पहिलो हाफको ३६ औं मिनेटमा पेनाल्टी एरियाबाट प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापाले बचाए पनि रिबाउन्डमा अभिषेक गोल गर्न सफल भए । एक मिनेटअघि प्रहरीका युवराज राईले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।
धनगढी, आहा, झापा र सर्लाही गोल्डकप जितेको मनाङ यो सिजनको पहिलो भेटमा पुलिससँग स्तब्ध भयो । पहिलो हाफको पाँचौं मिनेटमा पुलिसका कप्तान भोला सिलवालको प्रहार मनाङका गोलरक्षकले बचाएका थिए । मनाङका अफ्रिकन खेलाडी डेनीले पहिलो हाफमा प्रहार गरेको बल बारमा ठोक्किएर बाहिरिएको थियो ।
सुजल श्रेष्ठ, विराज महर्जन, कमल श्रेष्ठ, विशाल राई, नीराजन मल्ल जस्ता खेलाडी उतारेको मनाङलाई पुलिसले दबाबमा राख्यो । मैदानको अनुभव नभएका कारण हार बेहोर्नुपरेको मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङको प्रतिक्रिया रह्यो । ‘राम्रो खेल्न खोज्दाखोज्दै मैदानका कारण हार बेहार्नुपर्यो,’ गुरुङले भने ।
भोला सिलवाल, जुमनु राई, अजित भण्डारी र भरत शाहलाई उतारेको पुलिसले पनि मनाङसामु गोल गर्न निकै संघर्ष गर्नुपर्यो । पुलिसका भोला सिलवाल म्यान अफ द म्याच घोषित भए । ‘जित निकाल्न कठिन भयो,’ म्यानेजर सुमन सुवेदीले भने, ‘टिमको रणनीतिअनुसार आक्रामक खेल्यौं ।’ अब पुलिसले फाइनल प्रवेशका लागि नेपाल आर्मीसँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत मंगलबार एपीएफ र संकटा भिड्दैछन् ।