images
images

लियोनल मेसीलाई चार खेलमा प्रर्तिवन्द अर्जेन्टिना संकटमा

“कप्तान लियोनल मेसी निलम्वनमा परेपछि अर्जेन्टिना विश्वकप २०१८ को छनोटबाटै बाहिरिने डर बढेको छ”

२०७३ चैत्र १९ – कुनै एक घरमा भएको टेलिभिजनमा टोलभरिका नेपाली विश्वकप फुटबलका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न झुम्मिने जमानामा डिएगो म्याराडोनाले तहल्का मच्चाइरहेका थिए । उनको जादूयी खेलसँगै अर्जेन्टिना सन् १९८६ को विश्वकपमा च्याम्पियन भएको थियो । त्यसैको प्रभाव हुन सक्छ, नेपालमा म्याराडोना लोकप्रिय छन् र अर्जेन्टिनी टिमका समर्थक ठूलै संख्यामा छन् ।

म्याराडोनापछि अर्जेन्टिनी टिममा ग्याब्रियल बाटिस्टुटा खुबै छाएका थिए तर उनलाई म्याराडोनासँग दाँज्ने गरिन्न । म्याराडोना आफैले लियोनल मेसीलाई भने किशोर छँदै आफ्ना उत्तराधिकारी मानेका थिए । मेसी विश्व फुटबलमा सुपरस्टारको रूपमा स्थापित भइसकेका छन् । उनलाई पेले र म्याराडोनासँग नै तुलना गरिन्छ । तर यसमा उनलाई विश्वकपको असफलताले पछाडि पारेको छ ।

क्याटलन क्लब बार्सिलोनामा उनको खेल साह्रै लोभलाग्दो हुने गर्छ । त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगिता आउँदा पनि उनको टिम अर्जेन्टिनालाई सधैं उपाधिको दाबेदारको रूपमा लिइन्छ । अर्को वर्ष (२०१८) रुसमा विश्वकप फुटबलको २१ औं संस्करण हुनेछ । त्यसबेला मेसी ३० वर्षका हुनेछन् । त्यसैले उनका लागि आउने विश्वकप करिअरलाई महान् खेलाडीको रूपमा पूर्णता दिने अन्तिम अवसर मानिएको छ । तर उनको टिम छनोटमै संकटमा परेको छ ।

ब्राजिलले पाराग्वेलाई सजिलै हराएर विश्वकप २०१८ मा छनोट हुने पहिलो देश बनेको दिन मंगलबार अर्जेन्टिना भने दक्षिण अमेरिकामा कमजोर मानिएको बोलिभियासँग २–० ले हार्‍यो । यसले उसलाई विश्वकपको छनोटमै संकटमा पारेको छ । पाजमा खेल हुनुअघि मेसीमाथि फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को अनुशासन समितिले चार खेलमा निलम्बनको निर्णय गर्दा नै अर्जेन्टिनी टिम स्तब्ध भइसकेको थियो ।

गएको साता चिलीमाथि मुस्किलले ३ अंक जोडेको खेलमा मेसी निक्कै क्रोधित देखिएका थिए । त्यसमा सहायक रेफ्रीलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई फिफाले निलम्बन गरेको हो । त्यसैले उनले बोलिभियासँग खेल्न पाएनन् र अब उरुग्वे, भेनेजुएला र पेरुसँगको खेल पनि गुमाउनेछन् । उनी अक्टोबरमा इक्वेडरमा हुने छनोटको अन्तिम खेलमा मात्र टिममा फर्कनेछन् ।

अर्जेन्टिनाले अगस्टमा उरुग्वेमा गएर छनोटमा प्रतिस्पर्धा गर्नेछ, जुन निक्कै महत्त्वपूर्ण हुनेछ । त्यसमा पनि अंक जोड्न सकेन भने अर्जेन्टिनाको लगातार १२ औंपल्ट विश्वकप खेल्ने सम्भावना झन् कमजोर बन्ने छ । विश्वकपको दक्षिण अमेरिकी छनोटमा चार–चार खेल बाँकी छँदा अर्जेन्टिना २२ अंकसहित पाँचांै स्थानमा छ । यो क्षेत्रबाट विश्वकप खेल्ने सम्भावना भएको अन्तिम बिन्दु पनि पाँचौं स्थान नै हो । पाँचौं हुने टिमले रूसको यात्रा निश्चित गर्न ओसियाना क्षेत्रको विजेतालाई प्ले–अफमा पराजित गर्नुपर्ने हुन्छ ।

कोपा अमेरिका च्याम्पियन चिलीसँग सान्टियागोमा २–० को हारसँगै ब्राजिलले विश्वकप २०१८ को छनोट यात्रा थालेको थियो । पहिलो खेलमा अर्जेन्टिना पनि घरेलु भूमि ब्युनर्स आयर्समा इक्वेडरसँग त्यही अन्तरले हारेको थियो । ब्राजिल त्यसयता १३ खेलमा अपराजित रहँदै १० खेल जितेर विश्वकपमा छनोट भइसक्यो । अर्जेन्टिना भने पाराग्वे, ब्राजिल र बोलिभियासँग पनि हारेपछि छनोटबाटै बाहिरिनसक्ने स्थितिमा पुगेको छ ।

दक्षिण अमेरिकाबाट शीर्ष चार टिमले विश्वकपमा सीधै खेल्ने अवसर पाउँछन् । ब्राजिल (३३ अंक), कोलम्बिया (२४), उरुग्वे (२३) र कोपा अमेरिका च्याम्पियन चिली (२३) शीर्ष चारमा छन् । तीन टिमसँग ठूलो अन्तर नहुनुले अर्जेन्टिनाको आस बढाउँछ तर पछाडिका टिम पनि धेरै टाढा भने छैनन् । विश्वकप पुग्ने होडमा इक्वेडर (२०), पेरु (१८) र पाराग्वे (१८) पनि छन् । बोलिभिया (१०) र भेनेजुएला (६) भने छनोटमै रोकिने पक्का भइसकेको छ । तर उनीहरू ठूला टिमलाई बारम्बार दु:ख दिने गर्छन् । बोलिभियाले आठ वर्षअघिको छनोटमा त म्याराडोनाले सम्हालेको अर्जेन्टिनालाई ६–१ ले स्तब्ध पारेको थियो ।

विश्वकपको उपाधि होडमा युरोपेली टिमलाई चुनौती दिने एक्लो महादेशको रूपमा रहेको दक्षिण अमेरिकामा कुन टिमले कसलाई हराउँछ भन्ने अनुमान लाउन गाह्रो हुन्छ किनभने प्रतिस्पर्धा चर्को हुन्छ । इंग्लिस प्रिमियर लिगभन्दा पनि अनपेक्षित र कठिन । त्यसैले प्रशिक्षक एड्गार्डो बाउजाले सम्हालेको अर्जेन्टिनालाई विश्वकपको बाटो सजिलो छैन । उनले त आफ्नो टिम मेसीमा निर्भर नरहेको दाबी पनि गरेका थिए तर ला पाजको प्रतिस्पर्धामा मेसीबिनाको अर्जेन्टिनी टिम निरीह नै भएको थियो ।

मेसी सर्वाधिक पाँचपल्टका विश्व वर्ष खेलाडी हुन् । उनले बार्सिलोनासँग आठ पल्ट स्पेनी ला लिगा, चारपल्ट कोपा डेल रे, चारपल्ट युरोपेली च्याम्पियन्स लिग, तीनपल्ट क्लब विश्वकपसहित २८ उपाधि जितेका छन् । उनले अर्जेन्टिनाबाट ओलम्पिक स्वर्णपदक र युवा विश्वकप पनि जितेका छन् । उस्तै स्तरको सहकर्मी राष्ट्रिय टिममा नहुनाले पनि हुन सक्छ उनले बार्सिलोनामा गर्ने प्रदर्शन र अर्जेन्टिनी टिमसँगको खेलमा ठूलै भिन्नता देखिन्छ । तर उनीसँग जुनसुकै जर्सीमा भए पनि सधंै म्याच–विनरको भूमिका निर्वाह गर्ने अपेक्षा गरिन्छ ।

अर्कोतर्फ मेसीबिनाको अर्जेन्टिना उसका समर्थकको लागि कल्पनाबाहिरको टिम हो । अथवा, मेसीको संन्यासपछि बन्ने अर्जेन्टिनी टिम । समर्थकका लागि मात्र होइन, मैदानमा प्रदर्शनको आधारमा पनि मेसी नभएको अर्जेन्टिनी टिम फिक्का हुने गर्छ । तथ्यांकले पनि त्यस्तै देखाउँछ । विश्वकप २०१८ छनोटमा मेसीले चोट र अहिलेको कारबाहीका कारण १४ मध्ये ६ खेल मात्र खेलेका छन् । त्यसमा अर्जेन्टिनाले ५ खेल जितेको थियो भने १ खेल हारेको थियो । मेसीको अनुपस्थितिमा भएका आठ खेलमा अर्जेन्टिनाले १ जित, ४ बराबरी र ३ हारको नतिजा बेहोर्‍यो ।

मेसी रहेको अर्जेन्टिनी टिमले चार फाइनल (३ कोपा अमेरिका र १ विश्वकप) हारेको छ । गत वर्ष कोपा शतवार्षिकीको फाइनलमा चिलीसँग हारेपछि मेसीले निरास भएर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास नै घोषणा गरेका थिए । तर, हतासमा गरिएको निर्णय फिर्ता लिँदै उनी टिममा फर्किएका थिए । अर्जेन्टिनी टिममा यी कप्तानकै सबभन्दा ठूलो प्रभाव र मुख्य भूमिका थियो/छ । उनले भलाद्मीको छवि बनाएका थिए । सहायक रेफ्रीलाई गरेको दुव्र्यवहारले भने उनको धैर्यमा प्रश्न तेस्र्याएको छ ।

अर्जेन्टिनाले छनोटको पुछारमा रहेको भेनेजुएलाले भन्दा पनि कम गोल गरेको छ । स्टारडमअनुसार खेल्ने भए अर्जेन्टिनाको अवस्था मेसीबिना पनि यस्तो हुने थिएन । सेन्टर–ब्याक निकोलस ओटामेन्डी, मिडफिल्डर जाभियर मास्केरानो र ल्युकास बिग्लिया तथा फरवार्ड गोन्जालो हिग्वाइन पनि बोलिभियासँगको खेलमा निलम्बनमा थिए । उनीहरू उरुग्वेमा फर्कनेछन् । अर्जेन्टिनासँग आक्रमणको लागि एन्जेल डी मरिया, एभर बानेगा, पाउलो डिबाला, एजेक्वेल लाभेजी, सर्जियो एगुइरो पनि छन् । तर उनीहरूले राष्ट्रिय टिममा गतिलो खेल देखाएका छैनन् ।

डिसेम्बर, २०१५ मा भएको अर्जेन्टिनी फुटबल संघको निर्वाचनमा मतदाताभन्दा धेरै मत खसेको थियो । यसले मैदानबाहिर पनि अर्जेन्टिनी फुटबल गम्भीर समस्यामा रहेको देखाउँछ, जसलाई विश्वकप र कोपा अमेरिकाको लगातार तीन फाइनलले छोपेको थियो । सन् १९७८ र १९८६ को विश्वकप च्याम्पियन मेसी र मास्केरानोको प्रेरणामा तीन वर्षअघि फाइनल पुगेको थियो । उसलाई फाइनलमा हराएको जर्मनी पनि अहिले उस्तै स्तरमा छैन तर डिफेन्डिङ च्याम्पियनले विश्वकपको बाटो सजिलै बनाइरहेको छ । २५ वर्षयता उपाधिविहीन रहेको अर्जेन्टिना भने यसरी खस्किने अनुमान पनि गरिएको थिएन ।

अर्जेन्टिना र बार्सिलोनाका लागि सर्वाधिक गोल गरेका मेसीबिना पनि पेरु र भेनेजुएलासँग घरेलु मैदानमा हुने खेल जित्ने अनुमान गरिएको छ । तर, लुइस स्वारेज र एडिन्सन काभानीको देश उरुग्वेमा गएर खेल्नुपर्दा भने अर्जेन्टिनालाई वास्तवमै मेसीको अभाव हुनेछ । क्विटोमा इक्वेडरको सामना गर्दा मेसी टिममा फर्कनेछन् तर त्यसबेला उनको पुनरागमन अर्जेन्टिनाको लागि ढिला भइसकेको पनि हुन सक्छ । अथवा, निर्णायक नै बन्न सक्छ किनभने अर्जेन्टिना संकटमा गुज्रिइसकेको छ ।