images
images

खेलाडी चोर्न खोजेको आरोपमा लिभरपुललाई १ लाख पाउन्ड जरिवाना

अन्य क्लबको एकेडेमीको किशोर खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो क्लबमा तान्न खोजेको आरोपमा इङ्लिस प्रिमियर लिग (इपिएल) क्लब लिभरपुललाई इपिएलले १ लाख स्टर्लिङ पाउन्ड जरिवाना र दुई वर्ष एकेडेमीको कुनै खेलाडीलाई अनुबन्धित गर्न नपाउने गरि प्रतिबन्ध लगाएको छ।

लिभरपुलले गत सेप्टेम्बरमा स्टोक सिटीका १२ वर्षीय किशोर खेलाडीलाई कानुन विपरित आफ्नो क्लबमा तान्ने प्रयास गरेको थियो। २०१६ मा लिभरपुलले स्टोक सिटी एकेडेमीका खेलाडीलाई कानुन विपरित आफ्नो एकेडेमीमा समावेश गर्दै इपिएलसमक्ष ती किशोर खेलाडीको नाम दर्ता गराउन खोजेको थियो। उसले यसका लागि क्षतिपूर्ती पनि तिर्ने स्विकार गरेको थियो। तर, प्रिमियर लिग बोर्डले यसलाई अस्विकार गरेको छ।

छानवीनका क्रममा लिभरपुलले खेलाडी र उसको परिवारलाई आर्थिक प्रलोभन दिएको पाएको थियो। क्लबले खेलाडीको स्कुलको फिससमेत तिरिदिने आश्वासन दिएको थियो, जुन यसअघि स्टोकले तिर्दै आइरहेको थियो।

एउटा क्लबको एकेडेमीमा आवद्ध भएका किशोर खेलाडीलाई अर्को क्लबले कानुनी प्रक्रिया पुरा नगरि लैजान नपाउने नियम केही वर्षअघि इपिएलले बनाएको थियो। लिभरपुलले पनि आफूबाट नियम उल्लंघन भएको स्विकार गरेको छ।