२०७३ चैत्र २७ – ककनी गाउँपालिका-४ हाकुलेमा बा४ख ४२५१ नम्बरको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
आइतबार बिहान पौने तीनबजे भएको दुर्घटनामा मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका-२ कुमरीका २७ वर्षीय सुदन न्यौपाने र वडा १ का २४ वर्षीय मछिन्द्र पुडासैनीको रहेको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए । न्यौपाने साहु हुन् भने पुडासैनी चालक ।
घाइते हुनेमा बेलकोटगढी नगरपालिका-२ कुमरीका २७ वर्षीय श्रीकृष्ण न्यौपाने र २५ वर्षीय राममणि न्यौपाने छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ ।
मिनिट्रक पासाङ ल्हामु मार्गको त्रिशूली-काठमाडौ सडक खण्डमा पर्ने बेलकोटबाट कुखुरा लिएर काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा हाकुलेमा सडक विस्तारको क्रममा फालिएको पुरुवा माटोमा गाडी भासिएर खसेको जानकारी दिए पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट दुईसय मिटर तल खसेको छ ।