२०७३ चैत्र १९ – मोरङको कटहरी १ मा गोली हानेर १४ दिनअघि व्यापारिक घरानाका सासूबुहारीको हत्या गरिएको घटनामा आफन्तकै संलग्नता रहेको पाइएको छ । बडीआमा र बुहारीको हत्या गर्ने विराटनगर १२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई प्रहरीले पक्राउ गरेको छ । कटहरी १ मा चैत ४ गते गोली प्रहार गरेर व्यापारिक घरानाका सासूबुहारीको हत्या गरिएको थियो । सासू ४४ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्यामा संलग्न विष्णुकुमारलाई उनकै घरबाट बिहीबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
दुईजनाको शव घरको भिन्दाभिन्दै कोठामा टाउको र शरीरमा गोली लागेर मृत्यु भएको अवस्थामा फेलापरेको थियो । प्रहरीका अनुसार दीपा विष्णुकुमारकी बडीआमा र अस्मिता भाइबुहारी हुन् । दीपा धान व्यापारी इन्द्रचन डाँगाकी पत्नी र अस्मिता इन्द्रचनका छोरा रामकी पत्नी हुन् ।
घटना के कारणले गराइएको हो भन्नेबारेमा यकिन भइनसकेको र पारिवारिक रिसइबिका कारण भएको हुनसक्ने अनुमान गरिएको एसपी भण्डारीले बताए । ‘घटना के कारणले र किन भएको हो भनेर पत्ता लाग्न नसकेपछि उनीहरूबीचमा विगतमा कुनै पारिवारिक द्वन्द्व वा लेनदेन थियो कि भनेर अनुसन्धान सुरु गरिएको छ’, उनले भने, ‘थप अनुसन्धान गरिसकेपछि वास्तविक कुरा सार्वजनिक गरिने छ ।’ पक्राउ परेकाको घरबाट दीपा र अस्मिताले प्रयोग गर्ने मोबाइल सेट र घटनामा प्रयोग गरिएको मेड इन यूएसए लेखिएको म्यागजिनसहितको पेस्तोल बरामद गरिएको उनले बताए ।
‘घरमा रङ राख्ने ड्रमभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद गरिएको हो’, भण्डारीले भने, ‘घटनामा संलग्न भएको आशंकामा विष्णुकुमारलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको थियो ।’ घरमा लुकाएर राखेको पेस्तोल प्रहरीलाई उनैले देखाएका थिए । उनलाई प्रहरीले १३ दिनदेखि तारेखमा राखेको थियो । प्रहरीका अनुसार पक्राउ परेका विष्णुकुमारले घटना आफूले गराएको स्वीकार गरे पनि कारण भने खुलाएका छैनन् । प्रहरीले घटनास्थलबाट तीनवटा गोलीका खोका, फायर भएको एउटा बुलेट र दुई लाख ८४ हजार दुई सय ४५ रुपैयाँ पनि बरामद गरेको थियो ।
प्रहरीले घटनास्थलबाट नगदसमेत बरामद भएका कारण लुटपाट गर्ने उद्देश्यले घटना नगराइएको बताएको छ । विष्णुकुमार यसअघि पनि विराटनगरमा महिलामाथि खुकुरी प्रहार गरेर सिक्री लुटिएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका विष्णुकुमारलाई शुक्रबार नै कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको एसपी भण्डारीले बताए ।