images
images

उखान टुक्काले देश बन्ने भए कलाकारलाई पार्टीको अध्यक्ष बनाए भयो : देउवा

‘एमाले मधेस पहाड फुटाउने षड्यन्त्रमा लागेकाे छ’

२०७३ चैत्र २७ – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दल एमाले हिमाल पहाड र मधेलाई फुटाउने षड्यन्त्रमा लागेको गम्भीर आरोप लगाएका छन् ।

सुदूरपश्चिमको प्रमुख प्रवेशद्वार अत्तरीयाबाट नेपाली कांग्रेसले सुरु गरेको देशव्यापी चुनावी आमसभालाइ सम्बोधन गर्दै देउवाले उक्त आरोप लगाएका हुन् ।

‘एमाले जस्तो जिम्मेवार पार्टीले देशका विभिन्न जातजाती र भाषाभाषीलाई फुटाउन खोजेको छ,’ देउवाले भने, ‘हिमाल र पहाडले मात्र देश बन्दैन र मधेसलाई छोडेर पनि देश बन्न सक्दैन ।’ देश निर्माणमा देशका सबै जातजाती र भाषभाषीको उत्तिकै योगदान रहेको बताउँदै देउवाले भने, ‘राजनीतिका नाममा एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण हो ।’

आमसभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्षी नेता केपी ओलीको नाम नै लिएर भने, ‘उखान टुक्काले देश बन्ने भए कलाकारलाई पार्टीको अध्यक्ष बनाए भयो । ओलीभन्दा राम्रा कलाकार देशमा धेरै छन्,’ देउवाले आक्रामक हुँदै भने, ‘देश बनाउन जिम्मेवार हुनुपर्छ कलाकार होइन ।’

नेपाली कांग्रेसलाई दुनियाँले पत्याएको बताउँदै देउवाले भने, ‘विदेशबाट सहयोग हामिले ल्याउने अनि बाँड्ने एमाले ?’ उनले नेपाली कांग्रेसलाई निर्वाचनमा जिताए वृद्ध भत्ता, असहाय भत्ता, विधवा भत्ता र सबैखाले सामाजिक भत्ता दोब्बर बनाउने वचन समेत दिए ।

‘कांग्रेसलाई जिताउनुहोस् भत्ता दोब्बर हुन्छ,’ उनले भने । नेपाली कांग्रेसले नै देशमा विकासको गति दिएको र अझै पनि कांग्रेसले नै विकास गर्ने उनले दाबी गरे ।

‘सुदूरपश्चिममा पनि थारु र पहाडीबीच द्वन्द्व निम्त्याउने काम भइरहेको छ,’ देउवाले भने, ‘जंगबहादुरले पैसाको सट्टा अंग्रेजसंग नयाँ मुलुकको भूमि मागेको हो यो सबैको हो सबैले मिलेर बस्नुको अर्को कुनै उपाय नै छैन ।’

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले प्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । ‘एमाले प्रतिपक्षीको भुमिकाभन्दा देशमा द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको छ,’ उनले भने ।
नेपाली कांग्रेसले पार्टी भित्रको गुटबन्दीका कारण जहिले पनि चुनावमा हार्ने गरेको भन्दै नेता पौडेलले भने, ‘गुटबन्दी छोडेर सबैले निर्वाचनमा एक हुने हो भने कांग्रेसलाई कसैले पनि हराउन सक्दैन् ।

सभामा महामन्त्री सशांक कोइरालाले पार्टीले जसलाई टिकट दिन्छ त्यसका पछि सबैले लाग्नुपर्ने बताए । ‘पार्टीका उम्मेदवारका विरुद्ध जाने जोसुकैलाई पनि ठाउँको ठाउँ कारवाही हुन्छ,’ कोइरालालाले भने, ‘अब कांग्रेसमा गुटबन्दीको जमाना गइसकेको छ ।’

कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले देश संकटमा परेका बेला जहिले पनि नेपाली कांग्रेसले नेतृत्व लिएको र अहिले पनि देश संकटमा भएकाले कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

सभालाई नेपाली कांग्रेसका नेताहरु एनपी साउद लगायत दर्जन बढी नेताले सम्बोधन गरेका थिए ।