२०७३ चैत,२१ –पाँच नम्बर प्रदेशको सम्भावित राजधानी बनेको बुटवल उपमहानगरपालिकामा आगामी चुनाव कसले जित्ला ? उपमहानगरपालिकाभित्र यो प्रश्न अहिलेको तातो बहसको विषय बनेको छ । बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर बन्नका लागि राजनीतिक दलका चर्चित अनुहार नै अग्रपंक्तिमा छन् ।राजनीतिक दलले उम्मेदवार घोषणाको प्रक्रिया शुरु नगरे पनि आकांक्षीहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो माहौल बनाउन खोजेका छन् ।त्यही बुटवल हो, जहाँ प्रदेशको सीमांकन हेरफेर विरुद्ध एमालेको अगुवाइमा आन्दोलन भएको थियो । तर, स्थानीय चुनावको सरगर्मी बढेसँगै प्रदेश विभाजन विरुद्ध एकजुट भएकाहरु आ-आफ्नै राजनीतिक कित्तामा विझाझित हुँदैछन् ।
साविकको बुटवल नगरपालिकामा कांग्र्रेस र एमालेले मेयर पदमा आलोपालो जित हासिल गरेका छन् । ०४९ मा कांग्रेसका सूर्यप्रसाद प्रधानले र ०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठले मेयर जितेका थिए ।
बुटवल नगरपालिका रहेको रुपन्देही क्षेत्र नम्बर ४ मा २०६४ र २०७० केा दुवै चुनाव एमालेका बिष्णु पौडेलले जितिरहेका छन् । जहाँ उनले पछिल्लो पटक माओवादी नेता बाबुराम भट्टराईलाई तेस्रो स्थानमा झार्दै करीव ६ हजारको मतान्तरमा कांग्रेसलाई दोस्रो बनाएका थिए ।
बुटवल उपमहानगरपालिकाको चुनावी परिणाम आफ्नो पक्षमा पार्न कांग्रेस र एमालेले ५ नम्बर प्रदेश बिभाजन विरुद्धको जनमततिरै आँखा लगाएका छन् । संविधान संशोधन विधेयकमा बुटवललाई पहाडी जिल्लाबाट अलग गर्न खोजिएको छ । जसका विरुद्ध बुटवल आन्दोलित छ ।
आशन्न स्थानीय तहको निर्वाचनमा पहिलेकै दलले झण्डा गाड्ला कि फरक शक्तिले पकड जमाउला भन्ने कौतुहल बढेको छ । साना दलहरुले गठबन्धन बनाउने सम्भावना रहँदै गर्दा मुख्य भिडन्त कांग्रेस र एमालेको बीचमा हुने देखिएको छ ।
लुम्बिनीका पहाडी जिल्लाहरुको केन्द्रभाग रहेकाले बुटवल उपमहानगरको चुनाव लुम्बिनीकै चासोमा छ । पछिल्ला चुनाव परिणाम र प्रदेश बिभाजन विरुद्धको जनमतलाई हेरेर एमालेले बुटवलमा आफूले सजिलै जित्ने दावी गरिरहेको छ ।
तर, कांग्रेस पनि बुटवलमा आफ्नो गुमेको साख फिर्ता गर्ने तयारीमा छ । प्रदेश विभाजन विरुद्धको आन्दोलनमा कांग्रेस पनि संलग्न रहेको र कांग्रेस नेता चन्द्र भण्डारी नै अग्रभागमा रहेकाले त्यो जनमत एमालेले मात्र लिन नसक्ने कांग्रेस नेताहरुको दाबी छ ।
त्यसो त टोपबहादुर रायमाझी प्रदेश विभाजन विरुद्धको आन्दोलनका अगुवा भएकाले त्यसको जस लिन माओवादीले पनि कुनै कसर बाँकी राखेको छैन । चुनावका बेला माओवादी मत निणर्ायक हुन सक्छ ।
औद्योगिक र व्यापारिक हबको रुपमा परिचित बुटवल उपमहानगर १ सय ३ दशमलब ९८ वर्गकिलोमिटरमा फैलिएको छ । जनगणना ०६८ अनुसार, रुपन्देहीमा साढे ४ लाख मतदाता रहेकोमा उपमहानगरमा मात्रै १ लाख ३८ हजार ७ सय ४२ जनसंख्या छ ।
साविकमा २२ वटा वडा रहेकोमा हाल भने केही वडा गाभेर उपमहानगरपालिकामा १९ वटा वडा कायम गरिएको छ ।
यस्ता छन् कांग्रेसमा आकांक्षी
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा खेलराज पाण्डेको नाम बलियो दाबेदारको रुपमा चर्चामा छ । ०५९ सालदेखि ०६४ सम्म तरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भएका पाण्डे पार्टीबाट बुटवल उपमहानगरमा अहिले दोस्रोपटक सभापतिको भूमिकामा छन् ।
कांग्रेसबाट महासमिति सदस्य युवराज गिरी पनि मेयरका दाबेदार हुन् । त्यस्तै, बुटवल उपमहानगरका पूर्व उपप्रमुख रामलाल श्रेष्ठ र बुटवल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष सुरेन्द्रराज श्रेष्ठ पनि मेयरको उम्मेदवारका आकांक्षी हुन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह पनि दाबेदार छन् भने संघका पूर्वअध्यक्षहरु जीवन ओझा, नवराज श्रेष्ठ, निर्मल लाकौल पनि मेयरका लागि आफू सक्षम रहेको दाबी गर्छन् । कांग्रेसका युवा नेताहरु नेविसंघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना, नेविसंघ नेता विष्णु पोखरेल, युवा अभियन्ता मुक्ति पौडेलको नाम पनि चर्चामा छ ।
बुटवलको मेयर पदमा पार्टीका पुराना कार्यकर्ताहरु विना गुरुङ, रिजन श्रेष्ठ र बालकुमारी भण्डारी पनि आकांक्षी देखिएका छन् । यस्तै कांग्रेस जिल्ला सदस्य माया गौतम, रीता सेन ओलीको पनि दाबेदारी छ ।
एमालेमा पनि उम्मेदवारको लर्को
नेकपा एमालेका तर्फबाट मेयर बन्ने लाइनमा जिल्ला अध्यक्ष शिव सुवेदी पनि खडा भएका छन् । त्यस्तै लुम्बिनी अञ्चल अस्पतालका पूर्वअध्यक्ष बाबुराम भट्टराईको नाम पनि मेयर पदका लागि चर्चा छ ।
मजदुर नेता कमल गौतम र एमालेका जिल्ला सहसचिव तथा व्यवसायी गोपाल रानालाई पनि उम्मेदवारको आकांक्षीको रुपमा हेरिएको छ । उता बुटवलका पूर्वमेयर भोजप्रसाद श्रेष्ठलाई पनि भावी मेयरका दाबेदार मानिएको छ । उनी एमाले रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् ।
त्यस्तै, युवा संघका केन्द्रीय उपाध्यक्ष तथा पूर्वजिल्ला अध्यक्ष राजु गुरुङको नाम पनि चर्चामा छ । एमाले रुपन्देहीका अध्यक्षका उम्मेवार समेत बनेका गुरुङलाई मेयर दिने सहमति गरेर उम्मेदवारी फिर्ता गराइएको थियो । तर, उनी पछिल्लो समय पार्टीको कारवाही भोगिरहेका छन् ।
त्यस्तै, प्रेस चौतारीका पूर्वअध्यक्ष पत्रकार बालकृष्ण चापागाईले पनि आफूलाई मेयरको आकांक्षीका रुपमा अघि सारेका छन् । एमालेमा महिलातर्फ सावित्रा अर्याल, विमला पन्थी, गोमा आचार्य लगायतको नाम पनि मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चामा छ ।
माओवादीमा उम्मेदवार खोजी
माओवादी केन्द्रबाट केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रामप्रसाद बञ्जाडे र अर्का केन्द्रीय सदस्य हरि घिमिरेेको नाम चर्चामा छ । यस्तै, पूर्व सांसद समेत रहेका विनोद पहाडीको पनि दाबेदारी छ ।
युवा पुस्ताबाट नगर इन्चार्ज सुदीप न्यौपाने, नगर सचिव मनोज राना पनि आफ्नो दाबेदारी रहेको बताउँछन् । यद्यपि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव शर्माले कसलाई उम्मेदवार बनाउने भनेर छलफलको चरणमै रहेको बताए ।
साना दल गठबन्धनको मुडमा
बुटवल उपमहानगरमा मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्व मेयर पुनाराम पोखरेलको नाम चर्चामा रहँदा रुपसिंह थापा पनि दाबेदारको रुपमा अघि सरेका छन् । उप-मेयरमा भने भक्ति लिगलको नाम चर्चामा छ ।
यस्तै, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी, नेकपा माले लगायतका दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन् । दलहरुले जिल्लाभरको तागत बुटवलमा लगाउँदै छन् ।
यी दलहरुले उपमहानगर प्रमुखदेखि वडा तहमा आफ्नो प्रतिनिधित्वका लागि जहाँ जुन पार्टी बलियो छ, उसैसँग सहकार्य गर्ने रणनीति बनाएका छन् ।