२०७३ चैत्र २२ – सुत्केरी वेथा लागेर लुम्बिनी अञ्चल अस्पतालमा आएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । महिलाका आफन्तले चिकित्सकको लार्पवाहिले महिलाको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले दोषीलाई कारवाहि र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका छन् ।
बुटवल–११, न्यु दुर्गानगर निवासी अन्दाजी २७ वर्षिया मिना बुढामगरको सोमबार साँझ अस्पतालमा मृत्यु भएको थियो । बिहान १० बजे हिड्दै अस्पताल आएकी मिनालाई अस्पतालका चिकित्सकले साँझ मृतक घोषणा गरेका थिए । सुत्केरी वेथा लागिरहेका बेला उनले निकै ग्राहो भएको, ओठमुख सुन्निएको र बच्चामाथि सर्न थालेको नर्सहरुलाई भनेकी थिइन् । तर नर्सहरुले उनको कुरा सुन्दै नसुनेका कारण मृत्यु भएको श्रीमान कुलबहादुर बुढाले बताए । ओजिटी गर्न आएका सिकारु नर्सहरुको जिम्मामा छाडेर डाक्टरहरु क्लिनिकमा गएकाले श्रीमती गुमाउनु परेको उनले बताए ।
मजदुर काम गर्दै आइरहेका बुढाको तीन जनाको परिवार सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । मृतक महिलाको १० वर्षिय छोरा समेत छन् । अस्पतालले मृत्यु भएकी श्रीमतीको शव समेत हेर्न नदिएको श्रीमानले बताए ।
महिलाका आफन्तहरुले मंगलबार बिहानदेखि अस्पतालमा धर्ना दिएका हुन् । अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालले भने सुत्केरीको रेखदेख हुदाहुदै मृत्यु भएको जनाएको छ । अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले चिकित्सकको लापरवाहि नभएको दाबी गरे ।
महिलालाई डा. विष्णु गौतम, डा. शिला क्षेत्री र डा. श्रीधर आचार्यले उनको केश हेरेका थिए ।