२०७३ चैत्र २७ – एट्लेटिको म्याड्रिडले १–१ को बराबरीमा रियल म्याड्रिडलाई उसैको घरमा रोकेको अवस्थामा आइतबार बिहान लिगको १५ औं स्थानमा रहेको मालागालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने ठूलो अवसर थियो, बार्सिलोनाका लागि।
तर, मालागाका डिफेन्डर, विशेष त गोलरक्षक कार्लोस कामेनीको उत्कृष्ट खेल प्रदर्शनका कारण बार्सिलोनाले २–० अप्रत्यासित पराजयको नतिजा भोग्नु परेको छ।
गत नोभेम्बरमा क्याम्प नोउमा खेलिएको खेलमा मालागा ९ खेलाडीमा सिमित रहँदा पनि बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।
तर, मालागामा भएको खेलमा बार्सिलोनाले ६५ मिनेटमा स्टार स्ट्राइकर नेइमारलाई दुई पहेँलो कार्डका कारण गुमाउनु परेपछि दुई गोल खान पुग्यो।
आउँदो मंगलबार च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत युभेन्ट्सविरुद्ध हुन लागेको पहिलो लेगको पूर्व सन्ध्यामा मालागाबाट भोगेको पराजयपछि मेसीले ट्विट गरेका छन्, ‘कहिले काही हामीले हार पनि स्विकार्ने पर्ने हुन्छ, जित सधै सम्भव छैन।’
मालागालाई जितेको भए बार्सिलोनाले अंक तालिकामा रियल म्याड्रिडलाई ७२ अंकको बराबरीमा राख्ने थियो। र, धेरै गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिने पक्का थियो। तर, बार्सिलोनाको यो अभियानलाई क्यामरुनका गोलरक्षक कामेनीले सफल हुन दिएनन्।
उनले ला लिगाको पछिल्लो १८ खेलमा कुनै न कुनै रुपले १६ गोल गरेका बार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारलाई गोल गर्नबाट बञ्चित तुल्याए।
सुआरेजले खेलको ५ मिनेटमै मालागाको गोल पोस्टको दोस्रो बार च्यापेर कडा प्रहार गरेका थिए। तर कामेनीले यसलाई गोलमा परिणत हुन दिएनन्। सुआरेजको १६ मिनेटको अर्को प्रहारलाई पनि कामेनीले उत्तिकै उत्कृष्ट बचाउ गरेका थिए।
पहिलो गोलको खोजीमा रहेको बार्सिलोनाका लागि डिफेन्डर पनि आक्रमणको धारलाई तीब्र बनाउन अगाडि बढेको अवस्थाको फाइदा लिए, ३२ मिनेटमा घरेलु टोलीका स्ट्राइकर सान्ड्रो रामिरेजले। उनले काउन्टर एट्याकमार्फत पहिलो गोल गरे। गत वर्ष मात्र बार्सिलोनाबाट ३ वर्षका लागि मालागामा अनुबन्धित भएका स्पेनिस स्ट्राइकरले भ्रमणकारी टोलीको फितलो रक्षापंक्तिको फाइदा उठाउदै गोल गरे।
दोस्रो हाफमा पनि गोलको खोजीमा रहेका बार्सिलोनाका खेलाडीहरु केही उत्तेजित बन्दा खेलमा त्यसको प्रभाव नकरात्मक बन्न पुगेको थियो। यस्तै अवस्थामा नेइमार रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना अन्तिम २५ मिनेट १० खेलाडीमा सिमिति भएको थियो।
बार्सिलोनाले ९० मिनेटमा आफ्ना डिफेन्डरहरु पुनः अगाडि बढेको अवस्थामा अर्को गोल खाएको थियो। दोस्रो गोल रोड्रिगेज मेनेन्डेजले गरेका थिए।
बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगको खेल खेल्न मंगलबार इटाली जानेछ। आउँदो शनिवार उसले ला लिगाअन्तर्गत रियल सोसिडाडविरुद्ध खेल्नेछ ।