images
images

रोकिराखेको बसमा भारतीय ट्रक ठोक्किदा, ५ जनाको मृत्यु : नवलपरासी

२०७३ चैत्र १९ – बुटवल- नारायणगढ सडक खण्ड अन्तरगत नवलपरासीको मध्यविन्दु नगरपालिका ४० किलो जंगलमा यात्रु बहाक बस र भारतीय नम्बरको ट्रक ठोकिन पुग्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार गएराती एकबजे दाङ्गबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ४ ख ४९९५ नं. को बसलाई सोही दिशातर्फ जाँदै गरेको यूपी ५८ ‘टि’ ५८७१ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार चार जना र ट्रकमा सवार एकजनाको मृत्यु भएको हो ।

दाङ्ग सिरीगाउँका १६ वर्षीय बलिराम चौधरी, सोही ठाउँका १७ वर्षीय विरबल चौधरी, सुर्खेत जुमखोलाका ३८ वर्षीय हरि रामजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षीय रियाज खानको पनि मृत्यु भएको छ ।

बसमा सवार अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार भइरहेको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।