आइपिएल
२०७३ चैत्र २८ – हारको मुखमा पुगेको मुम्बई इन्डियन्सलाई नाटकीय खेलमा हार्दिक पाण्डेया र नितेश रानाले जित दिलाएका छन्। राइजिङ पूणे सुपरजाइन्ट्ससँग पहिलो खेलमा पराजय भोगिसकेको मुम्बईले आफ्नो घरेलु मैदानमा १ बल खेल्न बाँकी रहँदै कोलकाता नाइटराइडर्स (केकेआर) लाई ४ विकेटले पराजित गर्यो।
जितका लागि १ सय ७९ रनको लक्ष्य राखेको केकेआरका बलरले सुरुमा मुम्बईका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए। अम्पायरको गलत निर्णयका कारण कप्तान रोहित शर्मा २ रनमा आउट भएपछि मुम्बई निकै दबाबमा देखिन्थ्यो।
तर, सुरुमा ढिलो ब्याटिङ गरेका नितेशले अन्तिम ५ ओभरमा आफ्नो विस्फोटक छवी देखाएपछि मुम्बईले आइतबार राती आइपिएलमा पहिलो जित दर्ता गरायो। मुम्बईलाई जितका लागि अन्तिम ५ ओभरमा ६० रन आवश्यक थियो। यस्तो अवस्थामा नितेशले २ छक्का र ३ चौका प्रहार गर्दै खेललाई जिततर्फ डोर्याएका थिए। उनी आउट भएपछि मुम्बईलाई जितका लागि ९ बलमा १९ रन आवश्यक थियो। जुन हार्दिक पाण्ड्याले १ छक्का र २ चौका प्रहार गर्दै पुरा गरे। अन्तिम ओभरमा पाण्ड्याको क्याच पनि छुटेको थियो।
नितेशले ३ छक्का र ५ चौकाको सहयोगले २९ बलमा ५० रन बनाए। उनी नै खेलको म्यान अफ दि म्याच पनि घोषित भए। पाण्ड्याले अविजित रहदै २ छक्का र ३ चौकाको सहयोगले ११ बलमा २९ रन बनाए। उनी अविजित रहे। उनले ट्रेन्ट बोल्टको अन्तिम ओभरमा २ चौका प्रहार गरेका थिए।
यसअघि मनिष पाण्डेको ८१ रनको सहयोगले केकेआरले ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो। पाण्डेले ५ छक्का र ५ चौकाको सहयोगले ४७ बलमा ८१ रन बनाएका थिए।