images
images

दिल्ली १५ रनले रोयल च्यालेञ्जर्स बेङलोरसँग पराजित

आइपिएल

२०७३ चैत्र २७ – ४ छक्का र ३ चौकाको सहयोगले ३६ बलमा ५७ रन बनाए पनि दिल्लीका १९ वर्षीय ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो टोलीलाई विजय दिलाउन सकेनन्। जसका कारण दिल्ली १५ रनले रोयल च्यालेञ्जर्स बेङलोरसँग पराजित भएको छ।

बेङलोरले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली डेयरडेभिल्सको सुरुवात राम्रो हुन सकेन्। ७ दशमलव ३ ओभरमा ५५ रन जोड्ने क्रममा ३ विकेट गुमाएपछि पन्त ब्याटिङका लागि क्रिजमा उत्रिएका थिए।

उनले पहिलो बलमै छक्का लगाएर इनिङको सुरुवात बिस्फोटक तरिकाले गरेका थिए। तर, दोस्रो इन्डमा उनलाई सहयोग गर्ने कोही ब्याट्सम्यान देखिएनन्। एक इन्डबाट विकेट झरिरहेको अवस्थामा १९ दशमलव १ ओभरसम्म ब्याटिङ गरेर उनले जितलाई नजिक्याउने प्रयास गरेका थिए। तर, उनी पवन नेगीको बलमा बोल्ड भएपछि दिल्लीले जितको आशा छोडेको थियो।

आफ्नो नियमित कप्तान विराट कोहली, उपकप्तान एबी डीभिलियर्स र प्रारम्भिक ब्याट्सम्यान केएल राहुलको अनुपस्थितिमा सेन वाट्सनको नेतृत्वमा उत्रिएको बेङ्लोरको यो पहिलो जित थियो।

बेङ्लोरले पहिलो खेल हैदराबादसँग हारिसकेको अवस्थामा आजको खेल निकै महत्वपूर्ण थियो। टस जितेर पहिलो ब्याटिङ गरेको बेङ्लोरको पनि सुरुवात राम्रो हुन सकेन्। तर, केदार जाधवको बिस्फोटक ६९ रनमा बेङ्लोरले ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो। जाधवले मध्यक्रममा ५ छक्का र ५ चौकाको सहयोगले ३७ बलमा अर्धसतकीय इनिङ खेलेका थिए। आरसिबीले ५५ रनमा ३ विकेट गुमाएको अवस्थामा उनले इनिङ सम्हालेका थिए।

दिल्लीका कप्तान जाहिर खान र क्रिस मोरिसले प्रभावशाली बलिङ गरेका थिए। मोरिसले २१ रन मात्र खर्चिएर ३ विकेट लिए। जाहिरले ३१ रन खर्चेर २ विकेट लिए।

दिल्लीको इनिङमा कुनै विकेटमा ठोस साझेदारी नबन्नु हारको प्रमुख कारण बन्यो। वाटसनले अन्तिम १९ ओभरमा २ रन मात्र खर्चिएका थिए। जसका कारण दिल्ली दबाबमा परेको थियो। अमित मिश्राले वाटसनको अन्तिम ओभरमा ४ बल डट खेलेका थिए। दिल्लीले ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनायो।

अन्तिम १ ओभर फ्याक्न उत्रिएका नेगीले ३ रन खर्चेर २ विकेट लिए। म्यान अफ दि म्याच केदार जाधवलाई घोषित गरियो।