१–० को अग्रता जोगाउन नसक्दा कोलकोताले रूपन्देहीविरुद्ध अघिल्लो संस्करणको बदला लिन सकेन । गत संस्करणमा पनि कोलकातामाथि रूपन्देहीले १–० ले बाजी मारेको थियो ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो । खेलको २२ औं मिनेटमा कोलकाताले अग्रता लियो । पेनाल्टी क्षेत्रमा प्राप्त बलमा आकर्षक ड्रिब्लिङ गर्दै कोलकाताका बाबुलाल मन्डीले गोल गरेका थिए । पहिलो हाफमा आक्रामक देखिएको कोलकाताले पाएका केही अवसर सदुपयोग गर्न सकेन ।
पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसरमा रूपन्देहीका विजय धिमालले बराबरी गोल गरे ।
टाइब्रेकरमा रूपन्देहीबाट नीरज बस्नेत, विजय धिमाल, एरोन र लक्ष्मण रूचालले गोल गरे । रूपन्देहीका कालु थापाको प्रहार कोलकाताका गोलरक्षक एस घोषले बचाएका थिए ।
कोलकाताको तर्फबाट स्लामिरधा र ज्याक्सनले गोल गरेका थिए । कोलकोताका सामुइल्स केनको प्रहार बाहिरिएयो भने बिवेक सिंहलाई रूपन्देहीका गोलरक्षक सुजित गुरुङले रोके । म्यान अफ द म्याच कोलकाताका बाबुलाल मन्डी घोषित भए ।
पहिलो हाफमा कोलकाताका तुफान दासले पेनाल्टी क्षेत्रमा पाएको अवसर बाहिर फाले । ज्याक्सनको प्रहार रूपन्दहीको गोलरक्षकले मुस्किलले बचाए । रूपन्देहीका एरोनले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
राष्ट्रिय टोलीमा समेत सहभागिता जनाएका रूपन्देहीका अमर डंगोल जम्न नसके पनि विजय धिमालले भने रक्षापंक्तिमा गतिलो खेल प्रस्तुत गरे । चोटका कारण मिडफिल्डर उत्तम गुरुङ र गौरव बुढाथोकीबिना मैदान उत्रिएको रूपन्देहीले सेमिफाइनल यात्राका लागि डिफेन्डिङ च्याम्पियन झापा ११ को सामना गर्नेछ ।
‘जित निकाल्न कठिन रह्यो,’ रूपन्देहीका प्रशिक्षक दायाराम सापकोटाले भने, ‘क्वाटरफाइनलमा खेलस्तर सुधार्ने प्रयास गर्नेछौं ।’ उनले विमल घर्तीमगरलाई ल्याउने प्रयास भएको बताए । चार नाइजेरियन खेलाडीसाथ रूपन्देही मैदान उत्रेको छ ।
कोलाकाताले भने भाग्य र निर्णायकविरुद्ध दोष थोपर्यो । ‘हामीविरुद्ध धेरै फाउल खेलिएकाले तीन प्रमुख खेलाडीले मैदान छाड्नुपर्यो,’ प्रशिक्षक रहमतले भने, ‘हामीविरुद्ध पेनाल्टी दिइए पनि यस्तै तीन अवसरमा हामीलाई चुकाइयो ।’
शनिबार त्रिभुवन आर्मीले आसामको ग्लोबल एफसीको सामना गर्नेछ ।