२०७३ चैत्र २७ – सशक्त प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा रोक्दै डिफेन्डिङ च्याम्पियन झापा ११ ले तेस्रो आमन्त्रण माईभ्याली गोल्डकपको उपाधि रक्षा गरेको छ । शनिबार फाइनलमा निर्धारित र थप समय गोलरहित बनेपछि झापाले टाइब्रेकरमा ४–२ को नतिजा निकालेको थियो ।
टाइब्रेकरमा झापाका रजिन धिमाल, बुद्ध चेम्जोङ, रञ्जित श्रेष्ठ र कर्ण लिम्बूले गोल गरेका थिए । आर्मीका जितेन्द्र कार्की र दीप लामाको पेनाल्टी झापाली गोलरक्षक किशोर गिरीले बचाएपछि यो सिजन चौथो उपाधि जित्ने आर्मीको लक्ष्य तुषारापात भयो । आर्मीका सन्तोष तामाङ र जर्ज प्रिन्स कार्कीले मात्र गोल गरे । च्याम्पियन झापाले ४ लाख र आर्मीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।
यो झापाको यस सिजन दोस्रो उपाधि हो । काँकडभिट्टा गोल्डकपबाहेक झापाले कुनै उपाधि जितेको थिएन । आर्मीविरुद्ध अधिकांशमा हार बेहोरेको झापाले छिमेकी जिल्लाको उपाधिमा भने आर्मीलाई पछि पार्यो ।
आहा–रारा गोल्डकपमा आर्मीले झापाको चुनौती समाप्त पारेको थियो । यसअघि झापा होम एन्ड अवे राष्ट्रिय लिगमा दुवैपल्ट आर्मीसँग स्तब्ध बनेको थियो । यो सिजन नवौं फाइनल भिडन्तका क्रममा आर्मीले यसअघि चितवनको नेपाल कप, हेटौंडाको सुमन भोम्जन स्मृति कप र मोरङको दुहबी गोल्डकप जितेको छ ।
शनिबार निर्धारित समयमा दुवै टिमले पाएका अवसर सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका टंक बस्नेतको क्रसमा दीप लामाको प्रहार पोलमा ठोक्कियो । रिबाउन्समा भरत खवासले बललाई पोस्टको दिशा दिन नसक्दा आर्मी उपाधिबाट चुक्यो । झापाका कर्णले पनि पेनाल्टी क्षेत्रमा वान भर्सेज वानमा पाएको अवसरमा गोल गर्न सकेनन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित आर्मीका विवेक बस्नेतले यामाहा मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट गोलरक्षक, डिफेन्स र प्रशिक्षक झापाका क्रमश: किशोर गिरी, दिलेन लोक्ताम र सञ्जय राई घोषित भए । उत्कृष्ट मिडफिल्ड र फरवार्ड आर्मीका सन्तोष तामाङ र टंक बस्नेत भए । उनीहरू सबैले जनही ७ हजार रुपैंयाँ पुरस्कार पाए । उदीयमान खेलाडी आयोजक माईभ्याली फुटबल क्लबका अविनाश लिम्बू भए । म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ भए भने सर्वाधिक गोलकर्ता पुलिस क्लबका अभिषेक रिजाल भए । अभिषेकले २५ हजार रुपैयाँ पाए ।