“कतिपय रोजीरोटी धान्न नसकेपछि बिदेसिएका छन् भने कति विदेशको जीवनशैली, व्यवस्था र काम गरेअनुसार पाइने पारिश्रमिकबाट प्रभावित भएर उतै गुमनाम भएका छन् । विदेशमा गुमनाम भएका कलाकारमध्ये अधिकांश अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, स्पेनलगायतका मुलुकमा विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाउन जाने गर्छन्”
कलाको सीमित बजारका कारण नाम कमाए पनि नेपाली कलाकर्मीले दाम कमाउन सकेका छैनन् । कतिपय चर्चित र स्थापित कलाकारलाई समेत जीवन धान्न धौ–धौ छ । त्यही भएर उनीहरूलाई देशभित्रको मानभन्दा विदेशमा मजदुरी गर्दा आउने दामले लोभ्याउने गरेको छ । दर्जनौँ कलाकार युरोप–अमेरिका मात्र होइन, खाडी तथा द्वन्द्वग्रस्त मध्यपूर्वी एसियन देशहरूमा समेत भासिएका छन् ।
प्रसन्न पौडेललाई म्युजिक भिडियो निर्देशनमा भ्याइनभ्याई थियो । चलचित्र ‘स्वर’का निर्देशक पौडेलको निर्देशनमा म्युजिक भिडियोे बनाउन कतिपयले महिनौँ पर्खन्थे । खासमा उनीसँग काम गरेर चर्चामा आउन चाहन्थे कलाकारहरू । नाम, दाम र कामको सबै थियो उनीसँग । तर, करिब २ वर्षअघि साउथ एसियन फिल्म फेस्टिभलमा ‘होक्से’ फिल्म देखाउन र मिस नेपाल युएसको निर्णायकका लागि भन्दै अमेरिका उडेका पौडेल उतै हराए । केही हप्ताअघि मात्रै गोप्य रूपमा नेपाल आएका पौडेल लामो समयको अन्तरपछि एउटा चलचित्र निर्माण गर्दै छन्, चलचित्र निर्माणलगत्तै फेरि उनी अमेरिका नै फर्कने तयारीमा छन् । नेपालमै बसेर काम गर्न सकिँदैन ? गज्जबको प्रश्नमा उनले भने, ‘६ सय १ सांसदलाई एकपटक त्यहाँ लेबर भिसामा विदेश पठाउनुपर्छ, त्यसपछि उनीहरू फर्किएर केही परिवर्तन गरेपछि मलगायत धेरै बिदेसिनेहरू नेपाल फर्किनेछौं ।’ देशको स्थिति र कामअनुसारको प्रतिफल नपाएर बिदेसिनु परेको संकेत गर्छन् पौडेल । अमेरिकामै कम्पनी खोलेर सोही कम्पनीबाट धमाधम म्युजिक भिडियोे निर्माण गरिरहेका उनी चाँडै फिल्मको काम पनि गर्ने तयारीमा रहेको बताउँछन् ।
पौडेलजस्तै सयौँ नेपाली कलाकाहरू देशको अवस्थादेखि विरक्तिएर विदेशिएका छन् । धमाधम विदेश पलायनका विषयमा विभिन्न कलाकारसँग गरिएका कुराकानीलाई आधार मान्ने हो भने कतिपय रोजीरोटी धान्न नसकेपछि विदेशिएका छन् भने कति विदेशको जीवनशैली, सिस्टम र काम गरेअनुसार पाइने पारिश्रमिकबाट लोभिएर उतै पलायन भएका छन् । विदेशमा गुमनाम हुने अधिकांश अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियाजस्ता विकसित देश मात्र होइन, खाडी मुलुकमा समेत नेपाली कलाकार पलायन भएका छन् ।
यसरी जान्छन् कलाकार विदेश
नायक सरोज खनाल र नायिका कृष्टि मैनाली विदेश पलायन हुने कलाकारको सूचीमा अग्रपंक्तिमा पर्दछन् । उनीहरू आजभन्दा करिब २ दशकअगाडि अमेरिका पुगेका थिए । त्यसो त बिदेसिन चाहने धेरै कलाकारको पहिलो नजरमा अमेरिका पर्ने गर्छ । कोही डिभी परेर त कोही सांगीतिक कार्यक्रमका लागि भिजिट भिसामा जाँदा उतै बस्ने गरेका छन् । अलिअलि नाम चलेका कलाकारले ठूला मुलुक रोजे पनि केही कलाकार खाडी मुलुक पनि जाने गरेका छन् । भर्खर करिअर सुरु गरेका कतिपय कलाकार मलेसिया, दुबई, साउदी तथा कतारसमेत भासिएका छन् । उनीहरूको संख्या अधिक रहेको त्यहाँ रहेका कलाकार बताउँछन् । यसरी कार्यक्रममा सहभागिताका लागि भन्दै विदेश पुग्ने कलाकारले फाइल गरी ग्रिनकार्ड तथा उतैको पासपोर्ट बनाएको पाइन्छ । हाल नेपालबाटै पनि त्यस्तो शीर्षकमा ग्रिनकार्ड अप्लाई गरी अमेरिका, क्यानडालगायतका युरोपियन देशमा गएको देखिन्छ । जसको पछिल्लो प्रत्यक्ष उदाहरण हो, कुनै वेलाका लोकप्रिय नायक दिलीप रायमाझी । उनले परिवारै उठाएर अमेरिका हान्निएको एक वर्ष पनि भएको छैन । यद्यपि उनले त्यहाँ पुगेर पनि म्युजिक भिडियोमा भने काम गरिरहेका छन् ।
त्यस्तै, गायिका कोमल वलीले पनि धेरैपटक अमेरिका जान एप्लाई गरिन् । तर, अमेरिकन दूतावासले भिसा दिएन । यद्यपि उनी अरू धेरै देश र स्वदेशका कार्यक्रममा भने व्यस्त छिन् । भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा जित हात पारिसकेपछि ओलीले अब देश सुधारमै लाग्ने बताएकी छिन् ।
विदेशमा के गर्छन् कलाकार ?
हामीले फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा देख्दा विदेशमा कलाकारहरू कलाकारिता नै गरेर आलिसानका साथ बसिरहेका हुन् कि भन्ने लाग्न सक्छ । देशका चर्चित कलाकारले साधारण नेपालीले जस्तो विदेशमा निम्नस्तरको मजदुरी गर्छन् भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, अमेरिका, अस्टे«लिया, क्यानडालगायतका मुलुकमा जति नै नाम चलेका कलाकार हुन्, उनीहरूले गर्ने काम सामान्य किमिसको मजदुरी नै हुन्छ । अमेरिकामा आफूले रेस्टुरेन्टमा काम गरेको नायिका करिश्मा मानन्धरले नेपाल फर्किएपछि अन्तर्वार्तामा नै बताएकी थिइन् ।
अमेरिका रहेका एक नाम चलेका निर्देशक भन्छन्, ‘यो काम गर्छु भनेर खुलाउन नचाहे पनि यहाँ हरेक नेपालीले गर्ने काम एकै प्रकारको हुन्छ । विदेशमा हुने कलाकारले मुख्यतः कामलाई बढी प्राथमिकता दिने र बिदाको दिन पारेर कलाकारिता गर्ने गरेका छन् ।’ अमेरिका बस्दै आएका एक नायकले नाम नखुलाउने सर्तमा भने, ‘कलाकार भनेर जति नेपालीले भन्नुहुन्छ त्यो नेपालीको मनमा र नेपालमा मात्रै हो, यहाँ के गर्छौँ भन्ने कुरा खुलाउन जरुरी छैन । हामी सबैले गर्ने एकै किसिमका काम हो ।’
देशको राजनीतिकै कारण बिदेसिनु परेको हो

अाफ्नो देशमै बस्ने इच्छा कसलाई हुँदैन र ? त्यस्तो इच्छा ममा पनि छ । खासमा यो सबै समय र परिस्थितिले गर्दा भएको हो । त्यसको अर्थ पैसाको अभावले गर्दा बिदेसिएको भन्ने होइन । आफूलाई पुग्ने सबै कुरा हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरताले गर्दा कुनै पनि फिल्डमा काम गर्दा मलाई सुरक्षित अनुभव भएन । नेपालमा मेरो रामै्र भएको थियो र यहाँ आउने अरू कलाकारको पनि राम्रो नै थियो । तर, समयले यहाँ ल्यायो । जे कुरा पनि राम्रैमा मात्रै सीमित भयो, खासमा राम्रो कहिले पनि हुन सकेन । मुख्य कुरा निर्माताको लगानी कसरी फिर्ता हुन्छ भन्नेबारे सबैले सोच्नुपर्छ । अर्को कुरा कलाकारको वर्गीकरण छुट्याउनुपर्छ जस्तो लाग्छ । यो क्षेत्रलाई एउटा उद्योगका रूपमा चिनाउने पहल गर्नुपर्छ । बक्स अफिस लागू गर्नेबारे सबैले सकारात्मक सोच्नुपर्छ । यी कुरा भइदिए भने लगानी गर्ने निर्माताले थोरै भए पनि राहत पाउने थिए । यदि त्यस्तो भयो भने यो फिल्डमा काम गर्ने अरू सबैलाई राम्रो हुने कुरा हो । त्यसपछि मात्रै स्तरीय चलचित्र बन्ने र यस क्षेत्रमा काम गरौँ भन्ने इच्छा सबैको हुन्छ । साँच्चै भन्ने हो भने यहाँ आएर के काम गरिन्छ भनेर सबैलाई किन थाहा दिनु, तर यति मात्रै भन्छु देशको स्थिति ठीक भयो भने नेपाल फर्कन हरेक नेपाली र कलाकार आतुर छन् ।
देशको डामाडोलस्थिति देखेर विदेशतिर
मलेसियामा रहेर म्युजिक भिडियोे निर्माण गर्ने, हास्य कलाकारितामा सक्रिय, गायक पनि बनिसकेका सुजन न्यौपाने नेपालको स्थिति देखेरै विदेश पुगे । चिनिएकै कलाकारभन्दा पनि राम्रा प्रतिभा भएका कलाकार मलेसियामा मात्रै सयभन्दा बढी रहेको उनी बताउँछन् । अधिकांश बिदाको दिन पारेर कलामा रमाउने गरे पनि अरू दिन पैसा कमाउनै हिँड्छन् । मलेसियाजस्तै अन्य खाडी मुलुक र अमेरिका तथा युरोपमा हुने कलाकारको स्थिति कलाकार सुजन न्यौपानेले भनेभन्दा धेरै फरक छैन । खासगरी विदेशमा रहने कलाकारका अनुसार बिदेसिनुको मुख्य कारण केवल पैसा मात्र होइन । उनीहरू पैसा कमाए पनि आफ्नो र परिवारको भविष्यप्रति चिन्तित रहेर बिदेसिने गरेका छन् । नायक मुकेश ढकाल भन्छन्, ‘पैसा राम्रै कमाएको थिएँ, नाम पनि राम्रै कमाएँ, तर म किन अमेरिका आएँ भन्ने कुरा अलिकति फरक छ ।’ उनी समग्र देशको स्थितिले विदेश आएको प्रतिक्रिया दिन्छन् ।
नायक विमलेश अधिकारी पनि देशको स्थितिदेखि दिक्क लागेर अमेरिकामै बसेको बताउँछन् । भन्छन्, ‘के छ नेपालमा र नेपाल फर्किने म ?’ देशकोे सिस्टमप्रति गुनासो गर्ने अधिकारीका अनुसार देशको अहिलेको अवस्था र कलाकारको नेपालमा देखिएको अवस्था उस्तै छ, दुवै अवस्था कछुवाको गतिमा हिँडिरहने, जति गरे पनि विकास नै नहुने ।
‘स्टेज क्विन’ उपनामले चर्चित गायिका मञ्जु पौडेल अष्ट्रेलीयाको रेसिडेन्ट कार्ड बनाएर उतै बसेकी छिन् । कहिलेकाहीँ नेपाल आउने र अरू केही देश जाने गरे पनि स्थायी रूपले अष्ट्रेलीया नै बस्ने उनको तयारी छ । यद्यपि गायिका पौडेलले कार्ड नलिएको, तर त्यसको तयारीमा रहेको बताइन् । जति नाम चलेका कलाकार भए पनि देशमा सोचेजति सफलता हात नपार्नु कलाकार बिदेसिनुको मुख्य कारण रहेको गायिका पौडेलको तर्क छ । उनी भन्छिन्, ‘कलाकार बिदेसिनुको मुख्य कारण आफ्नो र परिवारको भविष्य राम्रो होस् भनेरै हो । तर, विदेशमा भए पनि विभिन्न कार्यक्रम गरिरहने, गीत निकाल्ने, फिल्म खेल्ने र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा नेपाली कलासँग नजिक रहेका छन् ।’
बलिउडमा केही समयको संघर्षपश्चात् हाल युकेमा बस्दै फिल्म निर्माणमा व्यस्त ललित भुसाल भर्खरै नेपाल आएर ‘क्रस्ड विङ्स’ नामक फिल्म निर्माण गरिरहे पनि उनले नेपालमै बसेर काम गर्ने सोच बनाएका छैनन् । ६ वर्षअघि युके पुगेका उनले हलिउड सिनेमा बनाएका छन् । नेपालमा भनेजस्तो वातावरण नभएको भन्दै युके बस्दै आएको बताउने भुसाल भन्छन्, ‘नेपाल आउने हो र नेपाली फिल्म बनाउने हो, तर अहिले होइन, भनेजस्तो वातावरण बनिसकेपछि मात्रै ।’ अन्य देशमा कलाकार विदेश पलायन नहोस् भनी सरकारले विभिन्न खालका लोभ्याउने कार्यक्रम ल्याए पनि नेपालमा त्यसको कुनै संकेतसम्म छैन । नेपालमा यसरी धमाधम विदेश पलायन भएको विषयमा सम्बन्धित निकाय बेखबर हुनु निकै दुःखको कुरा रहेको अस्टे«लियामा बस्दै आएका गायक ईश्वर पोखरेल बताउँछन् । बिदेसिने कलाकारका कारण सबैको उस्तै–उस्तै छन्, फरक यति हो, कोही देशको स्थितिले बिदेसिन्छन् भने कोही पैसा कमाउन । तर, विदेश जाने क्रम निरन्तर बढिरहेको छ ।
यहाँबाट सुरु भो कलाकारको विदेश पलायन
विदेश पलायन हुने क्रम कहिलेबाट सुरु भएको हो भन्ने यकिन कसैलाई थाहा छैन । यद्यपि ५० को दशकमा प्रायः नेपाली कलाकार स्वदेशमा रहँदै आएका थिए । द्वन्द्वकालमा असुरक्षाको कारण देखाउदै धेरै कलाकार विदेशिए । नेपाली चलचित्रसँगै गीत–संगीतको अवस्था नमज्जासँग खस्किएपछि चलचित्रका नायक, नायिका, निर्माता, निर्देशक तथा गायक, गायिका र समग्र कलाकार बिदेसिन थालेका हुन् । जुन क्रम झन् पछि झन् बढ्दो छ । नेपाली फिल्मको भन्दा पनि गीत–संगीतमा लाग्नेहरू अधिक मारमा छन् । उनीहरूले रहर हु“दासम्म पैसा खर्चिएर गीत रेकर्ड गर्ने र भिडियोे निर्माण गर्ने गर्छन् र पछि पैसाको अभाव भएपछि विदेश जाने सोच बनाउँछन् ।
कलाकारलाई सरकारको बेवास्ता
भारतमा उपचाररत संगीतकार एवं गायक अम्बर गुरुङलाई सरकारी तथा गैरसरकारी संस्थाले आवश्यक सहयोग गरेनन् । उनलाई पछि भारतबाट काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइयो । तर, उनी मृत्युको मुखबाट भाग्न सकेनन् र ७९ वर्षको उमेरमा संसारबाट बिदा भए । उनी मात्रै होइन, लामो समयदेखि घरमै थला परेका चर्चित गीत ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला’का गायक महेश पाल्पाली उपचारको अभावमै मृत्युसँग हारे ।
कुनै पनि चिजको कलात्मक प्रस्तुतिले मानिसको मन–मस्तिष्कमा छिटो प्रभाव पार्छ । त्यसैले कलाकारहरूले प्रस्तुत गरेको कलात्मक सौन्दर्यले बालकदेखि वृद्धसम्मको मनलाई सजिलै छुने, लामो समयसम्म मस्तिष्कको स्मरण केन्द्रहरूमा छाप पारिरहने हुन्छ । यसैले सर्वत्र कला, कलाकारिता र कलाकारलाई सम्मानको नजरबाट हेरिन्छ । तर, उनको संरक्षण तथा सुरक्षा नेपालमा पटक्कै छैन । नायिका रेखा थापाको तर्क छ, ‘श्रद्धाञ्जली दिनेबाहेक अरू केही छैन, दिनरात देशको नाम राख्न क्रियाशील उनै कलाकार बिरामी पर्ने हो भने राज्यले मतलब राख्दैन ।’
राजनीतिक दलका नेताहरूले कलाकारलाई आफ्नो अनुकूल प्रयोग गर्ने, तर सत्तामा पुगेपछि बेवास्ता गर्ने प्रवृत्तिले कलाकारिताप्रति नै वितृष्णा जाग्न थालेको छ, गायिका आकांक्षा बस्याललाई । ‘कम्तीमा कलाकारितामा लागेर बाँच्न सक्ने खालको सिस्टम तयार गरिदिए मात्रै पनि पुग्छ, नत्र यही तरिकाले कलाकार विदेश पलायन हुने हो भने नेपालमा कलाकार भेट्टाउन गाह्रो हुनेछ । यो निकै संवेदनशील विषय हो, यस विषयमा सरकार गम्भीर हुनैपर्छ,’ झन्डै १ सय ५० वटा गीतमा स्वर भरिसकेकी गायिका बस्याल भन्छिन् ।
जेनतेन सांगीतिक क्षेत्र एवं रंगकर्मी वा चलचित्र अभिनयको क्षेत्रमा लाग्नेहरू अचानक बिरामी हुँदा, दुर्घटनाबाट घाइते भई काम गर्न नसक्ने अवस्था र वृद्धवस्थामा आर्थिक समस्याका कारण निकै दयनीय अवस्थामा दिन गुजारेका कलाकार नेपालमा थुप्रै छन् । चलचित्रकर्मी अथवा समग्र कलाकारको हकहितमा काम गर्ने संघसंस्थाका अनुसार कला देखाउन भन्दै विदेश पुग्नेहरू नेपाल फर्कन नसक्नुमा देशकै खराब स्थिति हो ।
जो फर्किएर कलाकारितामै लागे
सांस्कृतिक कार्यक्रमका लागि विदेश छिर्ने र उतै बेपत्ता हुने सिलसिला अझै रोकिएको छैन । तर, विदेशमा अघाएर स्वदेश फर्किने सेलेब्रिटीको पंक्ति पनि लामै छ । डेढ दशक अमेरिका बसेर मन भरिएपछि नेपाल फर्केका पुराना नायक हुन्, सरोज खनाल । उनी युएसएलाई ‘यु स्टार्ट अगेन’ अर्थाउन रुचाउ“छन् । हाल नेपाल आएर निरन्तर चलचित्रमा व्यस्त खनालले बिदेसिनुअघि नेपालमा फिल्म खेलेर प्रशस्त नाम कमाएका थिए । उनले अमेरिकामा श्रम गरेर प्रसस्त दाम कमाए । त्यसपछि उनलाई नेपाली माटोले तानिहाल्यो । लाएको बानी कहीँ नजाने भनेजस्तै आएको केही महिनामै उनले प्रेमगीत, सुब्बा साबलगायतका चलचित्रमा काम गरे । उनले भर्खरै रिलिज भएको चलचित्र दर्पणछायाँ–२ मा समेत अभिनय गरेका छन् । केही नाटकमा समेत अभिनय गरेका उनी नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा समेत सक्रिय छन् ।
त्यस्तैगरी नायिका गौरी मल्ल पनि लामो अमेरिका बसाइपछि स्वदेश फर्किएकी हुन् । अमेरिका जानुअघि उनी जापानमा बसेकी थिइन् । उनले पनि नेपाल फर्किएपछि निरन्तर चलचित्रमा काम गरिरहेकी छिन् । उनको पछिल्लो चलचित्र ‘सुब्बा साव’ हो ।
एक समयमा चर्चित नायक रमेश उप्रेती पनि चर्चामै रहँदा अमेरिका भासिए । उनी पनि अमेरिकाबाट वाक्क भएर हाल नेपालमै बस्दै आएका छन् । नेपाल फर्किएपछि उनले ‘ब्रासलेट’ चलचित्रमा काम गरे । उप्रेती यतिवेला आफैँ चलचित्र बनाउने तयारीमा छन् ।
नेपालकी सदाबहार नायिकाको उपमा पाएकी नायिका करिष्मा मानन्धर पनि केही समयको अमेरिका बसाइपछि नेपाल फर्किइन् । आफूले निर्माण गरेको बाबुसाहेबले सोचेजस्तो सफलता नदिएपछि झोँकमै अमेरिका गएकी उनी केही वर्षअघि नेपाल फर्केकी हुन् । नेपाल फर्किएपछि फेरि फिल्म क्षेत्रमै जम्ने प्रयास नगरेकी होइनन्, तर उनी नेपाल फर्किंदा नयाँ पुस्ताका नायिकाले उनको ठाउँ कब्जा गरिसकेका थिए । अहिले एक ‘सम्मानित नायिका’का रूपमा उनी विभिन्न कार्यक्रम सहभागी हुन पुग्छिन् । कलाकारिता ‘कमब्याक’ गर्न नसकेपछि उनी अहिले नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा समेत होमिएकी छिन् । विदेशबाट स्वदेश फर्किने अधिकांश कलाकारले पैसा कमाए पनि अरू धेरै कुरा गुमाएको प्रतिक्रिया दिएका छन् । आफ्ना खास दर्शक पुराना हुने र नयाँले नचिन्दा फेरि यो क्षेत्रमा फर्किन निकै हम्मेहम्मे हुने गरेको उनीहरूको प्रतिक्रिया छ ।
नेपाल फर्किनेमध्ये अर्का चर्चित कलाकार गायक कर्ण दास पनि एक हुन् । नेपालमा रहँदा मध्याह्न ब्यान्डबाट चर्चाको शिखरमा पुगेका गायक दास झन्डै एक दशक लामो अमेरिका बसाइपछि नेपाल फर्किएका हुन् । हाल नेपालमै रहेका उनी कार्यक्रमहरूमा निकै व्यस्त छन् ।
पेसागत सुरक्षा नभएकै कारण बिदेन्छिन् कलाकार

कलाकार बिदेसिनुको मुख्य कारण आर्थिक पक्ष नै हो । नेपालमा पेसागत सुरक्षा पनि छैन, अलिकति नाम र दाम कमाए पनि उनीहरूलाई भविष्यको चिन्ता हुन्छ । खासमा आफूसँगै आफ्नो परिवार, बालबच्चाको भविष्य बचाउकै कारण कलाकारको विदेश पलायन झन् बढेको छ । राष्ट्रले आर्थिक उन्नति ल्याउने र समग्र नेपालमै रोजगारीको वातावरण बनाउने तथा नेपाली कलाको विषयमा केही गम्भीर रूपमा ध्यान दिने हो भने कलाकार मात्रै होइन, विदेश पुग्ने अरू साधारण नेपाली पनि जान रोकिने तथा गएकाहरू फर्किनेछन्, यसमा दुईमत छैन । कलाकारिता पेसा भनेकै संसारमै अति असुरक्षित पेसा हो । हामी केही सफल कलाकारको तर्क गरिरहन्छौँ, तर उनीहरूका पछाडि सयौँ कलाकारको अवस्था निकै नाजुक हुन्छ । बिदेसिँदा कलाकारका लागि राम्रो भए पनि समग्र नेपाली कलाका लागि भने फाइदाजनक हुँदैन । रातारात हिट कलाकार भोलि नचल्न पनि सक्छ, उसमा एक खालको अहं बढ्न थाल्छ, अनि भनेजस्तो सफलता हात नपारेपछि डिप्रेसन बढ्ने, विदेश पलायन हुने आदि कुरा अहिलेका जल्दाबल्दा घटना हुन् । कलाकारको विदेश पलायनका विषयलाई एकपटक राज्यले गम्भीर रूपमा लिनुपर्छ, कलाकार भनेका देशका गहना पनि हुन् । निरन्तर कलाकार विदेश पलायन हुँदा राज्य गम्भीर हुन नसक्नु दुःखको कुरा हो ।
बिदेसिनेलाई नजिस्क्याऔँ, नेपालमा रहेकालाई बचाऔं

अन्य मुलुकमा कलाकार र खेलाडीलाई सरकारले विशेष सुविधा र अवसर उपलब्ध गराउँछ । नेपालमा भने त्यस्तो व्यवस्था छैन । नेपाली कलाकार बढी महत्वाकांक्षी हुनु, कामअनुसारको सफलता नपाउनु बिदेसिनुको मुख्य कारण हो । बाध्यताबस विदेश पुगेकाहरू एउटा कुराको पछि मात्रै लाग्दैनन्, उनीहरू चाहन्छन्– नाम पनि होस्, दाम पनि होस् । दामका लागि बिदेसिएकाहरू त्यसैमा खुसी हुनुपर्छ, दामसँगै नाम खोज्दा थप तनाव हुनु र आत्महत्यासम्मको बाटो रोज्ने गरेका खबर आएका छन्, यो सानोतिनो विषय होइन । नाम, दामभन्दा पनि खुसी महत्वपूर्ण विषय हो । खासमा नेपाली मिडियाले विदेश बस्ने कलाकारभन्दा पनि नेपालमै रहेका कलाकारलाई कसरी स्वदेशमै रोक्न सकिन्छ, उनीहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने लेख्न जरुरी छ । राजनीतिक अस्थितरताले आजित बनी बिदेसिएका उनीहरूले आफ्नो बाटो तय गरिरहेका छन् र उनीहरूलाई बारम्बार किन जिस्क्याउनु ? यदि राजनीतिक अस्थिरताबाट देशले निकास पाउन सक्यो भने सबै कलाकार विदेश नजाने स्थिति आउँथ्यो । निरन्तर कलाकार विदेश पलायन हुनु, कलाकारको सामाजिक, आर्थिक सुरक्षा नहुनु र जे–जस्तो खालको समस्या छ त्यो सबै दोष राज्यको हो । भविष्यमा कुनै खालको समस्या देखियो भने यसको दोष राज्यकै हुनेछ ।
बिदेसिने कलाकार
यता दामको, उता नामको मोह
नेपालमा रहँदा दामको मोहले बिदेसिनेहरू उता पुगेपछि भने नामको मोहबाट टाढा हुन सक्दैनन् । कमाउन व्यस्त उनीहरू आफ्नो नाम बचाउकै लागि केही समय छुट्याउँछन् । गायक ईश्वर पोखरेल केही वर्षअघि अस्टे«लिया पुगेका उनले त्यहाँ जागिरसँगै कहिलेकाहीँ केही नेपाली कार्यक्रममा देखिने र वर्षमा कम्तीमा एउटा गीत बजारमा ल्याउने गरेका छन् । उनी भन्छन्, ‘म विदेश आएको पैसा कमाउन नै हो, तर पैसा कमाउने भन्दैमा नेपाली कलालाई बिर्सन सकिँदैन ।’ नाम बचाउनकै लागि भए पनि वर्षमा केही गीत ल्याउने र जागिरबाट समय छुट्याएर कार्यक्रममा पुग्नुपर्ने उनको तर्क छ । भन्छन्, ‘यहा“ मजस्ता धेरै कलाकार छन्, विशेषतः जागिर गर्ने र केही समय छुट्याई कार्यक्रममा भाग लिने गरेका छौँ ।’ उनले थपे, ‘आफ्नो देश, परिवार छोडेर बिदेसिनु कसैलाई रहर हुँदैन, तर विडम्बना नै भन्नुपर्छ कलाकार तीव्र रूपमा विदेशिएका छन् ।’ गीत–संगीत, फिल्म वा हरेक क्षेत्रका कलाकारको हकहितको निम्ति उचित नियम–कानुन नहुनु र राज्यले यो क्षेत्रलाई अवमूल्यन गर्दा कलाकार बिदेसिने क्रम बढिरहेको उनको भनाइ छ ।
चर्चित गीत ‘बाजेका पालामा’का गायक बुद्धिसागर बस्याल क्यानडा बस्न थालेको धेरै भइसक्यो । नेपालमा रहँदा गीत गाएर नाम कमाएका उनी पनि विभिन्न कारण देखाउँदै बिदेसिए । ‘नेपालमा कलाकारले प्रगति पनि गरेका छन्, तर देखाइ र भोगाइ दुई भिन्न कुरा हुन्,’ उनले भने, ‘केही कलाकार मात्र छन्, जसले निर्धक्क भएर कलाकारितालाई आफ्नो पेसाको रूपमा अँगालेका छन् ।’
अमेरिका गएकी रञ्जना शर्मा नेपाली चलचित्रबाट टाढा भएको धेरै वर्ष भइसक्दा पनि समयअनुसार आफूलाई नायिकाको परिचय दिन पछि पर्दिनन् । नायिका ऋचा घिमिरे घर–व्यवहारमै केन्द्रित भए पनि नामकै लागि विभिन्न कार्यक्रममा सहभागी हुन्छिन् । उनीहरू विदेशमा जे काम गरे पनि आफूलाई नेपाली कलाकार भन्न छुटाउँदैनन् । खासगरी कलाकारको आर्थिक, सामाजिक सुरक्षा नहुनु र पारिवारिक चिन्ता, दबाब बढ्दै गएपछि नेपाली कलाकार संघर्ष गर्न छाडेर बिदेसिने गरेको उनीहरू बताउँछन् ।
डरलाग्दो ‘डिप्रेसन’को सिकार बन्दै कलाकार
सारा मान्छेका आँखामा रंगीन छ मनोरञ्जनको दुनियाँ । पर्दामा कलाकारलाई हेर्छन्, सुन्छन् र दर्शक यही दुनियाँ प्रत्यक्ष हेर्न लालयित हुन्छन् । जसलाई सडकमा निस्कँदा हेर्नेको लाम लाग्छ, अटोग्राफ लिनेको भीड लाग्छ । जसका रूप र यौवनमा सारा लट्ठीएका हुन्छन् । रंगीन दुनियाँका तिनै स्टारहरू हेर्दा जस्तो देखिन्छन्, यथार्थमा उनीहरूको जीवन त्यस्तो रंगिन हुँदैन । धेरैका निजी जीवनको रंग फुंग उडेको हुन्छ, खङ्ग्रङ्ग सुकेको वन तुवाँलोले ढाकेजसरी । सारालाई खुसी पार्नेहरूकै खुसी हराएको स्वयं उनीहरू नै पत्तो पाउँदैनन् । सबै छ, तर पनि केही नभएजस्तो । संसारकी ‘सेक्स सिम्बोल’ बनेकी अमेरिकी अभिनेत्री मार्लिन मुनरो हुन् वा दक्षिण भारतीय फिल्ममा धुम मच्चाएकी सिल्क स्मिता, सफलताको गह्राँै भारी सम्हाल्न नसकेरै अल्पायुमै संसारबाट बिदा भए । बलिउडकै अभिनेत्री जिया खानलाई २५ वर्षको यौवन नै पट्यारलाग्दो भयो र आत्महत्या गरिन् । बलिउडमा एकछत्र राज गरिरहेकी नायिका दीपिका पादुकोणजस्ती उत्कृष्ट नायिका पनि डिप्रेसनको सिकार भइन् । नेपाली कलाकाहरूको जीवन पनि त्यस्तै छ ।
छोटो समयमै र्याप गीत–संगीतबाट युवा जमातको मन–मस्तिष्कमा बस्न सफल र्यापर यम बुद्ध अर्थात् अनिल अधिकारी लन्डनमा मृत फेला परे । दुई महिनाअघि उनले आफ्नै घरको बाथरुममा ‘आत्महत्या’ गरे । मृत्युको कारण आधिकारिक पुष्टि हुन नसके पनि उनी बेलायत गएपछि विगतजस्तो प्रगति नभएको र बढ्दो तनावका कारण उनमा एकप्रकारको वितृष्णा छाएको नजिकका साथीभाइ बताउँछन् । मृत्युको अन्य कुनै कारण नभेटिए पनि यही कारण उनले मृत्युको बाटो रोजेका हुन् कि भन्ने धेरैको अनुमान छ । गायक अधिकारीभन्दा अघि अर्का गायक आलोक नेम्वाङ, नायिका श्रीषा कार्की, कुलप्रसाद पोखरेल, जेसिका खड्का, योगिता मोक्तानले विभिन्न कारणले मृत्यु रोजे । उनीहरूमा जुन कारण भए पनि मुख्य डिप्रेसन र बढ्दो तनाव रहेको जानकारहरू बताउँछन् ।
त्यसो त केही समयअघि चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) पनि डिप्रेसनमा परेका थिए । लामो समयदेखि घिमिरे कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएनन् । उनी घरमै स्वास्थ्यलाभ गरेर बसे । घिमिरेले थापाथलीस्थित नर्भिक हस्पिटलमा स्वास्थ्य चेकजाँच गराए । अहिले आफू लगभग ठीक भइसकेको उनी बताउँछन् । लामो समयदेखि घिमिरे ओछ्यान परे पनि उनीबारे न कलाकारसम्बन्धी कुनै संघसंस्थाले बोल्यो न त सरकारले नै चासो देखायो ।
कलाकारमा डिप्रेसनसम्बन्धी विषयमा रेखा थापालाई केही अनुभव छ । कुरा केही वर्षअघिको हो । उनले एकजना सहकर्मी डरलाग्दो ‘डिप्रेसन’को सिकार भइसकेको पत्ता लगाइन् । ‘थाहै नपाई मनोरोगको आक्रमण पो सामना गर्दै रहिछन्,’ नायिका थापाले भनिन्, ‘थप पीडाले गाँजेपछि अरू दुःखदायी अवस्था सामना गर्नुपर्ला भनेर सुरक्षित अवतरणको बाटो देखाइदिएकी थिएँ ।’
महानायक राजेश हमाल आफ्नो २५ वर्षे चलचित्र यात्रामा धेरैलाई सहयोग, साथ गरे पनि केहीमा यस्ता खालका लक्षण भेटेको बताउँछन् । उनीहरूलाई सकेसम्म कलाकारिताका विषयमा बुझाउने र कसरी सही ठाउँमा ल्याउन सकिन्छ भनेर लागेका हमाल भन्छन्, ‘सोचेजस्तो प्राप्ति नभएपछि यो समस्याबाट ग्रसित हुने गरेका छन् ।’
अमेरिका
दिलीप रायमाझी, जीवन लुइँटेल, राजबल्लभ कोइराला, प्रशन्न पौडेल, जल शाह, निरज बराल, मुकेश ढकाल, विक्रान्त बस्नेत, ऋचा घिमिरे, सुरेशदर्पण पोखरेल, शंकर घिमिरे, नन्दिता केसी, रन्जना शर्मा, विमलेश अधिकारी, सुमन गैरे, राजेश नाथ, श्याम भट्टराई, अरुणिमा लम्साल, विधान कार्की, निशा सुनार, हिमग्याप लामा, सुजाता कोइराला, उषा पौडेल, विनीता वराल, भगवान भण्डारी, नरेन्द्र प्यासी, प्रेमराजा महत, सुवास थापा ।अष्ट्रेलीया :
गायिका मन्जु पौडेल, गायिका प्रकृति श्रेष्ठ, गायक ईश्वर पोखरेल, समिर आचार्य, सन्जीव पराजुली, सुजता उपाध्याय, नरेन कुलुङग, दिल तामाङ, किरण
भण्डारी, उज्वल केसी, राजेश केसी, सरुन ताम्राकार, दिव्य सुब्बा, विवश पौडेल, राजकुमार गोस्वामी, विश्वास श्रेष्ठ, आवुन पाण्डे, विकास उप्रेती ।क्यानडा:
गायक बुद्धिसागर बस्याल, फिल्म कलाकार पुष्कर भट्ट, हिम्मतवाली कलाकार सुदर्शन गौतम, मोडल तथा डान्सर रोशन केसी, ईश्वर थापा, फिल्म निर्देशक हरि सिवाकोटी ।जापान:
लोकदोहोरी गायक सूर्य खड्काबेलायत:
ललित भुसाल