिलो लेगको खेल खेल्न गाडीमा आउदै गर्दा जर्मनी क्लबका खेलाडीमाथि हमला भएको थियो। जसमा सेन्टर–ब्याक मार्क बार्टालाई चोट लागेको क्लबले बताएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
बार्टा गत सिजन बार्सिलोना छोडेर जर्मनी क्लबमा आवद्ध भएका थिए। २६ वर्षीय यी खेलाडी ला मासियाकै उत्पादन हुन्।
यसअघि खेल हेर्न रंगशालामा समर्थकको घुँइचो लागिसकेको थियो। बिस्फोटनमा परेर बोरुसियाको गाडीको सिसा फुटेको थियो।