images
images

७ विकेटले हरायो पूणेले मुम्बईलाई

 

आइपिएल

२०७३ चैत्र २५ – स्टिभन स्मिथको कप्तानी इनिङका कारण राइजिङ पूणे सुपरजायन्ट्सले आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ।

मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी रहँदा पूणेले पुरा गर्यो। जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले किरोन पोलार्डको चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै पूर्णलाई जित दिलाए। भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पदस्थापन गरेर यसपालि स्मिथलाई कप्तानी दिइएको थियो। उनले ५४ बलमा ३ छक्का र ७ चौकाको सहयोगले अविजित ८४ रन बनाए ।

उनले अजिङ्क रहाणेसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी पनि गरेका थिए। रहाणेले ६० रन बनाए। पूर्व कप्तान धोनी १२ बलमा १२ रन बनाएर अविजित रहे।

यसअघि हार्दिक पाण्ड्याले अशोक डिन्डाको अन्तिम ओभरमा ४ छक्का र १ चौका प्रहार गरेपछि मुम्बई इन्डियन्सले पहिलो इनिङमा ९ विकेट गुमाउदै १ सय ८४ रन बनाएको थियो।

पहिलो ब्याटिङ गरेको मुम्बई इन्डियन्सले सुरुवात राम्रो गर्न सकेन् तर अन्तिम ४ ओभरमा २ विकेट मात्र गुमाउदै ५७ रन जोडेपछि ठूलो योगफलतर्फ अग्रसर भएको थियो। पाण्ड्याले अन्तिम ओभरमा मात्र टिमका लागि ३० रन जोड्ेका थिए।

इमरान ताहिरको कसिलो बलिङमा सुरुमा मुम्बई अफ्ठेरोमा परेको थियो। मुम्बईका कप्तान रोहित शर्माले खासै प्रभावशाली ब्याटिङ गर्न सकेनन्। उनी ३ रन बनाउदै ताहिरको बलमा बोल्ड भए। पहिलो ओपनिङ गर्ने रोहित आज पहिलो विकेटको पतन पछि क्रिजमा प्रवेश गरेका थिए।

ताहिरले ३ विकेट लिए। पाण्ड्याले १५ बलमा ४ छक्का र १ चौकाको सहयोगले अविजित ३५ रन बनाए। मुम्बईले पूणेको इनिङमा कप्तान स्मिथ र धोनी दुवैको क्याच छोडेको थियो। खेलको म्यान अफ दि म्याच स्मिथ घोषित भए।